काठमाडौं – चक्कर आउने, घुमिरहेको महसुस हुने (भर्टिगो) तथा सन्तुलनसम्बन्धी समस्याको प्रभावकारी व्यवस्थापन, उपचार तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘नेप्लिज सोसाइटी फर इक्विलिब्रियम एण्ड व्यालेन्स’ स्थापना गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवगठित संस्थाको पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको परिचयात्मक कार्यक्रमसँगै निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न गरिएको हो।
संस्थाको अध्यक्षमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने चयन भएका छन्। महासचिवमा डा. रागेश कर्ण र कोषाध्यक्षमा डा. साहरा अधिकारी रहेका छन्।
समितिका सदस्यहरूमा प्रा.डा. रविन्द्रभक्त प्रधानांग, डा. पारश रायमाझी, डा. प्रतिक्षा चालिसे, डा. कृपा डंगोल, डा. सांज्ञ पौडेल, डा. मञ्जु ज्ञवाली तथा डा. धर्म डंगोल रहेका छन्। सल्लाहकारमा प्रा.डा. हरि भट्टराई, प्रा.डा. कृष्णकुमार ओली, प्रा.डा. सरोजप्रसाद ओझा र प्रा.डा. विक्रमप्रसाद गजुरेल छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष डा. न्यौपानेले नेपालभर चक्कर लाग्ने, रिंगटा लाग्ने तथा सन्तुलनसम्बन्धी रोगहरूको निदान, उपचार र पुनःस्थापना सेवामा सुधार ल्याउने उद्देश्यले संस्था स्थापना गरिएको बताए। उनले यस क्षेत्रमा जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मीहरूको क्षमता विकास तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
विशेषज्ञहरूका अनुसार चक्कर आउने, भर्टिगो तथा सन्तुलनसम्बन्धी समस्या अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीहरूका प्रमुख गुनासामध्ये एक हो। यस्ता समस्याले सबै उमेर समूहका व्यक्तिलाई प्रभावित पार्ने र जीवनको गुणस्तरमा नकारात्मक असर पुर्याउने गर्दछ। साथै लडेर चोटपटक लाग्ने जोखिम बढाउनुका साथै कार्यक्षमता घटाउने र परिवार तथा स्वास्थ्य प्रणालीमा आर्थिक तथा सामाजिक भार समेत थप्ने गरेको छ।
यस्ता रोगहरूको प्रभावकारी व्यवस्थापनका लागि नाक, कान तथा घाँटी रोग विशेषज्ञ, न्युरोलोजिस्ट, अडियोलोजिस्ट, फिजियोथेरापिस्ट, मनोचिकित्सक, नेत्ररोग विशेषज्ञ तथा प्राथमिक स्वास्थ्य चिकित्सकबीच बहुआयामिक सहकार्य आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
विश्वव्यापी तथ्यांकअनुसार २० देखि ३० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कम्तीमा एकपटक चक्कर आउने समस्या अनुभव गर्ने गरेका छन्। त्यस्तै ६५ वर्षभन्दा माथिका करिब एकतिहाइ व्यक्तिहरू कुनै न कुनै प्रकारको सन्तुलनसम्बन्धी समस्याबाट प्रभावित हुने गरेका छन्। औसत आयु बढ्दै जाँदा यस्ता भेस्टिबुलर तथा सन्तुलनसम्बन्धी रोगहरूको भार अझ बढ्ने अनुमान गरिएको छ।
यस्ता छन् संस्थाका प्रमुख ६ उद्देश्यहरु
संस्थाको उद्देश्य तथा नेपाली जनताका लागि लाभनेपालिज सोसाइटी फर इक्विलिब्रियम एण्ड ब्यालेन्सको स्थापना नेपालभरि चक्कर, भर्टिगो तथा सन्तुलनसम्बन्धी रोगहरूको निदान, उपचार तथा पुनर्स्थापन (Rehabilitation) सेवामा सुधार ल्याउने उद्देश्यका साथ गरिएको हो ।
१. जनचेतना अभिवृद्धि
संस्थाले चक्कर, तथा सन्तुलनसम्बन्धी समस्याबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ, जसले मानिसहरूलाई लक्षणहरू चाँडै पहिचान गर्न र समयमै स्वास्थ्य सेवा लिन प्रेरित गर्नेछ ।
२. गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुधार
वैज्ञानिक प्रमाणमा आधारित उपचार पद्धति तथा क्लिनिकल निर्देशिकाहरूको प्रवर्द्धनमार्फत स्वास्थ्यकर्मीहरूलाई सही निदान तथा प्रभावकारी उपचार प्रदान गर्न सहयोग पुर्याइनेछ ।
३. बहुविषयगत सहकार्यको प्रवर्द्धन
चक्कर तथा सन्तुलनसम्बन्धी रोगहरूको सफल व्यवस्थापनका लागि विभिन्न विषयका विशेषज्ञहरूको सहकार्य आवश्यक हुन्छ । संस्थाले ENT विशेषज्ञ, न्युरोलोजिस्ट, अडियोलोजिस्ट, फिजियोथेरापिस्ट, मनोचिकित्सक, मनोवैज्ञानिक, नेत्ररोग विशेषज्ञ तथा प्राथमिक स्वास्थ्य चिकित्सकहरूलाई एक साझा मञ्चमा ल्याई बिरामीको हितमा सहकार्य गर्ने वातावरण सिर्जना गर्नेछ ।
४. भेस्टिबुलर पुनर्स्थापन सेवा विस्तार
भेस्टिबुलर पुनर्स्थापन (Vestibular Rehabilitation) वैज्ञानिक रूपमा प्रमाणित उपचार विधि हो, जसले चक्कर कम गर्न, सन्तुलन सुधार गर्न, लड्ने जोखिम घटाउन तथा जीवनको गुणस्तर बढाउन मद्दत गर्दछ । संस्थाले नेपालभर यस्ता सेवाहरूको विकास तथा विस्तारका लागि पैरवी गर्नेछ ।
५. स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि
संस्थाले कार्यशाला, सम्मेलन, तालिम तथा निरन्तर चिकित्सकीय शिक्षा कार्यक्रमहरू सञ्चालन गरी चक्कर तथा सन्तुलनसम्बन्धी रोगहरूको व्यवस्थापनमा संलग्न स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्नेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी ज्ञान आदानप्रदान र व्यावसायिक विकासलाई प्रोत्साहन गर्नेछ ।
६. अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन
अनुसन्धान तथा तथ्यांक सङ्कलनलाई प्रोत्साहन गरेर संस्थाले नेपालमा भेस्टिबुलर तथा सन्तुलनसम्बन्धी रोगहरूको भार, कारण तथा व्यवस्थापनबारे प्रमाणमा आधारित जानकारी उत्पादन गर्न सहयोग गर्नेछ, जसले भविष्यमा राष्ट्रिय स्वास्थ्य नीतिहरू निर्माण गर्न मार्गदर्शन गर्नेछ ।