नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ अस्पताल, अत्याधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र डिजिटल स्वास्थ्य प्रणालीबारे चर्चा दिनानुदिन बढिरहेको छ। तर एउटा यस्तो आधारभूत पक्ष छ, जसको कमजोरीले यी सबै प्रयासको प्रभावकारितालाई कमजोर बनाउन सक्छ स्वास्थ्य अभिलेख व्यवस्थापन (हेल्थ इन्फर्मेसन म्यानेजमेन्ट - एचआईएम) । बिरामीको सम्पूर्ण उपचार इतिहास, अस्पतालको सेवा प्रवाह, स्वास्थ्य तथ्याङ्कको विश्वसनीयता र राष्ट्रिय स्वास्थ्य नीतिको आधार यही प्रणालीमा निर्भर हुन्छ। तर विडम्बना, नेपालको स्वास्थ्य प्रणालीमा मेडिकल रेकर्ड शाखा र मेडिकल रेकर्ड सेवालाई अझै पनि आवश्यक प्राथमिकता दिइएको छैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्य सूचना प्रणालीलाई प्रभावकारी स्वास्थ्य प्रणालीका छ आधारस्तम्भमध्ये एक मानेको छ। विकसित स्वास्थ्य प्रणाली भएका अधिकांश देशहरूमा हेल्थ इन्फर्मेनस म्यानेजमेन्ट एउटा स्थापित व्यावसायिक सेवा हो, जहाँ प्रशिक्षित एचआईएम विशेषज्ञहरूले स्वास्थ्य अभिलेख, रोग वर्गीकरण, सूचना सुरक्षा, डेटा गुणस्तर तथा इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको व्यवस्थापन गर्छन् । विश्वसनीय स्वास्थ्य सूचना प्रणालीबिना रोगको वास्तविक अवस्था पहिचान गर्न, स्वास्थ्य सेवाको गुणस्तर मूल्याङ्कन गर्न, स्रोत–साधनको उचित वितरण गर्न वा प्रमाणमा आधारित नीति बनाउन सम्भव हुँदैन । स्वास्थ्य अभिलेख केवल प्रशासनिक कागजात होइन; यो बिरामीको जीवनसँग जोडिएको चिकित्सकीय दस्तावेज हो।
नेपालका सरकारी, निजी र सामुदायिक अस्पतालहरूमा भएका विभिन्न अध्ययनहरूले स्वास्थ्य अभिलेख व्यवस्थापनमा गम्भीर कमजोरीहरू देखाएका छन्। प्रशिक्षित मेडिकल रेकर्ड जनशक्तिको अभाव, अपर्याप्त पूर्वाधार, कागजी अभिलेखमा अत्यधिक निर्भरता, सीमित बजेट, रिक्त मेडिकल रेकर्ड पद तथा स्पष्ट संस्थागत नीति नहुनु आज पनि साझा समस्या हुन् । धेरै सरकारी अस्पतालमा मेडिकल रेकर्ड को न्यून स्वीकृत दरबन्दी तथा केही अस्पतालमा स्वीकृत दरवन्दी नै छैन भने निजी तथा सामुदायिक अस्पतालहरूमा पनि सम्बन्धित विषयमा औपचारिक शिक्षा वा तालिम नपाएका कर्मचारीमार्फत स्वास्थ्य अभिलेख व्यवस्थापन भइरहेको अवस्था छ ।
स्वास्थ्य तथ्याङ्क र स्वास्थ्य सूचना व्यवस्थापन एउटै होइन
नेपालमा स्वास्थ्य सूचना व्यवस्थापनको बहस गर्दा एउटा महत्वपूर्ण विषय छुट्ने गरेको छ। धेरैजसो अवस्थामा स्वास्थ्य तथ्याङ्क (Health Statistics) र स्वास्थ्य सूचना व्यवस्थापन (Health Information Management) लाई एउटै ठानिन्छ। वास्तवमा यी फरक विषय हुन् ।
स्वास्थ्य विशेषज्ञ र तथ्याङ्कविद्हरूको मुख्य जिम्मेवारी स्वास्थ्य तथ्याङ्कको विश्लेषण, रोगको प्रवृत्ति अध्ययन तथा कार्यक्रम मूल्याङ्कन हो। उनीहरूको योगदान अत्यन्त महत्वपूर्ण छ। तर बिरामीको स्वास्थ्य अभिलेख कसरी तयार हुन्छ, क्लिनिकल कार्यप्रवाहसँग डेटा सङ्कलन कसरी मिलाइन्छ, रोग वर्गीकरण, अभिलेख संरक्षण, डेटा गुणस्तर, सूचना सुरक्षा र स्वास्थ्य सूचना प्रणालीको सञ्चालन कसरी गरिन्छ भन्ने विषय स्वास्थ्य सूचना व्यवस्थापनको विशेषज्ञताको क्षेत्र हो।
त्यसैले चिकित्सक, जनस्वास्थ्यविद्, तथ्याङ्कविद् र मेडिकल रेकर्ड सबैका भूमिका फरक भए पनि एकअर्काका पूरक हुन् । कुनै एउटा पेशाले अर्कोको भूमिका पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन।
कमजोर मेडिकल रेकर्ड प्रणालीको मूल्य बिरामीले चुकाउँछन्
मेडिकल रेकर्डलाई सामान्य प्रशासनिक कामका रूपमा हेर्ने प्रवृत्तिले अन्ततः बिरामीलाई नै असर गर्छ। अपूर्ण वा गलत अभिलेखका कारण औषधि सम्बन्धी त्रुटि, उपचारमा ढिलाइ, दोहोरिएको परीक्षण, अनावश्यक खर्च, गलत चिकित्सकीय निर्णय र फलोअप छुट्ने जस्ता समस्या उत्पन्न हुन सक्छन्। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सही र पूर्ण स्वास्थ्य अभिलेख अनिवार्य हुन्छ।त्यस्तै, कमजोर स्वास्थ्य अभिलेख प्रणालीले राष्ट्रिय स्वास्थ्य तथ्याङ्कलाई पनि अविश्वसनीय बनाउँछ। यदि प्राथमिक स्रोत नै कमजोर भयो भने त्यसबाट तयार हुने प्रतिवेदन, विश्लेषण र नीतिगत निर्णय पनि कमजोर हुनेछन्। प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणका लागि प्रमाण नै विश्वसनीय हुनुपर्छ।
डिजिटल स्वास्थ्य मात्र पर्याप्त छैन
नेपाल सरकारले विद्युतीय स्वास्थ्य अभिलेख (Electronic Health Record) र डिजिटल स्वास्थ्य प्रणाली विस्तार गर्ने प्रयास गरिरहेको छ। तर प्रविधि आफैँ समाधान होइन। यदि प्रणाली विकास गर्दा क्लिनिकल कार्यप्रवाह, स्वास्थ्य अभिलेखन र स्वास्थ्य सूचना व्यवस्थापनका सिद्धान्तलाई समेटिएन भने डिजिटल प्रणालीले नयाँ समस्या पनि सिर्जना गर्न सक्छ। अन्तर्राष्ट्रिय अनुभवले पनि देखाएको छ कि कमजोर डिजाइन भएका स्वास्थ्य सूचना प्रणालीले चिकित्सकको कार्यभार बढाउने, डेटा गुणस्तर घटाउने र बिरामी सुरक्षामा जोखिम निम्त्याउने सम्भावना रहन्छ। त्यसैले डिजिटल स्वास्थ्य सफल बनाउन सूचना प्रविधिसँगै स्वास्थ्य सूचना व्यवस्थापनका दक्ष जनशक्तिमा लगानी गर्नैपर्छ।
अब संस्थागत सुधारको समय
नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन केही नीतिगत सुधार तत्काल आवश्यक छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मेडिकल रेकर्ड शाखाको प्रतिनिधित्व हुने गरी मेडिकल रेकर्ड निर्देशक तथा स्वास्थ्य सेवा विभागमा मेडिकल रेकर्ड अफिसर वा स्वास्थ्य सूचना प्रणाली संयोजक जस्ता प्राविधिक पद स्थापना गरी स्वास्थ्य अभिलेख तथा स्वास्थ्य सूचना व्यवस्थापनलाई स्पष्ट संस्थागत नेतृत्व दिनुपर्छ। सरकारी अस्पतालहरूमा रिक्त मेडिकल रेकर्ड का पदहरू तत्काल पूर्ति गर्नुपर्छ तथा निजी मेडिकल कलेज तथा अस्पतालमा अनिवार्य रुपमा मेडिकल रेकर्ड शाखाको स्थापना तथा सञ्चालन गर्नुपर्दछ । स्वास्थ्य अभिलेख व्यवस्थापनका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्छ। साथै, मेडिकल रेकर्ड तथा स्वास्थ्य सूचना व्यवस्थापनको स्पष्ट सेवा संरचना, क्षमता विकास कार्यक्रम र डिजिटल स्वास्थ्यसम्बन्धी मापदण्ड विकास गर्नुपर्छ।
निष्कर्ष
स्वास्थ्य प्रणालीको गुणस्तर अस्पतालको भवन, उपकरण वा विशेषज्ञ चिकित्सकले मात्र निर्धारण गर्दैन। सही स्वास्थ्य सूचना, व्यवस्थित अभिलेख र विश्वसनीय डेटा पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । मेडिकल रेकर्ड शाखा र मेडिकल रेकर्डरलाई उपेक्षा गरेर आधुनिक स्वास्थ्य प्रणाली निर्माण गर्न सकिँदैन। आज आवश्यक बहस चिकित्सक र स्वास्थ्यकर्मीहरु कसको भूमिका ठूलो भन्ने होइन; स्वास्थ्य प्रणालीका सबै आवश्यक विशेषज्ञतालाई उचित स्थान कसरी दिने भन्ने हो । स्वास्थ्य सूचना व्यवस्थापनलाई संस्थागत रूपमा सुदृढ नगरी डिजिटल स्वास्थ्य, प्रमाणमा आधारित नीति निर्माण र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन।
मेडिकल रेकर्ड शाखामा गरिने लगानी अतिरिक्त खर्च होइन। यो बिरामीको सुरक्षा, स्वास्थ्य सेवाको गुणस्तर, विश्वसनीय स्वास्थ्य तथ्याङ्क र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्ने दीर्घकालीन रणनीतिक लगानी हो।
(वरिष्ठ मेडिकल रेकर्डर अधिकृत ढुङ्गाना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत छन्)