कुनै पनि समाजको स्वास्थ्य प्रणाली त्यहाँका चिकित्सकहरूको ज्ञान, अनुभव र सेवाभावमा टिकेको हुन्छ। मानिस जन्मेदेखि मृत्युसम्म जीवनका अनेक मोडमा चिकित्सकको सहयोग खोज्छ। पीडामा परेका मानिसका लागि चिकित्सक केवल एक पेशाकर्मी होइनन्, आशा र विश्वासका प्रतीक पनि हुन्। त्यसैले नेपाली समाजमा एउटा भनाइ प्रचलित छ- चिकित्सक दोस्रो भगवान् हुन्। तर एउटा गम्भीर प्रश्न आज हाम्रो सामु उभिएको छ- अरूको स्वास्थ्य जोगाउने चिकित्सक आफैं कति स्वस्थ छन्? के उनीहरू शारीरिक रूपमा स्वस्थ छन्? के उनीहरू मानसिक रूपमा शान्त छन्? के उनीहरूले पर्याप्त निद्रा पाउँछन्? के उनीहरूसँग आफ्नै परिवारसँग समय बिताउने अवसर हुन्छ? वा उनीहरू निरन्तरको कार्यचाप, मानसिक तनाव, अनिद्रा, उच्च रक्तचाप, मधुमेह र बर्नआउटको सिकार बन्दै गएका छन्? यी प्रश्नहरू केवल चिकित्सकसँग सम्बन्धित छैनन्। यी प्रश्नहरूको उत्तर सम्पूर्ण समाजको स्वास्थ्यसँग जोडिएको छ। किनभने अस्वस्थ चिकित्सकबाट स्वस्थ समाजको कल्पना गर्न सकिँदैन।
बिरामी अस्पताल पुग्दा चिकित्सक मुस्कुराइदिऊन् भन्ने अपेक्षा गर्छ। चिकित्सकले आत्मविश्वासका साथ उपचार गरून् भन्ने चाहना राख्छ। तर बिरामीले विरलै सोच्छ कि त्यो चिकित्सकले अघिल्लो रात कति घण्टा सुत्न पाए? उनले समयमै खाना खाए कि खाएनन्? उनी आफैं कुनै दीर्घरोगसँग संघर्ष गरिरहेका छन् कि छैनन्? चिकित्सकको पेशा संसारकै सबैभन्दा जिम्मेवार र चुनौतीपूर्ण पेशामध्ये एक हो। एउटा सानो निर्णयले कसैको जीवन बचाउन सक्छ, त्यही निर्णयमा भएको सानो त्रुटिले ठूलो क्षति पनि हुन सक्छ। यही कारण उनीहरू निरन्तर मानसिक दबाबमा काम गर्छन्। चिकित्सकको जिम्मेवारी सीमित हुँदैन। मध्यरातको फोन, आकस्मिक शल्यक्रिया, दुर्घटनाका बिरामी, आईसीयूका गम्भीर अवस्था- यी सबै उनीहरूको दैनिक जीवनको हिस्सा हुन्। हाम्रो समाजले चिकित्सकलाई असाधारण व्यक्तिका रूपमा हेर्छ। यो सम्मानको कुरा हो। तर कहिलेकाहीँ यही अपेक्षाले उनीहरूलाई अस्वाभाविक दबाबमा पार्छ। चिकित्सक पनि थाक्छन्। उनीहरू पनि बिरामी पर्छन्। उनीहरू पनि चिन्तित हुन्छन्। उनीहरू पनि पारिवारिक समस्याबाट गुज्रन्छन्। उनीहरूलाई पनि डर लाग्छ। उनीहरूलाई पनि भावनात्मक सहाराको आवश्यकता पर्छ। तर विडम्बना के छ भने चिकित्सकहरूले आफ्ना कमजोरी वा मानसिक पीडा खुलस्त रूपमा व्यक्त गर्न सक्दैनन्। धेरैले आफू कमजोर देखिने डरले समस्या लुकाउँछन्। यही मौनता बिस्तारै मानसिक थकानमा बदलिन्छ।
विगत केही दशकमा चिकित्सा विज्ञानले अभूतपूर्व प्रगति गरेको छ। नयाँ प्रविधि, आधुनिक परीक्षण, सफल शल्यक्रिया र प्रभावकारी औषधिले लाखौँ जीवन बचाएका छन्। तर यही प्रगतिसँगै चिकित्सकको जिम्मेवारी पनि धेरै बढेको छ। आज बिरामी केवल उपचार होइन, तुरुन्त निको हुने अपेक्षा लिएर अस्पताल पुग्छ। कानुनी जोखिम बढेको छ। प्रशासनिक कागजी काम बढेको छ। डिजिटल अभिलेख राख्नुपर्ने बाध्यता थपिएको छ र बिरामीको संख्या लगातार बढिरहेको छ। यी सबैले चिकित्सकको मानसिक ऊर्जा निरन्तर खर्च गरिरहेका छन्। दक्षिण एसियाका धेरै देशमा चिकित्सकको संख्या जनसंख्याको तुलनामा अझै अपर्याप्त छ। फलस्वरूप एउटै चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने अवस्था सिर्जना हुन्छ। सरकारी अस्पतालमा बिहानदेखि बेलुकासम्म बिरामीको लाम हुन्छ। आकस्मिक कक्ष कहिल्यै खाली हुँदैन। निजी अस्पतालमा व्यावसायिक दबाब, प्रशासनिक मूल्याङ्कन र आर्थिक अपेक्षाले अर्को प्रकारको तनाव सिर्जना गर्छ। यसरी सरकारी र निजी दुवै क्षेत्रमा चिकित्सक फरक–फरक प्रकारका दबाबबीच काम गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई केवल रोग नभएको अवस्था मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण स्वस्थ अवस्था मानेको छ। यही परिभाषालाई चिकित्सकको जीवनमा लागू गर्दा अनेक प्रश्न उठ्छन्। दिनभर बिरामीको उपचार गर्ने चिकित्सक आफैं समयमै खाना खान पाउँदैनन्। उच्च रक्तचापको औषधि लेख्ने चिकित्सकले आफ्नै रक्तचाप महिनौँसम्म जाँच गर्दैनन्। मधुमेहको उपचार गर्ने चिकित्सकले आफ्नो रक्तपरीक्षण गर्न समय निकाल्न सक्दैनन्। अनिद्राको उपचार गर्ने चिकित्सक आफैं रातभर ड्युटीमा हुन्छन्। तनाव कम गर्न सुझाव दिने चिकित्सक आफैं दीर्घकालीन मानसिक दबाबमा बाँचिरहेका हुन्छन्। यो विरोधाभास केवल व्यक्तिगत कमजोरी होइन, हाम्रो स्वास्थ्य प्रणालीको संरचनागत समस्या पनि हो। चिकित्सकको पेशा केवल एउटा जागिर होइन, निरन्तर जिम्मेवारी र संवेदनशील निर्णयको यात्रा हो। हरेक दिन उनीहरूले बिरामीको पीडा, परिवारको चिन्ता, आकस्मिक अवस्था र मृत्युको सम्भावनासँग सामना गर्नुपर्छ। बाहिरबाट हेर्दा सेतो एप्रोन, स्टेथोस्कोप र सम्मानले भरिएको यो पेशा आकर्षक देखिए पनि यसको भित्री संसार निकै चुनौतीपूर्ण छ।
चिकित्सा क्षेत्रमा धेरै चर्चा भएको विषय हो- बर्नआउट। विश्व स्वास्थ्य संगठनले बर्नआउटलाई कार्यस्थलसँग सम्बन्धित दीर्घकालीन तनावको परिणामका रूपमा व्याख्या गरेको छ। यसका प्रमुख लक्षणहरू- निरन्तर शारीरिक र मानसिक थकान, कामप्रति उत्साह हराउँदै जानु, बिरामीप्रति संवेदनशीलता घट्दै जानु, र आफूले गरिरहेको कामको अर्थ हराएको अनुभूति हुनु हो। चिकित्सकमा बर्नआउटको समस्या धेरै देखिएको छ। दिनभर सयौँ बिरामीको उपचार, आकस्मिक शल्यक्रिया, मृत्युको सामना, कानुनी जोखिम र प्रशासनिक जिम्मेवारीले उनीहरूको मानसिक ऊर्जा क्रमशः क्षय हुँदै जान्छ। यो निरन्तरको कार्यदबाबले उत्पन्न हुने व्यावसायिक स्वास्थ्य समस्या हो।
चिकित्सकहरूको सबैभन्दा ठूलो समस्यामध्ये एक हो- अपर्याप्त निद्रा। सरकारी अस्पतालका रेसिडेन्ट चिकित्सकले कहिलेकाहीँ चौबीस देखि छत्तीस घण्टासम्म लगातार काम गर्नुपर्ने अवस्था आउँछ। आपत्कालीन सेवा, आईसीयू, प्रसूति सेवा वा शल्यचिकित्सामा कार्यरत चिकित्सकहरूको नियमित निद्राको समय प्रायः अव्यवस्थित हुन्छ। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि लगातार निद्रा नपुग्दा- निर्णय गर्ने क्षमता घट्छ, स्मरणशक्ति कमजोर हुन्छ, एकाग्रता कम हुन्छ, मुटुरोगको जोखिम बढ्छ, मधुमेहको सम्भावना बढ्छ, र मानसिक तनाव एवं अवसाद बढ्न सक्छ। विडम्बना के छ भने निद्राको महत्त्वबारे बिरामीलाई सम्झाउने चिकित्सक स्वयं पर्याप्त निद्रा लिन सक्दैनन्।
हामी प्रायः मुटुरोगलाई धूम्रपान, मोटोपन वा अस्वस्थ खानपानसँग मात्र जोडेर हेर्छौं। तर दीर्घकालीन मानसिक तनाव पनि मुटुरोगको एउटा महत्त्वपूर्ण जोखिम कारक हो। भारतमा गरिएको एउटा स्वास्थ्य परीक्षणमा चिकित्सकहरूको सिटी कोरोनरी क्याल्सियम स्कोर जाँच गर्दा उल्लेख्य संख्यामा उनीहरूमा भविष्यमा हृदयाघातको जोखिम बढेको संकेत देखिएको थियो। यस्ता अध्ययनहरूले चिकित्सकहरू पनि जीवनशैलीजन्य रोगबाट सुरक्षित छैनन् भन्ने स्पष्ट पार्छन्। उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, अनियमित भोजन, शारीरिक निष्क्रियता, तनाव र निद्राको कमी- यी सबै मिलेर उच्च रक्तचाप र मधुमेहको जोखिम बढाउँछन्। यसका कारणहरू धेरै छन्- समयमै खाना खान नपाउनु, अत्यधिक चिया, कफी वा जंक फुडमा निर्भर हुनु, व्यायामका लागि समय नहुनु, निरन्तर मानसिक तनाव र नियमित स्वास्थ्य परीक्षण नगर्नु। अरूलाई नियमित जाँच गराउन सल्लाह दिने चिकित्सक स्वयं आफ्नै परीक्षण पछि सारिरहन्छन्। यसलाई आफ्नै स्वास्थ्यप्रतिको उपेक्षा भन्न सकिन्छ।
शारीरिक रोगभन्दा पनि मानसिक स्वास्थ्यको समस्या चिकित्सकहरूमा धेरै पटक लुकेको हुन्छ। उनीहरूबाट समाजले सधैं आत्मविश्वासी, संयमित र समाधान दिने व्यक्तित्वको अपेक्षा गर्छ। त्यसैले धेरै चिकित्सकले आफ्नो चिन्ता, अवसाद वा भावनात्मक थकान व्यक्त गर्न हिच्किचाउँछन्। कहिलेकाहीँ उनीहरूलाई यस्तो लाग्न सक्छ- म नै कमजोर देखिएँ भने बिरामीले के सोच्लान्? सहकर्मीले मेरो क्षमतामाथि प्रश्न गर्लान्। मलाई पनि उपचार चाहिन्छ भन्ने कुरा कसरी स्वीकार गर्ने? यही मौनताले मानसिक स्वास्थ्यलाई झन् जटिल बनाउँछ। हरेक दिन चिकित्सकले बिरामीको मात्र होइन, उनका परिवारको चिन्ता, आक्रोश र अपेक्षालाई पनि सामना गर्नुपर्छ। कुनै बिरामी बचाउन नसक्दा चिकित्सक स्वयं पनि भावनात्मक रूपमा प्रभावित हुन्छन्। तर अर्को बिरामी प्रतीक्षामा हुन्छ। आँसु पुछ्ने समय पनि हुँदैन। यस्तो निरन्तर भावनात्मक दबाबलाई मनोविज्ञानमा करुणाको थकान भनिन्छ। यसले चिकित्सकको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ।
नेपाल, भारत लगायत धेरै देशमा चिकित्सकमाथि हुने दुर्व्यवहार र हिंसाका घटनाहरू बढेका छन्। बिरामीको मृत्यु वा जटिलतापछि आक्रोशित समूहले अस्पताल तोडफोड गर्ने, चिकित्सकमाथि हातपात गर्ने वा धम्की दिने घटनाहरू सार्वजनिक भइरहेका छन्। यस्ता घटनाले चिकित्सकमा डर, असुरक्षा र निराशा बढाउँछन्। परिणामस्वरूप उनीहरूले थप रक्षात्मक चिकित्सा अभ्यास गर्न सक्छन्, जसले स्वास्थ्य सेवाको गुणस्तरमा पनि असर पार्न सक्छ। सरकारी अस्पतालमा बिरामीको अत्यधिक भीड, सीमित जनशक्ति र स्रोतसाधनको अभाव ठूलो चुनौती हो। निजी अस्पतालमा भने सेवा गुणस्तर, प्रशासनिक मूल्याङ्कन, आर्थिक व्यवस्थापन र बिरामीको अपेक्षाले फरक प्रकारको दबाब सिर्जना गर्छ। यी दुवै प्रणालीमा कार्यरत चिकित्सकहरू आफ्नो-आफ्नो प्रकारको तनाव बोकेर काम गरिरहेका छन्।
धेरै चिकित्सकले आफ्नै स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्दैनन्। वार्षिक रूपमा गरिनुपर्ने सामान्य परीक्षणहरू- रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मिर्गौला र कलेजोको कार्य, तथा मानसिक स्वास्थ्य मूल्याङ्कन। यी सबै आफूले पनि नियमित रूपमा गराउनु आवश्यक छ। चिकित्सकको स्वास्थ्य केवल व्यक्तिगत विषय होइन, यो बिरामीको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय हो। शारीरिक रूपमा अत्यधिक थकित, निद्रा नपुगेका वा मानसिक रूपमा तनावग्रस्त चिकित्सकले काम गर्दा त्रुटिको जोखिम बढ्न सक्छ। त्यसैले चिकित्सकलाई विश्राम दिनु, पर्याप्त जनशक्ति उपलब्ध गराउनु, सुरक्षित कार्यस्थल बनाउनु र मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनु केवल चिकित्सकको हितका लागि होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीको गुणस्तर सुधारका लागि पनि आवश्यक छ। हामीले चिकित्सकलाई सेवा गर्ने मानिस मात्र होइन, हेरचाह आवश्यक पर्ने मानिसका रूपमा पनि हेर्न सिक्नुपर्छ। किनभने उनीहरू पनि हाम्रो जस्तै शरीर, भावना, परिवार र सीमित ऊर्जा भएका मानिस हुन्। यही बुझाइबाट मात्र एउटा दिगो, मानवीय र गुणस्तरीय स्वास्थ्य प्रणाली निर्माण हुन सक्छ।
समस्याको पहिचान गर्नु समाधानको पहिलो चरण हो। चिकित्सकहरूको स्वास्थ्य संकटलाई स्वीकार गर्नु पनि त्यत्तिकै आवश्यक छ। अब यस्तो स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक छ, जहाँ बिरामीसँगै चिकित्सकको स्वास्थ्य र सम्मानलाई पनि समान प्राथमिकता दिइयोस्। आजको चिकित्सा विज्ञानले रोगको उपचारमा अभूतपूर्व प्रगति गरेको छ। तर आधुनिक स्वास्थ्य प्रणालीको अर्को महत्त्वपूर्ण प्रश्न छ- उपचार गर्ने व्यक्तिको स्वास्थ्यको जिम्मेवारी कसले लिने? यदि चिकित्सक नै शारीरिक र मानसिक रूपमा थकित, तनावग्रस्त र अस्वस्थ भए भने त्यसको असर अन्ततः बिरामीको उपचारमा पनि पर्न सक्छ। त्यसैले चिकित्सकको स्वास्थ्य व्यक्तिगत विषय मात्र होइन, यो सार्वजनिक स्वास्थ्यको विषय हो।
धेरै चिकित्सकले आफ्ना बिरामीलाई पहिलो प्राथमिकता दिन्छन्। सेवाभाव चिकित्सकीय पेशाको आत्मा हो। तर सेवा र आत्मत्यागबीच सन्तुलन हुनुपर्छ। आफ्नो स्वास्थ्यको हेरचाह गर्नु स्वार्थ होइन, बरु व्यावसायिक जिम्मेवारी हो। आफू सुरक्षित भए मात्र अरूलाई सुरक्षित राख्न सकिन्छ। धेरै चिकित्सकले आफ्ना बिरामीलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्छन्, तर आफ्नै परीक्षण वर्षौंसम्म गराउँदैनन्। आधुनिक अनुसन्धानले सात देखि आठ घण्टाको गुणस्तरीय निद्राले- मस्तिष्कलाई पुनः सक्रिय बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ, स्मरणशक्ति र निर्णय क्षमता सुधार गर्छ, र मानसिक स्वास्थ्यलाई मजबुत बनाउँछ। अस्पताल व्यवस्थापनले पनि चिकित्सकलाई अत्यधिक लामो ड्युटीबाट जोगाउने कार्यतालिका बनाउनुपर्छ। निरन्तर थकित चिकित्सकबाट उत्कृष्ट सेवा अपेक्षा गर्नु न्यायोचित हुँदैन।
व्यस्तताका कारण धेरै चिकित्सकको खाना अनियमित हुन्छ। चिया, कफी, बिस्कुट वा छिटो पाइने प्रशोधित खानेकुराले वास्तविक भोजनको स्थान लिन्छ। तर स्वास्थ्यका आधारभूत सिद्धान्त सबैका लागि समान छन्। ताजा र सन्तुलित आहार, प्रशस्त तरकारी र फलफूल, सम्पूर्ण अन्न, पर्याप्त पानी, तथा अत्यधिक चिनी, नुन र प्रशोधित खाद्यपदार्थको नियन्त्रण- यी सामान्य कुरा भए पनि दीर्घकालीन स्वास्थ्यका लागि अत्यन्त प्रभावकारी छन्। धेरै चिकित्सकको एउटै उत्तर हुन्छ- 'समय छैन।' तर दिनको तीस मिनेट हिँड्नु, योग गर्नु, साइकल चलाउनु वा हल्का व्यायाम गर्नु पनि पर्याप्त सुरुआत हुन सक्छ। व्यायामले- तनाव कम गर्छ, रक्तचाप नियन्त्रणमा सहयोग गर्छ, मधुमेहको जोखिम घटाउँछ, निद्रा सुधार गर्छ, र मानसिक स्फूर्ति बढाउँछ। स्वास्थ्यका बारेमा सबैभन्दा बढी ज्ञान भएका व्यक्तिले आफ्नै जीवनमा पनि यसको अभ्यास गर्न सके भने त्यो बिरामीका लागि सबैभन्दा प्रभावकारी प्रेरणा बन्न सक्छ।
चिकित्सक पनि भावनात्मक रूपमा थाकन् सक्छन्। उनीहरूलाई पनि कहिलेकाहीँ मनोवैज्ञानिक सहयोग आवश्यक पर्न सक्छ। त्यसैले अस्पताल र स्वास्थ्य संस्थाहरूले गोपनीय परामर्श सेवा, तनाव व्यवस्थापन कार्यक्रम, सहकर्मी सहयोग र मानसिक स्वास्थ्य सेवाको व्यवस्था गर्नु आवश्यक छ। मनोवैज्ञानिक वा मनोचिकित्सकसँग परामर्श लिनु कमजोरी होइन। जस्तै मधुमेह वा उच्च रक्तचापको उपचार गराउनु सामान्य कुरा हो, त्यसैगरी मानसिक स्वास्थ्यको उपचार पनि सामान्य स्वास्थ्य सेवाकै एउटा हिस्सा हो।
चिकित्सकको स्वास्थ्य केवल व्यक्तिगत प्रयासले मात्र सुधारिँदैन। स्वास्थ्य प्रणालीमा पनि परिवर्तन आवश्यक छ। नीतिनिर्माता, अस्पताल प्रशासन, व्यावसायिक परिषद् र सरकार सबैको साझा जिम्मेवारी हुन्छ। विशेष ध्यान दिनुपर्ने विषयहरू- सुरक्षित कार्यस्थल, पर्याप्त जनशक्ति, यथोचित कार्यघण्टा, पर्याप्त विश्राम, चिकित्सकमाथिको हिंसाविरुद्ध कडा कानुनी संरक्षण, नियमित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सहायता, र व्यावसायिक सम्मानको वातावरण। स्वस्थ कार्यपरिस्थितिले मात्र दीर्घकालीन रूपमा गुणस्तरीय स्वास्थ्य सेवा सम्भव बनाउँछ।
बिरामी वा बिरामीका आफन्तका रूपमा अस्पताल पुग्दा हामी चिकित्सकबाट तुरुन्त समाधानको अपेक्षा गर्छौं। तर चिकित्सक चमत्कार गर्ने व्यक्ति होइनन्। उनीहरू विज्ञान, अनुभव र उपलब्ध स्रोतका आधारमा उत्कृष्ट प्रयास गर्ने पेशेवर हुन्। उनीहरूसँग सम्मानजनक व्यवहार गर्नु, अनावश्यक आक्रोश नदेखाउनु, उपचार प्रक्रियालाई बुझ्ने प्रयास गर्नु र सहयोगी वातावरण बनाउनु पनि हाम्रो सामाजिक जिम्मेवारी हो। सम्मान र विश्वासले चिकित्सक र बिरामीबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ।
चिकित्सक समाजका अमूल्य सम्पत्ति हुन्। उनीहरूको ज्ञान, अनुभव र समर्पणले असंख्य जीवन बचाएका छन्। तर उनीहरू पनि रगत–मासुका मानिस हुन्- थाक्ने, बिरामी पर्ने, चिन्ता गर्ने र भावनात्मक रूपमा कमजोर हुन सक्ने। त्यसैले अब समय आएको छ कि हामी स्वास्थ्य सेवाको परिभाषा विस्तार गरौँ। स्वास्थ्य सेवा भनेको बिरामीको उपचार मात्र होइन, उपचार गर्ने व्यक्तिको स्वास्थ्यको संरक्षण पनि हो। यस्तो संस्कृति निर्माण गर्नुपर्छ जहाँ चिकित्सकले आफ्नै स्वास्थ्यको ख्याल राख्न लाज नमानेको होस्, मानसिक तनावबारे खुलेर कुरा गर्न सकेको होस्, नियमित स्वास्थ्य परीक्षण गराउन सकेको होस् र परिवारसँग समय बिताउन सकेको होस्।
किनभने- थाकेको चिकित्सकले सेवा गर्न सक्छ, तर दीर्घकालसम्म उत्कृष्ट सेवा दिन सक्दैन। स्वस्थ चिकित्सकले मात्र बिरामीको सही उपचार गर्न सक्छ र स्वस्थ चिकित्सकहरूको उपस्थितिले मात्र स्वस्थ समाज निर्माण सम्भव हुन्छ। चिकित्सकहरूको स्वास्थ्य नै सम्पूर्ण समाजको स्वास्थ्यको आधार हो। अस्तु।
-(डा. ललित कुमार मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।)