नेपालले जनवरी २०१० मा राष्ट्रिय स्तरमा कुष्ठरोगलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन (Leprosy Elimination as a Public Health Problem) गरेको घोषणा गरेको थियो। सार्वजनिक स्वास्थ्यको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रति १०,००० जनसंख्यामा एक जना भन्दा कम कुष्ठरोगी (Prevalence Rate <1/10,000) कायम भएपछि यो उपलब्धि हासिल भएको थियो। हाल नेपालमा कुष्ठरोगको प्रचलन दर ०.८८ प्रति १०,००० जनसंख्या रहेको छ। तर, राष्ट्रिय उपलब्धिको झण्डै डेढ दशकपछि पनि मधेश प्रदेशमा यो दर १.२८ प्रति १०,००० जनसंख्या रहेकोले प्रदेशले अझै सार्वजनिक स्वास्थ्य समस्याका रूपमा कुष्ठरोग उन्मूलन गर्न सकेको छैन।
यद्यपि मधेश प्रदेशमा प्रचलन दर राष्ट्रिय औसत भन्दा माथि रहेको छ, पछिल्ला चार वर्षका तथ्याङ्कले कुष्ठरोग नियन्त्रण कार्यक्रम सकारात्मक दिशामा अघि बढिरहेको देखाउँछन्। आर्थिक वर्ष २०७९/८० मा ९४५ नयाँ बिरामी पत्ता लागेकोमा २०८०/८१ मा ८७४, २०८१/८२ मा ८५७ तथा २०८२/८३ को जेठ मसान्तसम्म ५८९ नयाँ बिरामी मात्र पत्ता लागेका छन्। यो तथ्याङ्कले सक्रिय बिरामी खोज, निःशुल्क उपचार सेवा तथा नियमित निगरानी प्रणालीको प्रभावकारिता क्रमशः बढ्दै गएको संकेत गर्दछ।
बालबालिकामा देखिने नयाँ कुष्ठरोगका बिरामीको संख्या पनि क्रमशः घट्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा ८९ जना, २०८०/८१ मा ८७ जना, २०८१/८२ मा ४० जना र २०८२/८३ को जेठसम्म ३० जना बाल बिरामी पहिचान भएका छन्। यो सकारात्मक संकेत भए पनि बालबालिकामा नयाँ बिरामी देखिनु समुदायभित्र कुष्ठरोगको संक्रमण अझै जारी रहेको प्रमाण हो। सार्वजनिक स्वास्थ्यका दृष्टिले बाल कुष्ठरोगलाई हालसालै भएको संक्रमण (Recent Transmission) को प्रमुख सूचक मानिन्छ। त्यसैले संक्रमणको शृङ्खला अझै पूर्ण रूपमा रोकिएको भन्न सकिने अवस्था छैन।
त्यसैगरी ग्रेड–२ अपाङ्गता भएका नयाँ बिरामीको अवस्थाले अर्को गम्भीर चुनौती उजागर गरेको छ। आर्थिक वर्ष २०७९/८० मा ६६ जना, २०८०/८१ मा ४८ जना, २०८१/८२ मा ५८ जना तथा २०८२/८३ को जेठसम्म ३७ जना नयाँ बिरामी ग्रेड–२ अपाङ्गतासहित निदान भएका छन्। अझ चिन्ताजनक विषय भनेको चालु आर्थिक वर्षमा एक जना बाल बिरामीसमेत ग्रेड–२ अपाङ्गतासहित भेटिनु हो। यसले रोग लामो समयसम्म पहिचान हुन नसकेको, समुदायमा चेतनाको कमी रहेको तथा स्वास्थ्य सेवामा समयमै पहुँच नपुगेको स्पष्ट संकेत गर्दछ।
नयाँ बिरामीको संख्या घट्दै जानु कार्यक्रमको उपलब्धि हो, तर ग्रेड–२ अपाङ्गतासहितका बिरामी फेला पर्नु भनेको ढिलो निदान (Late Diagnosis) अझै पनि ठूलो चुनौती रहेको पुष्टि हो। समयमै रोग पहिचान हुन नसके बिरामी स्थायी अपाङ्गता, सामाजिक विभेद, मानसिक तनाव तथा आर्थिक समस्याको जोखिममा पर्छन्। त्यसैले कुष्ठरोग नियन्त्रण कार्यक्रमको सफलता बिरामीको संख्या घट्नुमा मात्र होइन, रोगलाई प्रारम्भिक चरणमै पहिचान गरी अपाङ्गता हुन नदिनुमा पनि निर्भर गर्दछ।
यस सन्दर्भमा मधेश प्रदेशमा कार्यान्वयन भइरहेको केस-बेस्ड सर्विलेन्स प्रणाली महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। प्रत्येक नयाँ बिरामीको विवरण, सम्पर्क परीक्षण (Contact Screening), उपचारको अवस्था तथा उपचार परिणामलाई नियमित रूपमा अनुगमन गर्ने यो प्रणालीले संक्रमणको शृङ्खला पहिचान गर्न र जोखिमयुक्त क्षेत्र निर्धारण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यदि यसलाई थप सुदृढ बनाउँदै डिजिटल रिपोर्टिङ, सम्पर्क परीक्षण तथा डेटा-आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सकियो भने मधेश प्रदेशमा कुष्ठरोग नियन्त्रण अझ प्रभावकारी बन्ने अपेक्षा गर्न सकिन्छ।
तर मधेश प्रदेशमा कुष्ठरोग उन्मूलनका लागि केवल नीति, रणनीति र उपचार सेवा मात्र पर्याप्त छैन। समुदायमा अझै पनि कुष्ठरोगबारे चेतनाको कमी, सामाजिक लाञ्छना र विभेद, गरिबी, स्वास्थ्य सेवामा असमान पहुँच, स्वास्थ्य परीक्षणमा ढिलाइ तथा सम्पर्क परीक्षणको अपूर्ण कार्यान्वयन जस्ता सामाजिक तथा स्वास्थ्य प्रणालीसम्बन्धी चुनौतीहरू विद्यमान छन्। यी समस्यालाई सम्बोधन नगरी केवल स्वास्थ्य संस्थामा आउने बिरामीको उपचारबाट मात्र कुष्ठरोग उन्मूलन सम्भव हुँदैन।
अबको आवश्यकता भनेको समुदायमै पुगेर सक्रिय बिरामी खोज (Active Case Detection), घरपरिवारका सम्पर्क व्यक्तिको नियमित परीक्षण (Contact Screening), विद्यालय तथा समुदायमा व्यापक जनचेतना, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय तहको सक्रिय परिचालन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र लाञ्छना विरुद्ध सामाजिक अभियान सञ्चालन गर्नु हो। स्वास्थ्य सेवा र समुदायबीचको दूरी घटाउन सकिए मात्र प्रारम्भिक चरणमै बिरामी पहिचान हुने र अपाङ्गता रोकथाम गर्न सकिनेछ।
मधेश प्रदेशले पछिल्ला वर्षहरूमा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको छ। नयाँ बिरामी र बाल बिरामीको संख्या घट्दै जानु उत्साहजनक उपलब्धि हो। तर राष्ट्रिय उन्मूलनको घोषणा भएको १६ वर्षपछि पनि प्रदेशमा प्रचलन दर राष्ट्रिय मापदण्डभन्दा माथि रहनु, बाल बिरामीहरू भेटिनु तथा ग्रेड–२ अपाङ्गता भएका नयाँ बिरामी देखिनु अझै पनि संक्रमण समुदायमा कायम रहेको स्पष्ट प्रमाण हो।
कुष्ठरोगमुक्त मधेश निर्माण गर्न केवल स्वास्थ्य कार्यक्रम पर्याप्त छैन; समुदायको सहभागिता, समयमै रोगको पहिचान, सामाजिक लाञ्छनाको अन्त्य र सबैको स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु नै अबको प्रमुख प्राथमिकता हुनुपर्छ।
(केसी स्वास्थ्य निर्देशनालय मधेश प्रदेशमा कार्यरत छिन्)