भर्खरै चिकित्सा विज्ञानको विश्वप्रसिद्ध जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित एक ऐतिहासिक अनुसन्धानले विश्व स्वास्थ्य क्षेत्रमा आशाको नयाँ सन्देश दिएको छ। बेलायतमा सन् २००८ देखि विद्यालय तहका बालिकाहरूलाई नियमित रूपमा मानव प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिन थालिएपछि २० देखि २४ वर्ष उमेर समूहका युवतीहरूमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदर शून्यमा झरेको छ।
जुन क्यान्सरले विश्वभर हरेक वर्ष लाखौँ महिलाको जीवन जोखिममा पारिरहेको छ, त्यसलाई समयमै खोप दिएर प्रभावकारी रूपमा रोक्न सकिन्छ भन्ने यो अहिलेसम्मकै सबैभन्दा बलियो वैज्ञानिक प्रमाण हो। तर बेलायतको यो प्रेरणादायी उपलब्धिबारे पढिरहँदा एक नेपाली क्यान्सर रोग विशेषज्ञका रूपमा मेरो मन भने गह्रौँ हुन्छ। किनकि नेपालका अस्पतालहरूमा आज पनि मैले यही क्यान्सरका कारण अन्तिम चरणमा पुगेका आमाहरू, दिदीबहिनीहरू र छोरीहरूले असह्य पीडा भोग्दै ज्यान गुमाएको देख्नुपरेको छ।
नेपालको डरलाग्दो अवस्था
विश्व स्वास्थ्य संगठनको ग्लोबोक्यान (GLOBOCAN) तथ्याङ्कअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने क्यान्सरमध्ये नयाँ बिरामी देखिने हिसाबले दोस्रो स्थानमा पर्छ। पहिलो स्थानमा स्तन क्यान्सर रहेको छ। तर अझ चिन्ताजनक पक्ष के हो भने मृत्युदरका आधारमा भने यही क्यान्सर नेपाली महिलाको ज्यान लिने पहिलो क्यान्सर बनेको छ।
हरेक वर्ष नेपालमा करिब २,२४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर पुष्टि हुन्छ भने करिब १,४९३ जनाको यसैका कारण मृत्यु हुन्छ। यसको अर्थ, नेपालमा हरेक दिन औसत चारदेखि पाँच जना महिलाले रोकथाम गर्न सकिने यही क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्।
यसको अर्को प्रमुख कारण स्क्रिनिङको कमजोर अवस्था हो। जोखिममा रहेका महिलामध्ये केवल २ देखि ८ प्रतिशतले मात्र जीवनमा एक पटक पाठेघरको मुखको जाँच गराएका छन्। बाँकी अधिकांश महिला रोग धेरै फैलिसकेपछि मात्र अस्पताल पुग्ने भएकाले उपचार जटिल बन्छ र मृत्युदर पनि उच्च रहन्छ।
सरकारको उदाहरणीय पहल
यस लडाइँमा सरकारको आलोचना मात्र गर्नु उचित हुँदैन। पछिल्ला वर्षहरूमा नेपाल सरकारले महत्त्वपूर्ण र प्रशंसनीय कदम चालेको छ। सरकारले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा स्थायी रूपमा समावेश गरिसकेको छ।
सन् २०२५ को फेब्रुअरी ४ (विश्व क्यान्सर दिवस) को अवसरमा सरकारले देशव्यापी रूपमा एचपीभी खोप अभियान सञ्चालन गर्यो। उक्त अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका १४ लाख ५० हजारभन्दा बढी बालिकालाई निःशुल्क खोप प्रदान गरियो।
यस अभियानले ९४ प्रतिशतभन्दा बढी राष्ट्रिय खोप पहुँच (कभरेज) हासिल गर्यो, जुन अन्तर्राष्ट्रिय दृष्टिले पनि उल्लेखनीय सफलता हो। यस उपलब्धिका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्यकर्मी तथा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) र गाभी (खोप गठबन्धन) लगायत सबै सहयोगी संस्थाहरू धन्यवादका पात्र छन्।
सरकारले अब यो खोपलाई नियमित खोप कार्यक्रममार्फत प्रत्येक वर्ष करिब तीन लाखभन्दा बढी योग्य बालिकालाई निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि सुनिश्चित गरिसकेको छ।
पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्ने?
पाठेघरको मुखको क्यान्सरका ९९ प्रतिशतभन्दा बढी घटना मानव प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणसँग सम्बन्धित हुन्छन्। यसबाट बच्ने दुई प्रभावकारी उपाय छन्।
पहिलो, एचपीभी खोप।
९ देखि १४ वर्ष उमेरका बालिकालाई यौन सम्पर्क सुरु हुनुअघि खोप लगाउनु नै सबैभन्दा प्रभावकारी सुरक्षा हो।
दोस्रो, नियमित स्क्रिनिङ।
३० वर्ष वा सोभन्दा माथिका तथा यौन रूपमा सक्रिय महिलाले प्रत्येक तीनदेखि पाँच वर्षको अन्तरालमा प्याप स्मियर वा भिआइए (एसिटिक एसिड प्रयोग गरी गरिने दृश्य परीक्षण) गराउनुपर्छ। यसबाट क्यान्सर बन्नुअघि नै हुने परिवर्तन पहिचान गरी सामान्य उपचारबाट रोगलाई क्यान्सरमा रूपान्तरण हुनबाट रोक्न सकिन्छ।
अबको बाटो : सरकार र नागरिकको साझा दायित्व
सरकारले खोपको व्यवस्था गरिसकेको छ। अब यसको शतप्रतिशत प्रभाव सुनिश्चित गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ।
सरकारले विद्यालयबाहिर रहेका तथा दुर्गम क्षेत्रमा छुटेका बालिकासम्म खोपको पहुँच पुर्याउन विशेष अभियान सञ्चालन गर्नुपर्छ। साथै, विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार सन् २०३० सम्म ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलाको निःशुल्क स्क्रिनिङ सुनिश्चित गर्न गाउँगाउँका स्वास्थ्य संस्थासम्म सेवा विस्तार गर्न आवश्यक छ।
अभिभावकहरूले आफ्ना ९ देखि १४ वर्ष उमेरका छोरीलाई कुनै भ्रम, डर वा लाज नमानी सरकारले उपलब्ध गराएको निःशुल्क एचपीभी खोप लगाइदिनुपर्छ।
महिलाहरूले पनि लाज, डर र संकोचका कारण जाँच नगराउने प्रवृत्ति त्याग्नुपर्छ। विवाहित तथा जोखिम समूहका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच गराउने बानी बसाल्नुपर्छ। महिनावारी नभएको बेला असामान्य रक्तस्राव हुने, दुर्गन्धित योनि स्राव आउने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

निष्कर्ष
चिकित्सा विज्ञानको इतिहासमा पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो, जसलाई खोप र समयमै गरिने स्क्रिनिङका माध्यमबाट प्रभावकारी रूपमा नियन्त्रण मात्र होइन, भविष्यमा उन्मूलनसमेत गर्न सकिन्छ। बेलायतले यो सम्भव भएको प्रमाणित गरिसकेको छ। नेपालले पनि राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोप समावेश गरेर सही दिशामा महत्त्वपूर्ण कदम चालिसकेको छ।
अब आवश्यक छ, सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, अभिभावक र आम नागरिक सबैको साझा प्रतिबद्धता। हाम्रा आमा, श्रीमती, दिदीबहिनी र छोरीहरूलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने यस क्यान्सरबाट जोगाउनु हाम्रो सामूहिक सामाजिक दायित्व हो।
रोकथाम गर्न सकिने र समयमै पत्ता लागे पूर्ण रूपमा उपचार गर्न सकिने पाठेघरको मुखको क्यान्सरका कारण अब नेपालमा कुनै पनि महिलाले ज्यान गुमाउनु नपरोस्।