नेपालमा पछिल्लो समय आत्मदाहका घटनाहरू दिनानुदिन सुनिँदै आइएका छन्। धेरैले यसलाई सरकारलाई बदनाम गराउने अस्त्रका रूपमा व्याख्या गरिरहेका छन् भने कतिपय स्थापित क्षेत्रबाटै यसलाई सरकारको असफलता चित्रण गर्ने प्रयास भइरहेको छ। गणेश नेपाली लगायतका व्यक्तिहरूले यसरी देहत्याग गर्नु आफैँमा अत्यन्तै दुःखद विषय हो।
प्रतिपक्ष वा आलोचकहरूले भनेजस्तै सरकार स्टन्ट देखाउनमै व्यस्त रहेको र अपरिपक्व कार्यशैलीका कारण जनतामा निराशा बढेर आत्मदाह बढेको भन्नु मात्र पर्याप्त हुँदैन। राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर यसको वास्तविक कारण के हो र यस्ता अप्रिय कार्यहरूलाई निरुत्साहित गर्न के गर्ने भन्नेबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। कतै यसका पछाडि मानसिक स्वास्थ्य नै मुख्य कारक त होइन? सामान्य अवस्थामा मानिसले आफ्नो अमूल्य जीवन कसरी त्याग्न सक्छ? संसारमा मानिसलाई आफूभन्दा बढी माया अरू कसैको लाग्दैन। त्यसैले, अहिलेको समयमा आत्महत्या वा आत्मदाहका घटनालाई सनसनीपूर्ण 'समाचार' बनाउने होडबाजीभन्दा पनि मानसिक स्वास्थ्यबारे जनचेतना जगाउनु आजको मुख्य आवश्यकता हो।
धार्मिक आचरण, संस्कार र परम्परा हाम्रा मौलिक पहिचान र जीवन पद्धतिका आधारस्तम्भ हुन्। धर्म, संस्कार र संस्कृतिले मानिसलाई सधैँ जीवन जिउने प्रेरणा र ऊर्जा प्रदान गर्छ। तर, पछिल्लो समय यसमा ठूलो ह्रास आएको देखिन्छ। समाजका अभिन्न अङ्ग मानिने मिडिया, नागरिक समाज तथा धार्मिक संघ-संस्थाहरूले मानिसमा जीवनप्रति ऊर्जा, आशा र प्रेरणा जगाउने खालका गतिविधि किन सञ्चालन गरिरहेका छैनन्? अरू कसैले चरम निराशामा पुगेर आत्मदाह गर्ने अनि हामी चाहिँ त्यसलाई सरकारतिर मात्र औँला तेर्स्याएर रमिते बनिरहने छुट पाउन सक्छौँ र?
मानसिक स्वास्थ्य भन्नाले मानिसको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक रूपमा स्वस्थ रहने अवस्थालाई बुझाउँछ। मानसिक रूपमा स्वस्थ व्यक्तिले तनाव व्यवस्थापन गर्न, सही निर्णय लिन र जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवनका असहजताहरूलाई सामना गर्दै अघि बढ्न सक्छ। त्यस्ता व्यक्तिले जीवन त्याग्ने सोच राख्दैनन्, बरु सङ्घर्षलाई जीवनको अभिन्न पाटो मानेर अनेकौँ हन्डर र ठक्करहरूलाई चिर्दै अगाडि बढ्छन्। जीवनमा अनगिन्ती समस्याहरू आउँछन्। आफूले सोचेजस्तो वा खोजेजस्तो सधैँ हुँदैन। कहिलेकाहीँ व्यक्ति, समाज वा कार्यस्थलले पनि तनावपूर्ण अवस्था सिर्जना गरिदिन सक्छन्, तर मानसिक रूपमा बलियो मानिसले यी सबै परिस्थितिमा धैर्य, सहनशीलता र दृढताका साथ सामना गर्छ।
आजको व्यस्त जीवनशैली, बेरोजगारी, गरिबी, पारिवारिक तनाव, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अप्राकृतिक अपेक्षाहरू र सङ्गतका कारण मानसिक स्वास्थ्य विश्वव्यापी चुनौती बनेको छ। यस्तो गम्भीर परिस्थितिको संवेदनशीलतालाई आकलन गरेर सचेतना बढाउनुको सट्टा मिडिया र सामाजिक सञ्जालहरूमा 'टिआरपी' बढाउने र थप निराशा फैलाउने गरी सामग्रीहरू सम्प्रेषण गर्नु कतिसम्म शोभनीय कार्य हो?
तथ्यांकले के भन्छ?
नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२ अनुसार नेपालमा करिब १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्याको अनुभव गरेका छन् भने ४.३ प्रतिशतमा मानसिक विकार देखिएको छ।
सन् २०२५ को प्रतिवेदन अनुसार नेपालमा आत्महत्याको औसत दर प्रति १ लाख जनसङ्ख्यामा १४.८ पुगेको देखिएको छ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभर १ अर्बभन्दा बढी मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्यासँग बाँचिरहेका छन्, जसमा चिन्ता (एन्जाइटी) र डिप्रेसन सबैभन्दा बढी छ। नेपालमा गरिएका अन्य अध्ययन अनुसार चिन्ताको दर २२.७ प्रतिशत र डिप्रेसनको दर ११.७ प्रतिशत रहेको देखाएको छ।
यी तथ्यांकहरूले हामी समयमै गम्भीर नहुने हो, नियमन नगर्ने हो, र समाजमा अराजकता मात्र बढ्न दिने हो भने अवस्था अझ भयावह हुने स्पष्ट सङ्केत गर्छन्। युवापिँढीमा विलासिता मात्र हाबी हुने, सामाजिक सञ्जालमा लिप्त रहने, तर जीवनप्रतिको स्नेह र धर्म-संस्कारप्रतिको झुकाव घट्दै जाने हो भने भोलिको समाजले विकराल रूप लिने निश्चित छ।
राति अबेर १–२ बजेसम्म सुत्ने र दिनभर मोबाइल गेम वा च्याटमा व्यस्त रहने युवाहरूको सङ्ख्या उल्लेख्य छ। अभिभावकको अत्यधिक लाडप्यारमा हुर्किएका, जीवनमा कहिल्यै दुःख वा असफलता नभोगेका, र नैतिक वा धार्मिक मूल्य-मान्यताबाट टाढा रहेका कतिपय युवाहरूमा तुरुन्तै परिणाम चाहिने, छिट्टै हरेस खाने र असमयमै जीवनको अन्त्य गर्नेसम्मको आत्मघाती सोच पलाएको देखिन्छ।
चाहेको प्रेम नपाउँदा उत्पन्न हुने शङ्का-उपशङ्का, शारीरिक व्यायामको अभाव, छिट्टै धनी बन्ने तीव्र चाहना, सानातिना कुरामा पनि निराश हुने प्रवृत्ति, आलोचना सहन नसक्ने र केवल सुख-विलासिता मात्र खोज्ने आजको पुस्तालाई जीवनको अर्को पाटो (सङ्घर्ष र वास्तविकता) बुझाउने जिम्मेवारी परिवार, समाज, विद्यालय र सञ्चारमाध्यम सबैको हो। नेपालका युवा, विपन्न समुदाय र स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरूमा समेत मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको देखिन्छ। व्यस्त दैनिकी, प्रविधिको दुरुपयोग, लागुऔषधको लत, देखासिकी र विलासी जीवनशैलीको चाहना पूरा नहुँदा उत्पन्न हुने चिन्ताले मानिसलाई क्रमिक रूपमा डिप्रेसनतर्फ धकेलिरहेको छ।
धर्मले मानिसलाई जीवन जिउने कला सिकाउँछ। मन्दिर वा आध्यात्मिक स्थलहरूले शान्तिको मार्ग देखाउँदै संसारका भौतिक चिजहरू नश्वर छन् भन्ने बोध गराउँछन्। शान्ति र सन्तुलन खोज्ने बुद्धको मार्ग आज हामी नेपालीहरूका लागि अत्यावश्यक भएको छ। जीवनमा वितृष्णा कहाँ छैन र? विश्वका अत्यन्तै विकसित र समृद्ध मुलुकहरूमा समेत आत्महत्याको दर उच्च छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या हुनु अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो।
त्यसैले, सञ्चारगृहहरूको काम पनि केवल घटनाको सनसनीपूर्ण प्रचार गर्ने वा सरकार र अन्य पक्षलाई मात्र दोषारोपण गर्ने हुनुहुँदैन। सञ्चारमाध्यमले समाजमा आशा र चेतनाको सञ्चार गर्नुपर्छ। हामी सबै आ-आफ्नो क्षेत्रबाट सचेत बनौँ। आफ्ना सन्तानलाई संयम, धैर्य र शान्तिको बाटो देखाउने पहिलो कर्तव्य अभिभावकको हो। धार्मिक आचरण र आध्यात्मिक जागरणले मानिसलाई योग, ध्यान र आत्मचिन्तनतर्फ प्रेरित गर्छ।
जीवनलाई शान्त बनाउने, तनाव व्यवस्थापन गर्ने र कठिन परिस्थितिबाट बाहिर निस्कने उपायहरूबारे जनस्तरमा सचेतना जगाउनु आजको टड्कारो आवश्यकता हो। अन्यथा, भविष्यमा आत्मदाह र आत्महत्याका अझ काहालीलाग्दो दृश्यहरू हाम्रासामु आउनेछन्, जसको कल्पना मात्र पनि हृदयविदारक छ। सबैले आ-आफ्नो तहबाट सचेतना बढाउने कार्य गरौँ। रिस, प्रतिशोध वा बदनामीको अस्त्रका रूपमा आत्मदाह गर्ने/गराउने परिस्थिति कहिल्यै सिर्जना हुनुहुँदैन र हुनुहुँदैन।