रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारको जीवनमा गहिरो असर पारेको छ। केही परिवारले आफ्ना प्रियजन गुमाउनुभएको छ, केहीले घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाउनुभएको छ। कतिपय परिवार आफ्ना आफन्तको अवस्थाबारे चिन्तित हुनुहुन्छ भने धेरैले जीवनकै कठिन र भयावह क्षणको सामना गर्नुभएको छ। यस्तो अवस्थामा उद्धार, उपचार, खाना, पानी र सुरक्षित आवास तत्कालका प्राथमिकता हुन्। तर विपद्को असर भौतिक क्षतिमा मात्र सीमित हुँदैन। मनमा परेको चोट देखिँदैन, तर त्यसको असर लामो समयसम्म रहन सक्छ। त्यसैले राहतसँगै प्रभावित व्यक्तिहरूको मानसिक स्वास्थ्य र भावनात्मक अवस्थालाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ।
पीडालाई सम्मान गरौँ
सामाजिक सञ्जालले विपद्को अवस्था बुझ्न, सूचना फैलाउन र सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। देशभित्र र विदेशमा रहेका धेरै नेपाली रसुवाका प्रभावित परिवारप्रति चिन्तित हुनुहुन्छ र आफ्नो ठाउँबाट सहयोग गर्न चाहनुहुन्छ। तर प्रभावित व्यक्तिहरूसँग कुरा गर्दा हाम्रो संवेदनशीलता र सम्मान अझ महत्त्वपूर्ण हुन्छ।
‘के भयो?’, ‘कसरी बाँच्नुभयो?’, ‘पहिले सूचना आएको थियो कि थिएन?’, ‘कस्तो महसुस भइरहेको छ?’ जस्ता प्रश्न स्वाभाविक चासोबाट सोधिएका हुन सक्छन्। तर एउटै घटनाको विवरण पटक–पटक माग्दा उहाँहरूले पीडादायी अनुभव फेरि सम्झनुपर्ने हुन सक्छ। त्यसैले उहाँहरू आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने धैर्यपूर्वक सुनौँ, तर जबरजस्ती विवरण माग नगरौँ। कहिलेकाहीँ ‘के भयो?’ भन्दा ‘अहिले तपाईंलाई के सहयोग चाहिएको छ?’ भन्ने प्रश्न बढी अर्थपूर्ण हुन्छ।
सामाजिक सञ्जालमा तस्वीर, भिडियो वा व्यक्तिगत अनुभव साझा गर्दा पनि सम्बन्धित व्यक्तिहरूको सम्मान, गोपनीयता र सहमतिलाई प्राथमिकता दिऔँ। पीडालाई प्रदर्शनको विषय होइन, संवेदनशीलताको विषय बनाऔँ।
‘ज्यान त बच्यो नि’ भन्दा पहिले मन बुझौँ
ज्यान जोगिएकोमा खुसी हुनु र आफूले गुमाएको कुरामा दुःखी हुनु एकैपटक सम्भव हुन्छ। प्रियजन, घर, सम्पत्ति वा जीविकोपार्जन गुमाउनुको पीडा आफ्नै हुन्छ। त्यसैले ‘अब त सबै ठीक हुन्छ’, ‘सम्पत्ति त फेरि कमाउन सकिन्छ’ वा ‘बलियो बन्नुपर्छ’ भनेर उहाँहरूको भावनालाई छिट्टै दबाउन खोज्नुको सट्टा उहाँहरूको दुःखलाई स्वीकार गरौँ।
साथ दिनु भनेको सबै समस्या तुरुन्त समाधान गर्नु मात्र होइन; कठिन समयमा कसैसँग सम्मानपूर्वक उभिनु पनि हो।
विपद्पछि मनमा आउने प्रतिक्रिया बुझौँ
ठूलो विपद् भोग्नुभएपछि केही समय डर लाग्नु, मन आत्तिनु, रुन मन लाग्नु, निद्रा बिग्रनु, दुःस्वप्न आउनु वा घटना बारम्बार सम्झनु स्वाभाविक हुन सक्छ। पानी, ठूलो वर्षा वा कुनै आवाजले डर वा झस्किने अवस्था आउन सक्छ। कसैलाई केही समय एक्लै बस्न मन लाग्न सक्छ भने कसैलाई परिवारसँग नजिक रहन मन लाग्न सक्छ। ‘मैले उहाँलाई बचाउन सकिनँ’ वा ‘म किन बाँचें?’ जस्ता विचार पनि आउन सक्छन्।
यी कमजोरीका संकेत होइनन्; अत्यन्त कठिन अनुभवपछि मनले देखाउने स्वाभाविक प्रतिक्रिया हुन्। धेरैजसो व्यक्तिहरू परिवार, साथीभाइ र समुदायको साथ पाएर विस्तारै सामान्य जीवनतर्फ फर्कन सक्नुहुन्छ।
तर डर, दुःस्वप्न, निद्राको समस्या, घटनाको सम्झना, अत्यधिक सतर्कता वा निराशा लामो समयसम्म रह्यो, बढ्दै गयो र दैनिक जीवनमा असर पर्न थाल्यो भने स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ। केही व्यक्तिमा यस्ता लक्षण लामो समयसम्म रहँदा पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) जस्तो मानसिक स्वास्थ्य समस्या देखिन सक्छ। तर विपद् भोग्नुभएका सबै व्यक्तिलाई PTSD हुन्छ भन्ने होइन।
मानसिक स्वास्थ्यका लागि हामी के गर्न सक्छौँ?
विपद्पछि मानसिक स्वास्थ्य सहयोग जटिल कुरा मात्र होइन। सुरक्षा, संवेदनशील व्यवहार, सुन्ने अवसर र निरन्तर साथ जस्ता साना तर निरन्तर प्रयासले प्रभावित व्यक्तिहरूको पुनःस्थापनामा ठूलो सहयोग पुर्याउन सक्छ।
१. सुरक्षित र शान्त वातावरण बनाऔँ:
उहाँहरूका लागि सुरक्षित बस्ने ठाउँ, खाना, पानी, औषधि, आराम तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरौँ। थप जोखिम, अफवाह र डर फैलाउने सूचनाबाट जोगाऔँ।
२. शान्त र संवेदनशील रूपमा सुनौँ:
उहाँहरू बोल्न चाहनुहुन्छ भने धैर्यपूर्वक र सम्मानका साथ सुनौँ। कुरा गर्न बाध्य नपारौँ। तुरुन्तै सल्लाह दिने, दोष लगाउने वा अरूसँग तुलना गर्नेभन्दा उहाँहरूको अनुभव र भावनालाई स्वीकार गरौँ।
३. भावनालाई स्वीकार गरौँ:
डर, दुःख, रिस, आत्तिनु वा रुन मन लाग्नु विपद्पछि देखिन सक्ने स्वाभाविक प्रतिक्रिया हुन्। ‘तपाईंले यस्तो महसुस गर्नु स्वाभाविक हो।’ ‘तपाईं एक्लो हुनुहुन्न, हामी तपाईंको साथमा छौँ।’ जस्ता सरल शब्दले भावनात्मक सहारा दिन सक्छन्।
४. परिवार र समुदायसँग पुनःजोडौँ:
हराउनुभएका वा सम्पर्कविहीन परिवारका सदस्य खोज्न तथा पुनःसम्पर्क गराउन सहयोग गरौँ। आफन्त, साथीभाइ र समुदायसँग जोडिन प्रोत्साहित गरौँ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, एक्लै रहनुभएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा प्रियजन गुमाउनुभएका व्यक्तिहरूको सुरक्षा र आवश्यकतामा विशेष ध्यान दिऔँ।
५. दैनिक जीवनको लय फर्काउन सहयोग गरौँ:
नियमित खाना, पर्याप्त आराम र निद्रा, सरसफाइ, सम्भव भएसम्म हल्का शारीरिक गतिविधि तथा दैनिक कार्यमा क्रमशः फर्किने वातावरण बनाऔँ। सरल श्वासप्रश्वास तथा विश्रामका अभ्यासले पनि तनाव व्यवस्थापनमा सहयोग गर्न सक्छन्।
६. बालबालिकालाई खेल्ने, सिक्ने र व्यक्त गर्ने वातावरण दिऔँ:
बालबालिकाले आफ्नो पीडा सधैँ शब्दमा व्यक्त गर्न सक्नुहुन्न। उहाँहरू बढी टाँसिन सक्नुहुन्छ, चुप लाग्न सक्नुहुन्छ, रिसाउन सक्नुहुन्छ, राति डराउन सक्नुहुन्छ वा दुःस्वप्न देख्न सक्नुहुन्छ। उहाँहरूलाई ‘डराउनु हुँदैन’ भन्नुभन्दा ‘तिमी सुरक्षित छौ, हामी तिमीसँग छौँ’ भन्नु बढी सहयोगी हुन्छ। खेल, चित्र, कथा र सहज कुराकानीमार्फत भावना व्यक्त गर्ने अवसर दिऔँ।
७. आफ्नो जीवनमाथि नियन्त्रणको अनुभूति दिलाऔँ:
विपद्पछि धेरै कुरा आफ्नो नियन्त्रणबाहिर गएको महसुस हुन सक्छ। त्यसैले सम्भव भएसम्म उहाँहरूलाई साना निर्णय आफैँ गर्न दिनुहोस्—कहाँ बस्ने, कसलाई सम्पर्क गर्ने वा कस्तो सहयोग चाहिन्छ आदि।
८. आवश्यक जानकारी र सेवासँग जोडौँ:
उद्धार, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, सामाजिक सुरक्षा, शिक्षा, आवास र जीविकोपार्जनसम्बन्धी सही, स्पष्ट र समयमै जानकारी उपलब्ध गराऔँ। आवश्यकताअनुसार सम्बन्धित सेवामा जोडौँ।
९. आवश्यक पर्दा विशेषज्ञ सहयोग लिन प्रोत्साहित गरौँ:
लामो समयसम्म गम्भीर डर वा दुःख रहिरहेमा, दैनिक काम गर्न कठिन भएमा, अत्यधिक निराशा देखिएमा वा आफूलाई हानि गर्ने कुरा व्यक्त गर्नुभएमा स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग जोडौँ।
१०. सहयोग गर्नेहरूको पनि ख्याल गरौँ:
विपद्मा अरूलाई सहयोग गर्ने स्वास्थ्यकर्मी, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र अन्य सहयोगीहरू पनि धेरै तनाव र थकानमा पर्न सक्नुहुन्छ। अरूको दुःख र पीडा लगातार देख्दा उहाँहरू आफैँ पनि मानसिक रूपमा प्रभावित हुन सक्नुहुन्छ। त्यसैले प्रभावित व्यक्तिहरूको मात्र होइन, सहयोग गर्नेहरूको पनि हेरचाह गर्नु आवश्यक हुन्छ।
- उहाँहरूलाई पर्याप्त आराम, खाना, पानी र सुरक्षित काम गर्ने वातावरण दिऔँ।
- एकअर्काको अवस्था बुझौँ र कस्तो महसुस भइरहेको छ भनेर सोध्ने तथा सुन्ने गरौँ।
- लगातार काम गरिरहनुभन्दा बीच–बीचमा आराम र कामको पालो परिवर्तन गर्ने व्यवस्था गरौँ।
- कामपछि आफ्नो अनुभव र भावनाबारे सुरक्षित रूपमा कुरा गर्ने अवसर दिऔँ।
- धेरै दिनसम्म अत्यधिक थकान, निद्रा नलाग्ने, डर, दुःख, चिडचिडापन वा काम गर्न कठिनाइ भएमा आवश्यक सहयोग लिन प्रोत्साहित गरौँ।
अरूलाई सम्हाल्न खटिनुभएका व्यक्तिहरूलाई पनि सम्हालिन आवश्यक हुन्छ।
टाढा छौँ, तर साथमै छौँ
रसुवाभन्दा बाहिर रहेका धेरै नेपाली तथा विदेशमा रहेका नेपालीहरू प्रत्यक्ष रूपमा घटनास्थल पुग्न नसके पनि प्रभावित परिवारसँग भावनात्मक रूपमा जोडिनुभएको छ। घटनास्थलमा पुगेर प्रत्यक्ष सहयोग गर्न नसके पनि सहयोग गर्न घटनास्थलमै पुग्नैपर्छ भन्ने छैन।
विश्वसनीय माध्यमबाट आर्थिक वा सामग्री सहयोग गर्नु, सही सूचना फैलाउनु, बालबालिकाको शिक्षा निरन्तर राख्न सहयोग गर्नु, जीविकोपार्जन पुनःस्थापनामा साथ दिनु तथा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगका लागि आवाज उठाउनु पनि महत्त्वपूर्ण योगदान हो।
हामीमध्ये कोही रसुवामै हुनुहुन्छ, कोही देशका अन्य ठाउँमा हुनुहुन्छ र कोही विदेशमा हुनुहुन्छ। भौगोलिक दूरीले हाम्रो संवेदना र जिम्मेवारीको दूरी निर्धारण गर्नु हुँदैन।
राहतबाट पुनःउत्थानतर्फ
अहिले खाना, पानी, औषधि र सुरक्षित आवास अत्यावश्यक छन्। तर राहतको चरण सकिएपछि पनि प्रभावित परिवारका आवश्यकता समाप्त हुँदैनन्। घर पुनर्निर्माण गर्नुपर्नेछ। जीविकोपार्जन पुनः सुरु गर्नुपर्नेछ। बालबालिकालाई विद्यालयमा फर्काउनुपर्नेछ। परिवारले आफ्नो क्षति र नयाँ परिस्थितिसँग समायोजन गर्नुपर्नेछ। कतिपयले विपद्को सम्झना र भविष्यको सुरक्षाबारे चिन्तासँग पनि सामना गर्नुपर्ने हुन सक्छ।
त्यसैले विपद् व्यवस्थापनलाई तत्कालीन राहतमा मात्र सीमित नगरी दीर्घकालीन पुनःस्थापनासँग जोड्न आवश्यक छ। घर, सडक, पुल र विद्यालय पुनर्निर्माण गर्नु आवश्यक छ। तर मानिसको आत्मविश्वास, सामाजिक सम्बन्ध, जीविकोपार्जन र भविष्यप्रतिको आशा पुनःस्थापित गर्नु पनि पुनर्निर्माणकै अभिन्न अंश हो।
मानसिक तथा मनोसामाजिक सहयोग, शोकमा रहनुभएका परिवारलाई साथ, बालबालिकाका लागि सुरक्षित सिकाइ र खेलको वातावरण, स्वास्थ्यकर्मी तथा समुदायका स्वयंसेवकको परिचालन, शिक्षा र जीविकोपार्जनको निरन्तरता तथा आवश्यक व्यक्तिलाई विशेषज्ञ सेवासँग जोड्ने व्यवस्था दीर्घकालीन रूपमा आवश्यक हुन्छ।
मानसिक स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय होइन; सुरक्षित घर, परिवार, शिक्षा, काम, सामाजिक सम्बन्ध र आशावादी भविष्यसँग पनि जोडिएको विषय हो।
आशा पनि राहतकै एउटा रूप हो
विपद्ले धेरै कुरा खोसेको हुन सक्छ, तर प्रभावित परिवारलाई केवल उहाँहरूले गुमाएको कुराबाट मात्र हेर्नु हुँदैन। उहाँहरूमा कठिन परिस्थितिबाट उठ्ने साहस, क्षमता, सम्बन्ध र आशा पनि छ। हाम्रो भूमिका उहाँहरूको पीडालाई नकार्नु होइन; पीडालाई सम्मान गर्दै उहाँहरूको पुनःउत्थानको क्षमतामा विश्वास गर्नु हो।
ठूलो सहयोग गर्न नसके पनि सानो सहयोगलाई सानो नठानौँ। कसैले आर्थिक सहयोग गर्न सक्नुहुन्छ, कसैले समय र ज्ञान दिन सक्नुहुन्छ, कसैले शिक्षामा साथ दिन सक्नुहुन्छ, कसैले जीविकोपार्जनमा सहयोग गर्न सक्नुहुन्छ र कसैले केवल ध्यानपूर्वक सुन्न सक्नुहुन्छ। हरेक सहयोगको आफ्नै मूल्य हुन्छ।
रसुवालाई केवल विपद्को कथा बनाएर नछोडौँ। यसलाई साहस, सहकार्य, पुनःउत्थान र आशाको कथा बनाऔँ।
सबैभन्दा महत्त्वपूर्ण कुरा
विपद्पछि सबै व्यक्तिको प्रतिक्रिया एउटै हुँदैन। कसैलाई तुरुन्तै कुरा गर्न मन लाग्न सक्छ भने कसैलाई केही समय शान्त रहन मन लाग्न सक्छ। त्यसैले सहयोग भनेको सबैलाई एउटै तरिकाले व्यवहार गर्नु होइन; प्रत्येक व्यक्तिको आवश्यकता, इच्छा र परिस्थितिलाई सम्मान गर्नु हो।
बाढीले घर र संरचना भत्काउन सक्छ, तर सामूहिक साथले मानिसलाई फेरि उभिन शक्ति दिन सक्छ। आज राहतको हात बढाऔँ, भोलि पुनःस्थापनाको हात समातौँ, र प्रभावित परिवारसँग आशाको यात्रा सँगै हिँडौँ।
पीडालाई सम्मान गरौँ। साथलाई निरन्तरता दिऔँ। आशालाई जीवित राखौँ।