इनर्जी ड्रिंक्स भनेका सतर्कता र ऊर्जा बढाउने उद्देश्यले बनाइएका पेय पदार्थ हुन्। यिनमा सामान्यतया निम्न सामग्रीको संयोजन हुन्छ:
• भिटामिन बी र अन्य थपिएका पदार्थ
• उच्च मात्रामा क्याफिन
• टाउरिन, ग्वाराना र जिन्सेङजस्ता उत्तेजक पदार्थ
• चिनी वा कृत्रिम मिठास
कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ। कतिपय इनर्जी ड्रिंक्सको एउटै कन्टेनरमा एकभन्दा बढी 'सर्भिङ' हुन्छन्। त्यसैले आफूले सोचेभन्दा धेरै क्याफिन सेवन गर्न पुगिन्छ।
कतिपय इनर्जी ड्रिंक्सले प्राकृतिक वा स्वास्थ्यका लागि राम्रो सामग्री भएको दाबी गर्छन्, तर त्यस्तो दाबी सही होइनन्।
१ मुटुको स्वास्थ्य
उच्च मात्रामा क्याफिन र उत्तेजक पदार्थले मुटुलाई विशेष रूपमा असर गर्न सक्छ। इनर्जी ड्रिंक्स सेवन गरेपछि क्याफिन छिट्टै रक्तप्रवाहमा पुग्छ र मुटुमा रहेका रिसेप्टरलाई उत्तेजित गर्छ। यसले मुटु कति छिटो र कति बलियोसँग धड्किन्छ भन्नेमा असर पार्न सक्छ। तपाईंलाई मुटु ढुकढुक भएको वा मुटुको धड्कन असामान्य भएको महसुस हुन सक्छ, जसलाई एरिदमिया भनिन्छ।
क्याफिन सेवनले रक्तचाप बढाउन सक्छ, कहिलेकाहीँ उल्लेखनीय रूपमा। लामो समयसम्म उच्च रक्तचाप रहँदा हृदयाघात, स्ट्रोक वा हृदय विफलताको जोखिम बढ्न सक्छ।
यी प्रभाव उमेरका आधारमा मात्र सीमित हुँदैनन्। युवा तथा अन्यथा स्वस्थ मानिसहरूले पनि धेरै इनर्जी ड्रिंक्स सेवन गरेपछि आपत्कालीन उपचार आवश्यक पर्ने अवस्था सामना गरेका छन्।
२ स्नायु प्रणाली
धेरै मात्रामा क्याफिन सेवन गर्दा स्नायु प्रणाली अत्यधिक उत्तेजित हुन सक्छ। यसले एन्जाइटी, हातखुट्टा काँप्ने, बेचैनी वा प्यानिक अट्याकजस्ता समस्या निम्त्याउन सक्छ।
इनर्जी ड्रिंक्सले सामान्य निद्राको चक्रमा पनि असर गर्न सक्छ, दिनको सुरुवातमा सेवन गरे पनि। पर्याप्त निद्रा नहुँदा शरीरलाई पुनःस्थापित हुन, हर्मोन नियमन गर्न र ऊर्जा सन्तुलित राख्न कठिन हुन्छ। त्यसपछि दिनभर काम गर्न फेरि इनर्जी ड्रिंक्समा भर पर्नुपर्ने अवस्था आउन सक्छ, जसले यस्तो चक्र तोड्न कठिन बनाउँछ।
३ पाचन प्रणाली र मेटाबोलिज्म
इनर्जी ड्रिंक्सले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ। यसले वाकवाकी, एसिड रिफ्लक्स र डिहाइड्रेसन गराउन सक्छ। रगतमा चिनीको मात्रा अचानक बढेपछि त्यसपछि ऊर्जा अचानक घट्न सक्छ।
रगतमा चिनीको मात्रा पटक–पटक बढिरहँदा टाइप–२ मधुमेहजस्ता मेटाबोलिक समस्याको जोखिम बढ्न सक्छ।
४ मस्तिष्क र मानसिक स्वास्थ्य
उत्तेजक पदार्थले तपाईंको मनोदशा, ध्यान केन्द्रित गर्ने क्षमता र भावनात्मक नियन्त्रणमा असर पार्न सक्छ। तपाईंलाई बढी चिडचिडापन वा बेचैनी महसुस हुन सक्छ।
बारम्बार इनर्जी ड्रिंक्स सेवन गर्दा क्याफिनमा निर्भरता हुन सक्छ। यसको प्रभाव कम भएपछि टाउको दुख्ने तथा अन्य विथड्रअल लक्षण देखिन सक्छन्।
५ मिर्गौला
क्याफिनले शरीरबाट तरल पदार्थको कमी बढाउन सक्छ। विशेषगरी कडा शारीरिक गतिविधिका क्रममा पानीको सट्टा इनर्जी ड्रिंक्स सेवन गर्दा डिहाइड्रेसन हुन सक्छ, जसले मिर्गौलामा थप दबाब पार्न सक्छ।
कति मात्रालाई धेरै मानिन्छ?
अधिकांश स्वस्थ वयस्कका लागि एफडीएले सामान्यतया दिनमा ४०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन नगर्न सिफारिस गर्छ। तर इनर्जी ड्रिंक्सको लेबल हेर्दा यो मात्रा धेरै हुन्छ।
कतिपय इनर्जी ड्रिंक्सको एउटै क्यानमा २०० देखि ३०० मिलिग्रामसम्म क्याफिन हुन्छ। एकभन्दा बढी क्यान पिउँदा वा कफी तथा अन्य क्याफिनयुक्त उत्पादनसँगै सेवन गर्दा तपाईं सुरक्षित सीमाभन्दा धेरै माथि पुग्न सक्नुहुन्छ।
निम्न समूहका मानिसले इनर्जी ड्रिंक्स सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ वा पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ:
• क्याफिन पाचन क्षमता कम भएका व्यक्ति
• मुटुरोग, उच्च रक्तचाप वा एन्जाइटी डिसअर्डर भएका व्यक्ति
• गर्भवती वा स्तनपान गराइरहेका व्यक्ति
• किशोरकिशोरी तथा बालबालिका
तपाईंको शरीरले धेरै क्याफिन सेवन भएको संकेत दिन सक्छ। निम्नमध्ये कुनै लक्षण देखिएमा क्याफिन सेवन रोक्नुहोस् र चिकित्सकीय सल्लाह लिनुहोस्:
• छाती दुख्नु
• चक्कर लाग्नु वा बेहोस हुनु
• लगातार टाउको दुख्नु
• मुटु तीव्र वा अनियमित रूपमा धड्किनु
• अत्यधिक थकान हुँदाहुँदै पनि निदाउन कठिन हुनु
इनर्जी ड्रिंक्सका स्वस्थ विकल्प
यदि तपाईंलाई ऊर्जा बढाउने तर शरीरका लागि तुलनात्मक रूपमा सुरक्षित उपाय चाहिएको छ भने आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्। ऊर्जा स्तर सुधार गर्न र शरीरमा अत्यधिक उत्तेजना नल्याउन तपाईंले निम्न उपाय अपनाउन सक्नुहुन्छ:
निद्रालाई प्राथमिकता दिनुहोस् - तपाईंले दैनिक कति ऊर्जावान महसुस गर्नुहुन्छ भन्नेमा नियमित र पर्याप्त निद्राको ठूलो भूमिका हुन्छ। अधिकांश वयस्कलाई हरेक रात करिब आठ घण्टा निद्रा आवश्यक पर्छ। विशेषगरी लामो दिनमा २० मिनेटको छोटो पावर न्यापले पनि मद्दत गर्न सक्छ।
कम क्याफिन भएका पेय रोज्नुहोस् - सीमित मात्रामा कफी, चिया वा माचा सेवन गर्दा तुलनात्मक रूपमा सहज तरिकाले ऊर्जा बढाउन सकिन्छ। थपिएको चिनी, कृत्रिम मिठास र इनर्जी ड्रिंक्समा सामान्यतया पाइने अन्य पदार्थ कम गर्न आफ्नो पेयलाई हल्का बनाउन सकिन्छ।
प्राकृतिक रूपमा शरीरलाई पोषण दिनुहोस् - प्रोटिन र जटिल कार्बोहाइड्रेटयुक्त सन्तुलित खाना खानुहोस् र प्रशस्त पानी पिउनुहोस्।
नियमित व्यायाम गर्नुहोस् - नियमित शारीरिक गतिविधिले ऊर्जा स्तरलाई स्थिर राख्न र समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्छ। दिनभर लामो समयसम्म निष्क्रिय रहँदा थकान महसुस नहोस् भनेर बीच–बीचमा छोटो समय हिँडडुल वा शारीरिक गतिविधि गर्नुहोस्।
आवश्यक परे भिटामिनबारे विचार गर्नुहोस् - शरीरमा आइरन वा भिटामिन बीको कमी हुँदा ऊर्जा कम भएको महसुस हुन सक्छ। सप्लिमेन्ट आवश्यक छ कि छैन भन्ने कुरा स्वास्थ्य सेवा प्रदायकले परीक्षण तथा मूल्यांकनपछि निर्धारण गर्न सक्छन्।
केही मानिसका लागि इनर्जी ड्रिंक्सले तत्काल ऊर्जा दिएको महसुस हुन सक्छ। तर थकानको वास्तविक कारण पहिचान गर्न सकेमा छोटो समयका लागि गरिने उपाय दीर्घकालीन बानी बन्नबाट रोक्न सकिन्छ। वास्तविक ऊर्जा क्यानबाट आउँदैन । आफ्नो स्वास्थ्यको राम्रो हेरचाहबाट आउँछ।