कोभिड–१९ महामारीले विश्वलाई एउटा कठोर सत्यसँग सामना गरायो- संक्रामक रोगको जोखिमलाई समयमै पहिचान गरी तयारी नगर्ने हो भने त्यसको मूल्य मानव जीवन, अर्थतन्त्र र सामाजिक स्थिरताले अत्यन्त महँगो रूपमा चुकाउनुपर्छ। महामारीको ती अनुभवहरू अझै ताजा छन्। अस्पतालहरूको चाप, बन्दाबन्दीले थलिएको अर्थतन्त्र, लाखौँ मानिसको ज्यान र जनजीवनमा परेको गहिरो असरले पूर्वतयारीको महत्व स्पष्ट रूपमा देखाइसकेको छ। तर महामारीको त्यो पाठ बिर्सन नपाउँदै विश्व समुदाय अर्को सम्भावित स्वास्थ्य चुनौतीप्रति चिन्तित हुन थालेको छ। त्यो चुनौती हो, बर्ड फ्लू वा पक्षी इन्फ्लुएन्जा।
केही वर्षअघिसम्म मुख्यतः कुखुरा तथा जंगली चराचुरुङ्गीमा सीमित मानिएको बर्ड फ्लू अहिले विश्वव्यापी स्वास्थ्य सुरक्षासँग जोडिएको विषय बनेको छ। यसको प्रमुख कारण भाइरसको बदलिँदो स्वरूप हो। पछिल्ला वर्षहरूमा बर्ड फ्लूका केही प्रकार विभिन्न स्तनधारी जनावरहरूमा समेत देखिएका छन्। अमेरिकामा पहिलो पटक दुग्ध उत्पादन गर्ने गाईमा संक्रमण पुष्टि हुनु, समुद्री स्तनधारी, स्याल, बिरालो लगायतका जनावरमा संक्रमण भेटिनु र सीमित संख्यामा मानिसमा समेत संक्रमण देखिनुले वैज्ञानिक समुदायलाई थप सतर्क बनाएको छ। यद्यपि हालसम्म मानिसबाट मानिसमा सजिलै सर्ने अवस्था विकसित भएको प्रमाण छैन, भाइरसको निरन्तर आनुवंशिक परिवर्तनले भविष्यमा जोखिम बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
नेपाल पनि यस जोखिमबाट अलग छैन। वास्तवमा भौगोलिक, पारिस्थितिक र आर्थिक कारणले नेपाल बर्ड फ्लूको जोखिममा रहेका देशहरूमध्ये एक हो। विश्व पशु स्वास्थ्य संगठनका अनुसार यस वर्ष सुनसरीबाट सुरु भएको संक्रमण देशका विभिन्न भागमा फैलिँदै ६६ वटा प्रकोपका रूपमा दर्ता भएको छ। पाँच लाखभन्दा बढी घरपालुवा कुखुरा नष्ट गरिएका छन् भने जंगली चराहरू, विशेष गरी कागहरूको अस्वाभाविक मृत्युका घटनाहरू पनि रिपोर्ट भएका छन्। यी तथ्याङ्कहरूले बर्ड फ्लूलाई केवल पशुपक्षीको रोगका रूपमा हेर्ने दृष्टिकोण अब पर्याप्त नभएको संकेत गर्छन्। यसले कृषि अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी, जैविक विविधता र जनस्वास्थ्य सबैलाई प्रभावित गर्न सक्छ।
बर्ड फ्लू इन्फ्लुएन्जा ‘ए’ समूहका भाइरसका कारण हुने संक्रमण हो। यसको प्राकृतिक आश्रयदाता मुख्यतः जंगली जलचर चराचुरुङ्गी हुन्। यी चराहरू आफैंमा गम्भीर रूपमा बिरामी नदेखिए पनि लामो दूरीसम्म बसाइँ सर्ने क्रममा भाइरसलाई विभिन्न देश र महादेशमा पुर्याउन सक्छन्। नेपाल विश्वका प्रमुख प्रवासी चराको मार्गमध्ये एकमा पर्ने भएकाले हरेक वर्ष साइबेरिया, मध्य एशिया तथा अन्य क्षेत्रबाट लाखौँ चराहरू यहाँका ताल, सिमसार र नदी क्षेत्रमा आउने गर्छन्। यही कारण नेपालमा बर्ड फ्लू प्रवेश गर्ने प्राकृतिक जोखिम उच्च मानिन्छ।
तर जोखिमको स्रोत केवल प्रवासी चराहरू मात्र होइनन्। नेपाल–भारत खुला सीमाका कारण हुने अनौपचारिक कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार, ग्रामीण क्षेत्रमा प्रचलित खुला कुखुरापालन प्रणाली, जीवित कुखुराको बजार तथा कमजोर जैविक सुरक्षा अभ्यासले संक्रमण फैलिने सम्भावना थप बढाएका छन्। धेरै स्थानमा कुखुरा, हाँस र अन्य घरपालुवा जनावर एउटै परिसरमा पालिने भएकाले भाइरसलाई एक प्रजातिबाट अर्को प्रजातिमा सर्ने अवसर सहज रूपमा उपलब्ध हुन्छ। रोग नियन्त्रणका दृष्टिले यस्ता अभ्यासहरू दीर्घकालीन जोखिमका कारक हुन्।
नेपालको कुखुरापालन क्षेत्रले पछिल्ला दुई दशकमा उल्लेखनीय विस्तार गरेको छ। लाखौँ परिवारको आयआर्जन, पोषण सुरक्षाको आधार र कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको यस क्षेत्रमा बर्ड फ्लूको प्रकोपले प्रत्यक्ष आर्थिक क्षति पुर्याउँछ। संक्रमित कुखुरा नष्ट गर्नुपर्ने हुन्छ, उत्पादन शृङ्खला अवरुद्ध हुन्छ, बजारमा उपभोक्ताको विश्वास घट्छ र किसानको लगानी जोखिममा पर्छ। अझ समस्या के छ भने प्रकोपको असर केवल प्रभावित फार्ममा सीमित रहँदैन; यसको प्रभाव स्थानीय बजार, दाना उद्योग, यातायात, खुद्रा व्यवसाय र श्रम बजारसम्म फैलिन सक्छ।
नेपालमा रोग देखिएपछि मात्र सक्रिय हुने प्रवृत्ति अर्को गम्भीर चुनौती हो। प्रकोप देखिएपछि संक्रमित कुखुरा नष्ट गर्ने, केही समय बजार नियन्त्रण गर्ने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभ्यास दोहोरिँदै आएको छ। तर रोग आउनुअघि जोखिम पहिचान गर्ने, निरन्तर निगरानी सञ्चालन गर्ने, किसानलाई तालिम दिने, प्रयोगशाला सुदृढ गर्ने र जैविक सुरक्षा प्रणाली लागू गर्ने पक्षमा अपेक्षित लगानी भएको देखिँदैन। जबकि संक्रामक रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय संक्रमण फैलिसकेपछि उपचार गर्नु होइन, संक्रमण फैलिन नदिनु हो।
विश्वका धेरै देशहरूले पछिल्ला वर्षहरूमा बर्ड फ्लू नियन्त्रणका लागि सक्रिय निगरानी प्रणालीमा ठूलो लगानी गरेका छन्। जंगली चराहरूको स्वास्थ्य अवस्था, पशुपक्षीमा देखिएका असामान्य मृत्यु, फार्मस्तरको जैविक सुरक्षा र आनुवंशिक विश्लेषणमार्फत भाइरसको परिवर्तनलाई निरन्तर निगरानी गर्ने प्रणाली विकास गरिएका छन्। यस्ता प्रणालीले संक्रमणलाई प्रारम्भिक चरणमै पहिचान गर्न मद्दत गर्छन्। नेपालमा पनि यस्तै वैज्ञानिक निगरानी प्रणालीको आवश्यकता छ।
यस सन्दर्भमा 'वन हेल्थ' दृष्टिकोण विशेष रूपमा महत्वपूर्ण छ। वन हेल्थको मूल अवधारणा मानव, पशु र वातावरणीय स्वास्थ्य एकअर्कासँग अविच्छिन्न रूपमा जोडिएका छन् भन्ने मान्यता हो। आज देखापर्ने अधिकांश नयाँ संक्रामक रोगहरू जनावरबाट मानिसमा सरेका छन्। त्यसैले मानव स्वास्थ्यलाई केवल अस्पताल र स्वास्थ्यकर्मीको जिम्मेवारीका रूपमा मात्र हेर्न सकिँदैन। पशु स्वास्थ्य, वन्यजन्तु संरक्षण, वातावरणीय व्यवस्थापन र जनस्वास्थ्यबीचको समन्वय नै दीर्घकालीन समाधानको आधार हो।
वन हेल्थ रणनीतिको पहिलो आधार एकीकृत निगरानी हो। जंगली चराचुरुङ्गी, घरपालुवा जनावर र मानिसमा देखिने संक्रमणलाई छुट्टाछुट्टै नभई एउटै प्रणालीमार्फत निगरानी गर्न सकिए नयाँ जोखिमहरू समयमै पहिचान गर्न सम्भव हुन्छ। संक्रमण मानिसमा फैलिनुअघि नै नियन्त्रणका उपायहरू अपनाउन सकिन्छ। महामारी रोकथामका दृष्टिले यो सबैभन्दा कम खर्चिलो र प्रभावकारी उपाय हो।
दोस्रो आधार सहयोगात्मक अनुसन्धान हो। मानव चिकित्सक, पशु चिकित्सक, महामारीविद्, वातावरणविद् र प्रयोगशाला वैज्ञानिकबीचको सहकार्यले रोगको उत्पत्ति, प्रसारण मार्ग र नियन्त्रण रणनीति बुझ्न मद्दत गर्छ। नेपालमा अनुसन्धान संस्थाहरू, विश्वविद्यालयहरू र सरकारी निकायबीच अझ सशक्त सहकार्य आवश्यक छ। प्रमाणमा आधारित नीति निर्माणका लागि गुणस्तरीय अनुसन्धान अपरिहार्य हुन्छ।
तेस्रो आधार नीति र सुशासन हो। बर्ड फ्लूजस्ता रोग कुनै एक मन्त्रालय वा विभागको जिम्मेवारीभित्र सीमित हुँदैनन्। स्वास्थ्य, कृषि, पशु सेवा, वन, वातावरण र स्थानीय सरकारबीच स्पष्ट समन्वय आवश्यक हुन्छ। रोगको सूचना आदानप्रदान, स्रोत परिचालन, आपतकालीन प्रतिक्रिया र क्षतिपूर्ति व्यवस्थापनका लागि पूर्वनिर्धारित संरचना र कार्ययोजना हुनुपर्छ। संकटको समयमा बनाइने अस्थायी संयन्त्रभन्दा नियमित रूपमा सञ्चालन हुने संस्थागत व्यवस्था धेरै प्रभावकारी हुन्छ।
चौथो आधार शिक्षा र जनचेतना हो। समुदायले रोगको जोखिम बुझेन भने कुनै पनि नियन्त्रण कार्यक्रम पूर्ण सफल हुन सक्दैन। किसानले जैविक सुरक्षा किन आवश्यक छ भन्ने बुझ्नुपर्छ। उपभोक्ताले सुरक्षित खाद्य अभ्यास अपनाउनुपर्छ। सञ्चारमाध्यमले सनसनीपूर्ण समाचारभन्दा तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्छ। जनचेतना अभावमा रोग लुकाउने, अफवाह फैलाउने वा नियन्त्रण प्रयासको विरोध गर्ने प्रवृत्ति बढ्न सक्छ, जसले जोखिमलाई झन् जटिल बनाउँछ।
बर्ड फ्लू नियन्त्रणका लागि किसानलाई मात्र दोष दिनु न्यायसंगत हुँदैन। सीमित स्रोत–साधन भएका किसानहरू धेरैजसो अवस्थामा आवश्यक जैविक सुरक्षा उपायहरू अपनाउन सक्षम हुँदैनन्। कतिपयले रोग देखिएपछि पनि आर्थिक क्षतिको डरले सम्बन्धित निकायलाई जानकारी दिन हिच्किचाउँछन्। यदि रोग रिपोर्ट गर्दा उचित र पारदर्शी क्षतिपूर्ति प्राप्त हुने व्यवस्था छैन भने यस्तो व्यवहार स्वाभाविक बन्न सक्छ। त्यसैले सरकारको प्राथमिकता किसानलाई दण्डित गर्नु होइन, उनीहरूलाई सुरक्षित उत्पादन प्रणाली अपनाउन सहयोग गर्नु हुनुपर्छ।
अब नेपालले प्रतिक्रियात्मक होइन, पूर्वतयारीमा आधारित रणनीति अवलम्बन गर्नुपर्ने समय आएको छ। उच्च जोखिम भएका जिल्लाहरूमा वर्षभरि सक्रिय रोग निगरानी प्रणाली सञ्चालन गर्नुपर्छ। प्रदेश तथा स्थानीय तहसम्म आधुनिक प्रयोगशाला क्षमता विस्तार गरी परीक्षणलाई छिटो, सहज र विश्वसनीय बनाउनुपर्छ। प्रत्येक व्यावसायिक फार्ममा न्यूनतम जैविक सुरक्षा मापदण्ड अनिवार्य लागू गरिनुपर्छ। किसानलाई नियमित तालिम, प्राविधिक परामर्श तथा संक्रमण पुष्टि भएमा समयमै क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। सीमा क्षेत्रमा पशु स्वास्थ्य क्वारेन्टाइनलाई आधुनिक प्रविधिसहित सुदृढ बनाउनुपर्छ। साथै, वन हेल्थ अवधारणालाई नीति दस्तावेजमा मात्र सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ।
अन्ततः बर्ड फ्लू अहिले नेपालका लागि ठूलो मानवीय महामारी बनेको छैन। तर इतिहासले बारम्बार देखाएको छ, महामारीहरू प्रायः हामीले सामान्य ठानेका जोखिमबाट सुरु हुन्छन्। कोभिड–१९ ले हामीलाई एउटा अमूल्य पाठ दिएको छ: पूर्वतयारीको कुनै विकल्प हुँदैन। त्यसैले बर्ड फ्लूलाई केवल पशुपक्षीको रोगका रूपमा होइन, खाद्य सुरक्षा, किसानको जीविकोपार्जन, जैविक विविधता र जनस्वास्थ्यसँग गाँसिएको राष्ट्रिय चुनौतीका रूपमा हेर्नुपर्छ। वैज्ञानिक निगरानी, बलियो जैविक सुरक्षा, सक्षम प्रयोगशाला, पारदर्शी नीति र वन हेल्थमा आधारित समन्वित कार्ययोजना आजको आवश्यकता मात्र होइन, भविष्यको सुरक्षा पनि हो। अर्को संकटको प्रतीक्षा गर्नु राम्रो होइन; समयमै तयारी गर्नु नै सबैभन्दा प्रभावकारी, कम खर्चिलो र जिम्मेवार विकल्प हो।