आत्महत्या सचेतनाका लागि हर दिन दिवस:
आत्महत्या समस्या सम्बन्धी सचेतना, सम्वाद, पैरवी, कार्यक्रम र नीति निर्माणका लागि सन् २००३ देखि सेप्टेम्बर १० मा आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ। सञ्जोगले म आफू सन् २००३ देखि नै मानसिक स्वास्थ्य क्षेत्रमा आबद्ध छु; यो समस्या मनोस्वास्थ्य क्षेत्रमा एक अहम् पाटो भएकोले यसमा सुरुदेखि नै केही न केही गर्दै आइरहेको छु। हर दिन आत्महत्या सम्बन्धी अध्ययन, अध्यापन, सेवा र शोध जुनसुकै हिसाबले पनि काम गर्ने दिवस बनोस् भन्ने लाग्छ।
सुरुदेखि नै आत्महत्याको विषयमा लेख्ने कोसिस रह्यो; सन् २००६ मा यसबारे लेख लेखेको थिएँ। युट्युब (https://www.youtube.com/@MentalHealthMessageDhanaShakya) र फेसबुक लगायतका सञ्चार माध्यममा यसबारे सामग्रीहरू पस्कँदै अनलाइन र प्रत्यक्ष कार्यक्रम, प्रवचन; रेडियो, टिभी, पत्रपत्रिकामा जानकारीमूलक अन्तर्वार्ता; विविध तहका विद्यार्थीलाई यस विषयमा कक्षा; अनि हरेक दिन आकस्मिक सेवा, अन्तरङ्ग र बहिरङ्ग सेवामा निरन्तर आत्महत्यासँग सम्बन्धित जानकारी प्रवाह र सेवामा संलग्न हुँदै आएको छु।
यस विषयमा हाम्रो स्थानीय तथ्याङ्क र जानकारीका लागि विविध अनुसन्धानमा संलग्न भइयो,थेसिस गराइयो, जर्नल आर्टिकल पनि प्रकाशित गरियो। 'आत्महत्या र मनोरोग: हाम्रो दायित्व' पुस्तक लेखी वि.सं. २०६४ मा प्रकाशित गरियो। यस विषयमा समीक्षा गर्छु, विभिन्न मञ्च र फोरमहरूमा सामग्रीहरू पस्किन्छु। बोल्छु, लेख्छु र कतिपय सिर्जना पनि गर्छु। यद्यपि हरेक दिन मानसिक स्वास्थ्य सेवामा आएका आत्महत्याका केसहरूले आफैँलाई गिज्याए जस्तो लाग्छ। आत्महत्यातिर धकेल्ने शत्रुहरू खित्खिताएर अट्टहास गरे जस्तो लाग्छ। यसबाट बच्ने बचाउने तत्व, संयन्त्रहरू कमजोर रहेको महसुस गर्छु। हाम्रा कोसिस, प्रयास र कदमहरू फितलो रहेको देख्छु। सबैको हातेमालो बिना हर प्रयास र कोसिसले मूर्त रूप लिने छैनन्।
यस्तो महत्त्वपूर्ण विषय आत्महत्या सम्बन्धी सरोकारवालाहरू बीच आत्महत्या रोकथाम सम्बन्धी चिकित्साशास्त्र सम्मत् तथ्यहरू राख्ने जमर्को गर्दैछु। मानव जीवन जस्तो अमूल्य कुरा कसैगरी बचाउन यी तथ्यहरू उपयोगी भए भने मेरो कोसिस सफल भएको ठान्नेछु। जसको सरोकारको विषय हो तिनले नै यसरी समस्याको अपनत्व लिएर जागरूक भई केही गर्दा नै समाधानको सम्भावना हुन्छ र यही मर्ममा हामीले आत्महत्या रोकथामको पवित्र अभियानलाई अगाडि लानुपरेको छ।
आत्महत्या सम्बन्धी जान्नुपर्ने तथ्यहरूमा यसको अर्थ, यस समस्याको व्यापकता, कारणहरू, मनोरोगहरूसँगको सम्बन्ध, खतरासूचक लक्षणहरू, यसको उपचार व्यवस्थापन र यसको रोकथाममा हाम्रो भूमिकाबारे चर्चा गरिएको छ।
आत्महत्या:
सचेत अवस्थामा जानीबुझी आफैँबाट आफ्नो ज्यान लिने आशयले गरिएका क्रियाकलापहरूलाई ‘आत्महत्याको प्रयास’ तथा त्यसबाट ज्यान गएमा ‘आत्महत्या’ भनेर भनिन्छ। आफ्नो ज्यान नै लिने वा आफूलाई कुनै रूपमा हानि नोक्सानी पुर्याउने अवस्थालाई आत्महानि भनेर बुझिन्छ। कतिपय मानिसले वास्तवमा नोक्सान नै पुर्याउने अभिष्टले नभई अन्य नियतले पनि आफूलाई आघात पुर्याउन सक्छन्। आत्मघाती यस्ता विचार, आशय, आवेग, योजना, प्रयास वा आत्महत्या जस्ता अवस्थाहरू आफैँमा रोग होइनन् तर थरिथरिका मनोरोगहरूका लक्षणका रूपमा व्यक्त भएका हुन्छन्।
एसियाली तथा केही अन्य मुलुकहरूमा अझै पनि आत्महत्या कानुनी निकाय अन्तर्गत दर्ता गरिन्छ। आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई कानुनी प्रक्रियाको दायरामा पनि राखिन्छ। नेपाली जनमानसमा मनोरोग तथा आत्महत्या सम्बन्धी धेरै भ्रामक, हानिकारक, असत्य र अवैज्ञानिक विचार, धारणा तथा चालचलनहरू व्याप्त छन्। यसलाई सामाजिक वा कानुनी समस्याका रूपमा मात्र हेर्ने पुरानो दृष्टिकोणमा क्रमशः परिवर्तन आएको पनि देखिन्छ। अध्ययनहरूले यसलाई स्वास्थ्य समस्याका रूपमा स्थापित गरिसकेको स्थिति छ। आत्महत्याको पछाडि मानसिक समस्या नै मूल रूपमा उत्तरदायी भेटिएको छ। त्यसैले, युरोपेली तथा प्रायः विकसित देशहरूमा यो समस्यालाई स्वास्थ्य समस्याका रूपमा स्वास्थ्य निकायमा दर्ता गरिन्छ।
कतिपय मिथ्या धारणाहरूले आत्महत्याको खतरा रहेका व्यक्तिहरूलाई आत्महत्यातिर धकेलिरहेको हुन सक्छ। समाजमा व्याप्त मनोरोग तथा आत्महत्या सम्बन्धी मतहरू केलाएर विज्ञान सम्मत् सत्यतथ्य जनतासामु ल्याउन जरुरी देखिन्छ। मनोरोग र आत्महत्या सम्बन्धी जनचेतनालाई उच्च महत्त्वका साथ यो विकराल समस्याको खतरा कम गर्ने उपायका रूपमा प्रस्तुत गरिएको छ। आत्महत्याको खतरा रहेका व्यक्ति तथा तिनका आफन्तहरूलाई त्यस्तो अवस्था समयमै चिन्न र सही उपाय अवलम्बन गर्न प्रेरित गर्ने आशयले यस सम्बन्धी जनचेतनाका प्रयासहरू हुन्छन्।
आत्महत्या समस्याको व्यापकता:
संसारमा हरेक ३–४ सेकेन्डमा एक आत्महत्याको प्रयास र ३०–४० सेकेन्डमा एक आत्महत्या हुने आकलन छ। जनसङ्ख्याको लगभग १% ले आत्महत्याद्वारा ज्यान गुमाउँछन्। सङ्ख्याको हिसाबले, एक वर्षका युद्ध, द्वन्द्व र हत्याबाट हुने कुल मृत्यु सङ्ख्याभन्दा पनि यो बढी हुने देखिन्छ। समष्टिमा, मृत्युका १० प्रमुख कारणहरूमा र १५ देखि २४ वर्षको उमेर समूहमा ५ प्रमुख कारणमा आत्महत्या रहेको देखिन्छ। गएका दशकहरूमा आत्महत्याको दर १५–२४ वर्षको उमेर समूहमा ज्यादै बढेर गएको देखिन्छ।
ज्यान गुमाउनेहरूमध्ये झण्डै तीन चौथाइ उत्पादक उमेर (१५–४४ वर्ष) समूहका हुन्छन्। आत्महत्याबाट व्यक्तिको ज्यान जानुका साथै परिवार, आफन्त, समाज र राष्ट्रलाई पर्ने क्षति अपूरणीय देखिन्छ। आत्महत्याको प्रयासले ज्यान लिइनहाले पनि धेरै व्यक्तिहरूमा शारीरिक चोटपटक वा विकलाङ्गता छाड्न सक्छ। सफल हुने एक आत्महत्याको पछाडि झण्डै २०–४० वटा आत्महत्याका प्रयासहरू हुने गर्दछन् र हरेक आत्महत्याको प्रयाससँगसँगै उसको ज्यान जाने सम्भावना बढ्ने गर्छ। अविवाहित, विधवा, विदुर, पुरुष, वृद्धवृद्धा र बेरोजगारहरूमा बढी देखिए पनि यो समस्याले समाजका सबै लिङ्ग, उमेर, जात, वर्ग, स्तर, धर्म, सबैलाई सताएको देखिन्छ।
कारण:
निश्चित समूहलाई बढी सताउने तर कसैलाई नछाड्ने आत्महत्याको पछाडि रहेका कारणहरूको खोजी गर्दा, अध्ययनहरूले यो एउटा अत्यन्त जटिल प्रक्रिया भएको ठहर गरेका छन्। यसमा जैविक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक एवम् परिस्थितिजन्य तत्वहरूको जटिल अन्तरक्रिया हुने देखिन्छ। खतराजन्य तत्व बढेर बचाउने तत्वहरू कमजोर भएको बेला यसको डर बढ्छ। बितेको व्यक्ति वा घटेको घटना वा कुनै निश्चित पक्षलाई दोष दिनुको सट्टा सही कारणको निरूपण र समाधान गर्नतिर लाग्नु बुद्धिमानी हुनेछ।
सामाजिक तथा वातावरणीय तत्वहरू: आत्महत्यालाई पहिलेदेखि नै मूलतः सामाजिक समस्याका रूपमा व्याख्या गरे पनि पछि आएर अन्य धेरै पक्षहरू देखिन आएका छन्। सामाजिक विखण्डन, असुरक्षा, अभाव, गरिबी, शोषण, बेरोजगारी, झैझगडा, कलह, आपसी बेमेल, सामाजिक उचनिचको चलन, फितलो नीतिनियम, अनियन्त्रित विष, बन्दुक, हातहतियार तथा खतरनाक स्थानहरूमा पहुँच, अनुपयुक्त देखासिखी वा सामाजिक सहयोग सञ्जालको अभाव जस्ता कारणले आत्महत्याको वृद्धिमा मद्दत पुर्याइरहेका हुन्छन्।
मनोवैज्ञानिक तत्वहरू: समस्या समाधान गर्ने क्षमता कम भएका, सानोतिनो समस्यामा पनि अरूको बढी भर पर्ने, आत्मविश्वास कम भएका, अरूबाट त्यक्त अनुभव गर्ने, सामाजिक रूपमा आडभरोसा, सहारा कम भएका, जीर्ण रोगका सिकार बिरामीहरू, अति तनावग्रस्त व्यक्ति जो निकट भविष्यमा कुनै समाधानको आशा देख्दैनन्, निराश हुन्छन्, तिनीहरूमा आत्महत्याको समस्या धेरै गुणा बढी देखिन्छ। झडङ्ग आवेशमा आउने, विषम परिस्थिति व्यहोर्न नसक्ने, सामाजिक रूपमा एक्लो, निराश, बेसहारा, यौन द्वन्द्वग्रस्त, ग्लानि र आफू दलदलमा फसेको सोच्ने वा सोच र स्मरणमा पूर्वाग्रह पीडित मानसिकता भएका मानिसहरूमा आत्मघाती व्यवहार अधिक देखिन्छ।
जैविक तत्वहरू: व्यक्तिको शरीर र मनको स्वास्थ्य तथा आनुवंशिकताको आत्महत्यासँग महत्त्वपूर्ण सम्बन्ध हुने कुरा सिद्ध भइसकेको देखिन्छ।
उदासीन र अन्य मनोरोगमा आत्महत्या:
आत्महत्यामा मानसिक रोगहरूको भूमिका अत्यन्त प्रबल देखिन्छ। आत्महत्याद्वारा ज्यान गुमाउने ९०–९७% जतिमा आत्महत्याको समयमा मनोरोग भेटिएको छ। तीमध्ये झण्डै ८०% मा उदासीन मनोरोग, १०% मा सिजोफ्रेनिया, ५% मा Dementia/ Delirium मूल कारणका रूपमा भेट्टिन्छ। करिब २५–५०% मा नसासेवन भएको देखिन्छ। उदासीन रोगग्रस्त बिरामीहरूमा ४०% जतिले आत्महत्याको प्रयास गर्ने र १५–२०% ले आत्महत्याबाट ज्यान गुमाउने गरेको देखिन्छ। सिजोफ्रेनिया, व्यक्तित्वको गम्भीर गडबडी, आत्तिने मनोरोग, छारेरोग वा लत लागेका व्यक्तिहरूमा पनि उदासीनताका लक्षण भएपछि आत्महत्याको सम्भावना अरू बढेर जान्छ। यस प्रकार, मनोरोगहरू र आत्महत्याको प्रत्यक्ष सम्बन्ध हुने कुरा अध्ययनहरूमा प्रष्ट भेट्टिन्छ।
खतरासूचक लक्षणहरू
झण्डै ७०–८०% यस्ता मानिसहरूमा प्रष्ट रूपमा, कुनै न कुनै आत्महत्याका खतरासूचक लक्षणहरू भेट्टिन्छन्। जति धेरै खतरासूचक लक्षणहरू हुन्छन्, हालै जति तनाव, पीर चिन्ताहरू थपिएका हुन्छन् र जति दीर्घकालीन तनावयुक्त र गम्भीर परिस्थिति हुन्छन्, त्यति त्यति खतरा बढ्दै जाने देखिन्छ।
काम गर्ने, पढ्ने वा समाजका अन्य ठाउँमा अथवा उसको अरूसँगको सम्बन्धमा हालै ठूलै समस्या परेको,
घरपरिवारमा वा अरूसँगको अन्तरसम्बन्धमा लामो समयदेखि व्यक्तिले जीवनमा प्रतिकूल परिस्थितिहरू बेहोर्न परेको,
व्यवहारगत लक्षणहरू– काम, शरीरको हेरचाह, आफ्नो लक्ष्यप्रति अभिरुचि हराउनु, खतरनाक वा लापरबाही क्रियाकलाप गर्नु, दुर्घटनाप्रति नैराश्यता,
आफैँलाई हानि गर्ने वा कुरुप पार्ने खालको व्यवहार देखाउनु, अरूसँगको उसको सम्बन्धमा परिवर्तन– अरुचि, चिडचिडाहाट, चिसोपन वा टाढिनु, उसको मनपर्ने चिज पनि अरूलाई दिन थाल्नु,
निराशापूर्ण वा आत्महत्याको चाहनापूर्ण अभिव्यक्तिहरू दिनु,
उदासीन मनोरोगका लक्षणहरू देखा पर्नु,
लामो समयको उदासीनतापछि एक्कासि खुसी हुनु,
अन्य मनोरोगका अनौठा लक्षणहरू– मिथ्या आभास वा भ्रम,
भोक, तौल, निद्रा तथा यौन चाहनामा गडबडी वा नैराश्यता,
व्यक्तित्वको गम्भीर गडबडी,
पहिले पनि आत्महत्याको प्रयास गरेको,
हालसालै अत्यधिक रक्सी वा अन्य लागूपदार्थको सेवन गर्नु।
केही मिथ्या धारणाहरू:
‘घुर्क्याउने वा भन्नेले आत्महत्या गर्दैन।’ वास्तवमा आत्महत्याका अभिव्यक्तिहरू खतरासूचक लक्षण हुन सक्छन्, बेवास्ता गर्नुहुन्न।
‘बिरामीसँग आत्महत्याको बारेमा कुरा गर्दा त्यसको सम्भावना बढ्न सक्छ।’ बिरामीसित तरिका पुर्याएर यस्तो कुरा गर्दा यसरी सम्भावना बढेको अध्ययनले देखाएको छैन। बिरामीले कुण्ठा व्यक्त गर्दा राहतको अनुभव गर्दछ, उसलाई मद्दत पुर्याउने उपायहरू पहिल्याउन पनि सहयोग पुग्छ।
‘गर्नेले जसरी पनि गर्ने भएकाले हात–हतियार वा खतरनाक स्थानप्रति सजग रहनुको केही अर्थ छैन।’ भन्नेहरू पनि हुन्छन्। तर आत्महत्याको आवेग प्रायः क्षणिक रहने हुनाले यस्तो बेला यस्ता कुरा पहुँचबाट टाढा भएमा सम्भावना टलेर पनि जान सक्छ।
‘एकपटक कम भएको आत्महत्याको सम्भावना सधैँका लागि हट्छ वा व्यक्ति सधैँ नै खतरामा हुन्छ।’ भन्नुभन्दा पनि बेलाबेला आत्महत्याको सम्भावनाको आकलन सम्बन्धित विशेषज्ञबाट गराएर परामर्श गर्नु श्रेयस्कर छ।
‘आत्महत्या समस्याको पीडारहित समाधान।’ यो समाधान नभई असंख्य प्रश्नहरू अनुत्तरित र समस्या नसुल्झिएको अवस्थामै छाड्नु हो।
‘सबै आत्महत्या रोक्न सकिन्छ।’ भन्ने नहोला। धेरै हदसम्म कम गर्न सकिन्छ।
यदि आत्महत्या गर्ने विचारले आफैँलाई सताएको खण्डमा–
सघाउन सक्ने अनुभवी व्यक्तिहरूसँग सम्पर्क गर्नुहोस्।
मन शान्त पार्न गर्न सकिने कुराहरूको सूची तयार पार्नुहोस्।
नसा वा लागूपदार्थको सेवन नगर्नुहोस्।
आज एक दिन हेर्नुहोस्, पर्खनुहोस्।
तपाईंलाई सघाउने र चाहने मानिसहरूलाई सम्झनुहोस्।
मनोरोग र आत्महत्याबारे सही जानकारी राख्नुहोस्।
यदि कसैलाई आत्महत्याको सम्भावना भएमा निम्न कुरामा ध्यान दिनुपर्छ–
आत्महत्याको चेतावनीलाई बेवास्ता नगर्नुहोस्।
उसको कुरा ध्यान दिएर सुन्नुहोस्।
ऊसँग सीधा र स्पष्ट हुनुहोस्, उपयुक्त ढंगले बोल्नुहोस्।
उसको क्रियाकलापले आश्चर्यचकित भएको भाव जाहेर नगर्नुहोस्।
उसलाई सघाउन सम्बन्धित सबैको सहयोग जुटाउनुहोस्।
कसरी आत्महत्या गर्ने योजना गर्दैछ भन्ने बुझ्ने कोसिस गर्नुहोस्।
आत्महत्या गर्ने बन्दुक, दबाई, विष, चक्कु, डोरी, लागूपदार्थ, नसा जस्ता कुराहरू हटाउने कोसिस गर्नुहोस्।
बिरामीलाई आफ्नो समस्या समाधान गर्न र पछि रचनात्मक रहन सकिने वातावरणको सिर्जना गर्नमा सघाउनुपर्छ।
आफ्नो व्यक्तिगत सुरक्षाको पहिले ख्याल गर्नुहोस्।
आवश्यक उपचार र फलोअप गर्न बिरामीलाई सघाउनुहोस्।
बिरामी, परिवारजन, समाज, राज्य, चिकित्सक सम्बन्धित सबैको कोसिसमा यो गम्भीर समस्या कम गर्न सकिनेछ।
हामी तिरको आवश्यकता:
हामीकहाँ मनोरोगको खतरा ज्यादा देख्छु। यसबाट बचाउने बचावटका तत्वहरू भने कम देखा पर्छन्। रोग लागिहालेमा उपचार व्यवस्थापनको पूर्वाधार, जनशक्ति, सेवा सुविधा, जन-जागरुकता, सरकारको कार्यनीतिमा प्राथमिकता सबै सबै नाम मात्रका देखिन्छन्। यस्तो अवस्थामा आत्महत्याको समस्या विकराल हुनु स्वाभाविक हो। किनकि मानसिक रोग नै आत्महत्याको प्रमुख र प्रत्यक्ष कारक तत्व हो। मानसिक रोगको समयमै पहिचान, निदान र उपयुक्त उपचार गर्नु नै आत्महत्या रोकथामको एक महत्त्वपूर्ण उपाय हो। मनोसामाजिक प्रतिकूलता पनि सँगै गाँजिएर आत्महत्यासँग सम्बन्धित हुन्छन्; तिनको पनि यथोचित सम्बोधन आत्महत्या रोकथामका लागि आवश्यक हुन्छ।
हामीतिर यसबारे धेरै अज्ञानता व्याप्त छ, यसतिर धकेल्ने तत्वहरू बग्रेल्ती छन् तर जागरूकता र प्राथमिकताको कमी छ। अतः मानवजीवन जोगाउने यो अभियानमा जनचेतना, जागरूकता, सकारात्मक सोच, वैज्ञानिक पहुँच र जुझारु पाइलाको विकल्प हुनै सक्दैन। आत्महत्या जस्तो संवेदनशील र उच्च महत्त्वको सूचकमा सकारात्मक सुधारका लागि सबै जिम्मेवार हुनुपर्छ। यसतिर अभिमुख गर्न सेप्टेम्बर १० सहित हर दिन नै दिवस बनाउनु, सोच्नु र त्यसै मर्ममा क्रियाशील रहनुपर्छ।
आत्महत्या रोकथाम र व्यवस्थापन उपचार:
यदि कसैमा आत्महत्याका खतरासूचक लक्षणहरू देखिएका छन्, नसासेवन गर्न थालेको वा त्यसमा हालै वृद्धि भएको छ, हालै ठूलै तनाव परी मनोरोगका विभिन्न लक्षणहरू देखा परेका छन्, निराशा र आत्महानिका र हरेस खाएका अभिव्यक्ति र व्यवहारहरू देखिएका छन् भने ढिला नगर्नुहोस्, यथाशीघ्र कार्यान्वयन (ACT) गर्नुहोस्– उसको समस्या सुनेर गम्भीरताबारे मनन (Acknowledge) गर्नुहोस्, तिनलाई नजरअन्दाज नगरौँ। आत्महानि र हत्यामा प्रयोग हुन सक्ने माध्यम, सामग्री तथा स्थानप्रति सतर्कता अपनाऔँ। खतरामा रहेका व्यक्तिलाई एक्लै नछाडौँ र हेरविचार गर्नुहोस् (care)। व्यक्ति र परिवारले मानसिक समस्या र तनावको समयमै पहिचान, निदान र व्यवस्थापन उपचारका लागि सुसूचित होऔँ (treat)। यथाशीघ्र विशेषज्ञको सेवा/उपचार (Treatment) लिनुहोस्। सम्बन्धित उपचारकर्ता, परामर्शदाता, मनोचिकित्सक वा crisis intervention/ suicide hotline (1166) को सम्पर्कमा जानुहोस्।
आत्महत्याबारे संवादको थालनी गरौँ। आफ्ना पीडा र समस्या शुभचिन्तक र सेवाप्रदायकसँग बाँडौँ। परिवार, साथीभाइ, नातागोताले आफूबाट कसैलाई आत्महत्यातिर धकेल्ने बोलीव्यवहार नगरौँ। सके सहयोग गरौँ; मानसिक रोगका लक्षणहरू देखिएमा उपचारका लागि सहायता गरौँ। समाज र राज्य संयन्त्रले यसको गाम्भीर्यता बुझेर यसको जनचेतना र आवश्यक सेवा सुविधाका लागि पहल गरौँ। शिक्षक, पत्रकार र प्रबुद्ध वर्गले यसका लागि आवश्यक पैरवी गरौँ। सबैले मिलेर आवाज यसरी उठाऊँ कि वर्षैभरि ध्वनित भइरहुन्। कसैलाई आत्महत्याको सोच, हुटहुटी, विचार आएमा वा यसको कालो छाया मात्र लागेमा पनि सजग भई जीवन रक्षार्थ र स्वास्थ्य पुनः प्राप्तिका लागि उपयुक्त कदम उठाऔँ। हामीकहाँ हामीलाई आत्महत्यातिर धकेल्ने खतराका तत्त्वहरूबारे चिन्तन, मनन र अनुसन्धान गरी तिनको यथोचित सम्बोधन पनि गर्दै जाऔँ।
आत्महत्या एक बहुआयामिक समस्या हो। सामाजिक, शैक्षिक, स्वास्थ्य, आर्थिक र अरू धेरै कुराहरूसँग सम्बन्धित हुने भएकाले त्यसै अनुसार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक जस्ता विविध आयाम सहितको व्यापक संयन्त्रयुक्त समाज, देश र युगमा विकास र परिवर्तनको अभियानले नै मात्र यसमा पूर्णता हासिल हुनेछ।
आत्महत्या रोकथाममा एकबद्ध होऔँ!
आत्महत्याको समस्यालाई यथार्थपरक ढंगले बुझौँ। वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौँ। आऔँ, आत्महत्या रोकथामको यो महान् अभियानमा सबैले हातेमालो गरौँ। यसको रोकथाम र व्यवस्थापन सम्भव छ। जागरूक भएर यसको सामना गरौँ। यसका लागि समयमै तनाव व्यवस्थापन तथा मानसिक रोगको निदान र उपचार गरौँ। आहार, विहार, विचार, घरसमाज र वातावरणमा अनुकूलता ल्याई समग्र स्वास्थ्यको प्रवर्द्धन गरौँ र आत्महत्या दूर गरौँ।
स्कुल, क्लब, सङ्घ–संस्था, समाज, गुठी, समिति, मन्दिर, विहार, चर्च, मस्जिद, उद्योगहरू मार्फत यसबारे आवश्यक जानकारी, ज्ञान प्रसार गर्न यसरी नै सक्रिय रहौँ। यसबारे जानकारी र यस सम्बन्धी सामग्री बढीभन्दा बढी मानिसहरू, आफ्ना प्रियजन, आफन्त, नातागोता, साथीभाइ, सहकर्मीहरूसम्म पुर्याउन, सेयर गर्न हार्दिक अनुरोध पनि गर्दछु।
References:
Shakya DR, Sapkota N, Nepal S, Kunwar M, Thapa A. Souvenir and Abstracts from PANCON Dharan 2019. J Psychiatr Assoc Nepal. 2019;8(3).
Thesis Projects guided by Dhana Ratna Shakya, MD-Psychiatry. https://www.researchgate.net/publication/381196301_Thesis_Projects_guided_by_Dhana_Ratna_Shakya_MD-Psychiatry
Shakya DR. Department of Psychiatry, BPKIHS And It’s Contribution to Mental Health Literature of Nepal. J Psychiatr Assoc Nepal. 2014;3(1):48-57.
Shakya DR. Why to learn and talk about mental illness and suicide? Souvenir- ANEMECON-2006, Blast khabar, Parikrama.
Shakya DR. Our Research Efforts to understand Suicide problem in Nepalese context. https://www.researchgate.net/publication/354477242_Our_Efforts_to_understand_Suicide_problem_in_Nepalese_context
Shakya DR. Suicide and Mental illness- Our Responsibility (आत्महत्या र मनोरोगः हाम्रो दायित्व) https://www.researchgate.net/publication/249010121_Suicide_and_Mental_illness-_Our_Responsibility
Rizyal A. Suicide and Mental Illness: Our Responsibility- Book review. https://www.researchgate.net/publication/249010125_Suicide_and_Mental_Illness_Our_Responsibility-_Book_review-_by_Rizyal_A
Shakya DR, Shyangwa PM, Shakya R. Psychiatric Emergencies in a Tertiary Care Hospital. J Nepal Med Assoc. 2008 Jan. 1;47(169).
Shyangwa PM, Shakya DR, et al. Community Based Survey on Psychiatric Morbidity in Eastern Nepal. J Nepal Med Assoc. 2014;52(196):997-1004.
Mental health & Mental illness- Our Responsibility (मानसिक स्वास्थ्य र मनोरोग: हाम्रो दायित्व) https://www.researchgate.net/publication/249009848_Mental_health_Mental_illness-_Our_Responsibility_manasika_svasthya_ra_manoroga_hamro_dayitva
Pandey AK, Shakya DR, Sapkota N, et al. Clinical Correlates Associated with Suicide Attempters at a Tertiary Care Centre of Eastern Nepal. Int J Sci Stud. 2015;3(1):4–8.
Sapkota N, Pandey A, Shyangwa P, Shakya DR, Thapa D. Hundred psychiatric out-patients presented with attempted suicide. Health Renaissance. 2011;9(3):162-7.
Yadav AK, Rai BK, Bhandari R, Shakya D, Gupta P, Moore M, Budhathoki S. Methods used and reasons for deliberate self-harm: A cross-sectional study in acute care setting of Eastern Nepal. Health Renaissance. 2017;13(2):92-104.
Shakya DR. Common Stressors among Suicide Attempters as Revealed in a Psychiatric Service of Eastern Nepal. J Trauma Stress Disor Treat. 2014.3:3.
Sherchan (Bhattachan) S, Shakya DR, Sapkota N, Gautam (Joshi) R, Basnet M, Deo BK. Stressors among psychiatric out-patients with suicide attempt attending tertiary care hospital in Eastern Nepal. Quantum Journal of Medical and Health Sciences1(1): 21-27.
Sherchan (Bhattachan) S, Shakya DR, Sapkota N, Gautam (Joshi) R, Basnet M, Deo BK. Personality Traits among Psychiatric Out-patients with Suicide Attempt Attending Tertiary Care Hospital in Eastern Nepal. International J. of Biomed Research. 2021) 1(4);
Shakya DR. Stress Management- A Way Ahead. JBPKIHS. 2020;3(1):1-8.
Shakya DR. Suicide and Information Dissemination. https://www.researchgate.net/publication/373829698_Suicide_and_Information_Dissemination
Shakya DR. Alcohol use/abuse in suicide attempters: a study in psychiatric out-patient clinic of a teaching hospital of eastern Nepal. MOJ Addict Med Ther.2018;5(1):25-29.
Basnet M, Thapa P, Shakya DR, Nepal S, Rai N, Shrestha KK. Knowledge, Attitude, and Practice Regarding Media Reporting on Suicide among Media Persons of a Province. JNMA J Nepal Med Assoc. 2024 Feb 24;62(270):129-135.
Shakya DR. Information about Suicide (आत्महत्याको रोकथाममा हाम्रो दायित्व) (Nepali leaflet for clients). 2006.