त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेटअगाडि एक नेपाली नागरिकले आफ्नै जीवन अन्त्य गर्ने प्रयास गरे। उपचारका लागि अस्पताल पुर्याइए पनि भोलिपल्ट उनले जीवनसँगको अन्तिम लडाइँ हारेर संसारबाट बिदा लिए।
यो खबर फैलिन धेरै समय लागेन। सामाजिक सञ्जाल तातियो। धेरैले दुःख व्यक्त गरे, तर धेरै प्रतिक्रियाहरूमा यस्ता प्रश्नहरू पनि देखिए—
‘जाबो हजार–दस हजार रुपैयाँको जरिवानाका लागि पनि मान्छेले यस्तो गर्छ ?’
‘नियम भनेको नियम हो। जरिवाना तिरेको भए भइहाल्थ्यो नि !’
‘यति सानो कुरामा पनि कसैले यस्तो गर्छ त ?’
‘कतै यो व्यक्ति मानसिक रोगी त थिएनन् ?’
तर के हामीले सोधिरहेका प्रश्नहरू नै गलत छैनन् र ?
सायद सही प्रश्न यस्तो हुन सक्थ्यो- के यो साँच्चिकै एउटा सानो कुरा मात्र थियो ?
एउटा पुरानो उखान छ- ‘त्यो अन्तिम पराल, जसले ऊँटको ढाड भाँच्यो।’
कल्पना गर्नुस्, एउटा ऊँट मरुभूमिमा भारी बोकेर हिँडिरहेको छ। एकपछि अर्को गर्दै त्यसको पिठ्युँमा पराल थपिँदै जान्छ। उसले पहिलो, दोस्रो, तेस्रो र चौथो भार सहजै सहन्छ। तर अन्त्यमा थपिएको एउटा सानो परालले उसको ढाड भाँचिदिन्छ।
वास्तवमा ऊँटको ढाड त्यो अन्तिम परालले मात्र भाँचिएको हुँदैन। त्यो त लामो समयदेखि थुप्रिँदै गएको भारको परिणाम हुन्छ।
मानिसको मन पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। सम्भवतः स्वर्गीय गणेश नेपालीको जीवनमा पनि त्यस्तै केही भएको हुन सक्छ। तर किन हाम्रो समाजले त्यो सम्भावनालाई बुझ्ने प्रयास गरेन ?
के ‘चार जात, छत्तीस वर्णको साझा फूलबारी’ भन्ने हाम्रो पहिचान आज पनि जीवित छ ?
आर्थिक भार, ऋण, पारिवारिक जिम्मेवारी, बेरोजगारी, भविष्यप्रतिको निराशा, प्रशासनिक जटिलता, सामाजिक विभेद, तिरस्कार, अपमानको अनुभूति तथा अवसरबाट वञ्चित भएको अनुभव, यी सबै अदृश्य भार हुन सक्छन्। समाजले सानो ठान्ने कुनै एउटा घटना कहिलेकाहीँ त्यही अन्तिम पराल बन्न पुग्छ।
यसको अर्थ नियम आवश्यक छैनन् भन्ने होइन।
नियम आवश्यक छन्। जरिवाना पनि आवश्यक हुन सक्छ। राज्य नियमबिना चल्न सक्दैन।
तर कुनै समाजको सभ्यता केवल नियम कार्यान्वयनको कठोरताले मात्र मापन हुँदैन। त्यसको मापन पीडितप्रतिको सहानुभूति, करुणा र मानवीय संवेदनशीलताले पनि हुन्छ।
कुनै व्यक्ति जीवन र मृत्युको सङ्घर्षमा छ भने हाम्रो पहिलो चिन्ता उपचार, उद्धार र सहयोगबारे हुनुपर्छ, दोषारोपणबारे होइन। भुइँमा ढलेको मानिसलाई हेरेर ‘उनले नियम किन तोडे ?’ भन्नुभन्दा पहिले ‘उनी यति निराश र पीडित किन भए कि यस्तो अवस्थासम्म पुगे ?’ भन्ने प्रश्न उठ्नुपर्छ।
आधुनिक आत्महत्या सम्बन्धी सिद्धान्तहरूले पनि यही कुरा सम्झाउँछन्।
विश्वप्रसिद्ध अमेरिकी मनोवैज्ञानिक थोमस जोइनरको इन्टरपर्सनल थ्यौरी अफ सुसाइड (Interpersonal Theory of Suicide) अनुसार आत्मघाती व्यवहारको जोखिम तब बढ्न सक्छ, जब व्यक्तिले आफू अरूका लागि बोझ भएको अनुभव गर्छ (perceived burdensomeness) र आफू समाज तथा सम्बन्धहरूबाट अलग भएको महसुस गर्छ (thwarted belongingness)।
त्यसैगरी समाजशास्त्री एमिल डुर्खाइमले एक शताब्दीअघि नै आत्महत्या केवल व्यक्तिगत वा मानसिक घटना मात्र नभई सामाजिक संरचना, सामाजिक सम्बन्ध र व्यक्तिको सामाजिक अवस्थासँग पनि गहिरो रूपमा सम्बन्धित हुने बताएका थिए।
यी सिद्धान्तहरूले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्, आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट विकसित हुने अवस्था हो।
त्यसैले आत्मघाती व्यवहार गर्ने व्यक्तिलाई ‘कमजोर मानसिकता भएको’, ‘हिम्मत नभएको’ वा ‘सानो कुरामा ठूलो प्रतिक्रिया दिएको’ भनेर व्याख्या गर्नु वैज्ञानिक दृष्टिले पनि गलत हुन्छ र मानवीय दृष्टिले पनि अपूर्ण हुन्छ।
यति मात्र होइन, आत्मघाती व्यवहार भएका सबै व्यक्तिहरूमा अनिवार्य रूपमा मानसिक रोग नै हुन्छ भन्ने पनि होइन। मानसिक रोग जोखिम कारक हुन सक्छ, तर प्रत्येक घटना त्यसकै प्रत्यक्ष परिणाम हुन्छ भन्ने निष्कर्ष वैज्ञानिक रूपमा उचित हुँदैन।
मृतक गणेश नेपालीको सन्दर्भमा पनि हामीले कुनै मानसिक रोगको अनुमान वा निष्कर्ष निकाल्नुभन्दा पहिले उनले जीवनमा भोगेका आर्थिक कठिनाइ, मनोसामाजिक तनाव, अपमानको अनुभूति, सामाजिक एक्लोपन वा निराशाजस्ता सम्भावित कारणहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ।
त्यसैले कसैले यति पीडादायी रूपमा आफ्नो जीवन गुमाएको अवस्थामा उसको पीडालाई नबुझी त्यसलाई केवल मानसिक रोग वा व्यक्तिगत कमजोरीका रूपमा व्याख्या गर्नु उचित हुँदैन। आवश्यक कुरा भनेको उसको भोगाइ, संघर्ष र पीडालाई बुझ्ने इमानदार प्रयास गर्नु हो।
के हामी नियम मान्ने समाजमा रूपान्तरण हुँदै जाँदा मानवता बिर्सिरहेको समाज त बनिरहेका छैनौँ ?
हो, कानुनले व्यवस्था दिन्छ।
तर करुणाले समाजलाई सभ्य बनाउँछ।
यदि एउटा मानिसको मृत्युको समाचार सुन्नासाथ हाम्रो पहिलो प्रतिक्रिया ‘उसले गल्ती गर्यो’ भन्ने मात्र हुन्छ भने, सम्भवतः हामीले नियमको रक्षा गरेका छौँ, तर केही मानवता भने गुमाइरहेका छौँ।
अन्ततः प्रश्न नियम सही थिए कि थिएनन् भन्ने मात्र होइन।
प्रश्न यो हो:
एउटा मानिसलाई कुन पीडा, कुन निराशा र कुन अदृश्य भारले यस्तो अवस्थासम्म पुर्यायो कि जीवनभन्दा पीडा ठूलो जस्तो महसुस भयो ?
(लेखक डा. कुशल खरेल काठमाडौंमा कार्यरत एक मनोचिकित्सक हुन्। उनको विशेष रुचि आत्महत्या रोकथाम, सामुदायिक मानसिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक अभियानमा रहेको छ।)