काठमाडौं – तनहुँको ग्रामीण भेगमा जन्मिएका डा. सुवर्ण गिरीले बाल्यकालदेखि नै एउटा सपना बोकेका थिए- डाक्टर बन्ने। आर्थिक अवस्था सहज नभए पनि लक्ष्यप्रतिको दृढता, निरन्तर मेहनत र लगनले उनलाई त्यही सपनाको गन्तव्यसम्म पुर्यायो। छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका उनले महाराजगन्ज मेडिकल क्याम्पसबाट एमबीबीएसमा पाँच वटा गोल्ड मेडल जितेर आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरे।
डा. गिरीको शैक्षिक यात्रा गाउँकै सरकारी विद्यालयबाट सुरु भएको हो। प्राथमिक शिक्षा तनहुँमै पूरा गरेका उनी बुबाको कामका कारण केही समय काठमाडौंमा पढे। पछि बुबा वैदेशिक रोजगारीका लागि विदेश गएपछि उनी आमासँग पोखरा फर्किए र त्यहीँबाट आफ्नो अध्ययनलाई निरन्तरता दिए।
बाल्यकालदेखि नै पढाइमा रुचि भएका डा. गिरीको मनमा चिकित्सक बन्ने सपना थियो। आमा बिरामी हुँदाको भोगाइले त्यो सपना अझै मजबुत बनाएको उनी बताउँछन्। त्यसैले उनले डाक्टरबाहेक अर्को कुनै पेशाबारे खासै सोचेनन्।
तर त्यो सपना पूरा गर्न सजिलो थिएन। आर्थिक अवस्था कमजोर भएकाले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति नै उनको एकमात्र विकल्प थियो। निश्चित लक्ष्यका साथ निरन्तर तयारी गरेका उनले अन्ततः छात्रवृत्तिमा नाम निकाल्दै महाराजगन्ज मेडिकल क्याम्पसमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए।
मेहनतको फलस्वरूप उनले एमबीबीएस अध्ययनका क्रममा पाँच वटा गोल्ड मेडल प्राप्त गरे। पाँच वर्षे एमबीबीएस कार्यक्रममा समग्र रूपमा उत्कृष्ट नतिजा ल्याएबापत एउटा, अन्तिम वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याएबापत अर्को मेडल प्राप्त गरे। त्यस्तै, इन्टरनल मेडिसिन र जनरल सर्जरी विषयमा उत्कृष्ट अंक ल्याएर थप दुई मेडल जिते। पाँचौँ मेडल स्वतन्त्र विद्यार्थी युनियनले उत्कृष्ट विद्यार्थीका रूपमा प्रदान गरेको थियो।
हाल उनी दुई वर्षे बन्डिङ अवधिअन्तर्गत पोखरास्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्।
आमाको क्यान्सर उपचारले बदलिदिएको सोच
डा. गिरीको चिकित्सकीय यात्रामा एउटा व्यक्तिगत अनुभवले प्रभाव पारेको छ। करिब दुई वर्षअघि आमाको क्यान्सर उपचारका लागि उनी भारत पुगे। त्यहाँ उनले चिकित्सकका रूपमा मात्र होइन, बिरामीका आफन्तका रूपमा पनि स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाए।
'त्यतिबेला डाक्टरभन्दा पनि बिरामीका आफन्तका रूपमा धेरै कुरा अनुभव गर्ने मौका पाएँ,' उनी भन्छन्।
उपचारका क्रममा उनले क्यान्सरका बिरामी र उनीहरूका परिवारले भोग्ने पीडा, अनिश्चितता र लामो प्रतीक्षालाई नजिकबाट महशुस गरे। वर्षौँसम्म उपचारको पालो कुर्न बाध्य बिरामीहरूको अवस्था देख्दा आफू निकै भावुक भएको उनी बताउँछन्।
यही क्रममा कतिपय बिरामीले नेपालमै भारतसरह सुविधा सम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सक उपलब्ध भए उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता हट्ने आशा व्यक्त गरेको उनले सुने। यही अनुभवले उनलाई क्यान्सर रोगको उपचारसम्बन्धी विशेषज्ञता हासिल गर्ने प्रेरणा दियो।
अब उनको लक्ष्य अन्कोलोजी (क्यान्सर रोग उपचार) मा विशेषज्ञता हासिल गर्नु हो।
'सबै कुरा अनुकूल भयो भने अन्कोलोजी नै पढ्ने निर्णय गरेको छु,' उनी भन्छन्।
सफलताको पछाडि परिवार, गुरु र साथीहरूको साथ
डा. गिरी आफ्नो सफलताको पहिलो श्रेय परिवारलाई दिन्छन्। परिवारको त्याग र सहयोगबिना आफू यो स्थानसम्म आइपुग्न नसक्ने उनको विश्वास छ।
त्यसपछि महाराजगन्ज मेडिकल क्याम्पसका गुरुहरू र अध्ययनका क्रममा साथ दिएका ७–८ जना साथीहरूको हौसलाले आफूलाई निरन्तर अघि बढ्न प्रेरित गरेको उनी बताउँछन्।
होस्टल बसाइका क्रममा आफूभन्दा दुई–तीन ब्याच सिनियर दाइहरूसँग बसेर अध्ययन गर्ने अवसर पनि उनको सफलताको अर्को आधार बन्यो। परीक्षा तयारीदेखि अध्ययन गर्ने शैलीसम्म सिनियरहरूबाट पाएको मार्गदर्शन निकै उपयोगी भएको उनी सम्झन्छन्।
'अरूको तरिका होइन, आफूलाई सुहाउने तरिका खोज्नुपर्छ'
पढाइमा सफलता हासिल गर्न अरूको शैली हुबहु पछ्याउनु भन्दा आफूलाई उपयुक्त अध्ययन विधि विकास गर्नुपर्ने डा. गिरीको सुझाव छ।
'पढाइमा सफलता प्राप्त गर्न अरूले दिने आइडियाभन्दा आफूले विकास गरेको तरिकाले बढी काम गर्छ। आफू कुन स्तरको विद्यार्थी हो र कसरी पढ्दा राम्रो नतिजा आउँछ भन्ने कुरा आफैँले बुझ्नुपर्छ,' उनी भन्छन्।

उनको अध्ययन गर्ने समय प्रायः बिहान हुन्थ्यो। बिहानको ऊर्जाशील समय अध्ययनमा उपयोग गर्नुपर्ने उनको सुझाव छ।
अर्को महत्वपूर्ण बानी थियो- पढेको कुरा त्यही दिन आफ्नै शैलीमा संक्षिप्त नोट बनाएर दोहोर्याउने। नोट अरूले बुझ्नेभन्दा पनि आफूलाई सजिलै सम्झन सक्ने गरी तयार पार्ने उनको अभ्यास थियो।
अस्पतालमा दैनिक देखिने बिरामी र उनीहरूले भोग्ने स्वास्थ्य समस्याले पनि उनलाई अझ जिम्मेवार चिकित्सक बन्न प्रेरित गरिरहेको छ। जीवन अनिश्चित भएकाले निरन्तर सिकिरहनुपर्ने पाठ उनले अस्पतालको अनुभवबाट पाएका छन्।
उनका लागि पढाइ केवल परीक्षा पास गर्ने माध्यम थिएन। 'जिन्दगीमा गरिने हरेक काममा आनन्द लिन सक्नुपर्छ। त्यसैले मैले पढाइलाई बोझ होइन, आनन्दका रूपमा लिएँ,' उनी भन्छन्।
तनहुँको एउटा सरकारी विद्यालयबाट सुरु भएको उनको यात्रा आज पाँच गोल्ड मेडलसहित सफल चिकित्सकको परिचयमा पुगेको छ। आमाको क्यान्सर उपचारका क्रममा प्राप्त अनुभवले उनको भविष्यको लक्ष्यलाई अझ स्पष्ट बनाएको छ। अब उनको सपना छ- अंकोलोजीमा विशेषज्ञता हासिल गर्दै नेपालमै गुणस्तरीय र सहज क्यान्सर उपचार सेवा विस्तारमा योगदान पुर्याउने।