होमियोप्याथिक चिकित्सा एक समग्र चिकित्सा पद्धति हो, जसले रोग मात्र नभई सम्पूर्ण व्यक्तिलाई उपचारको केन्द्रमा राख्छ। यस पद्धतिको विकास सन् १७९६ मा जर्मनीका एलोप्याथिक चिकित्सक डा. स्यामुअल हेनिमेनले गरेका हुन्। यो Like Cures Like अर्थात् 'जस्तोले रोग उत्पन्न गर्न सक्छ, त्यस्तैले रोग निको पार्न सक्छ' भन्ने सिद्धान्तमा आधारित चिकित्सा विज्ञान हो।
विश्वभरि होमियोप्याथिक चिकित्सा:
युरोप होमियोप्याथीको ऐतिहासिक जन्मस्थल हो। यो चिकित्सा पद्धति ४० भन्दा बढी युरोपेली देशहरूमा अभ्यास गरिन्छ। विश्वभरि करिब २० करोडभन्दा बढी मानिसहरूले नियमित रूपमा होमियोप्याथिक औषधि प्रयोग गर्ने गरेका छन्। विशेष गरी भारत, जर्मनी, फ्रान्स, इटाली, बेलायत, ब्राजिल, मेक्सिको, स्विट्जरल्यान्ड लगायतका देशहरूमा यसको प्रयोग र संस्थागत उपस्थिति देखिन्छ।
मित्र राष्ट्र भारत दक्षिण एसियामै होमियोप्याथिक चिकित्साको सबैभन्दा विकसित र व्यवस्थित कानुनी संरचना भएको देशहरूमध्ये एक हो। यसमा सरकारी मन्त्रालय, छुट्टै नियामक आयोग, विश्वविद्यालयस्तरको शिक्षा, दर्ता प्रणाली, अनुसन्धान संस्था, सरकारी अस्पताल तथा औषधि मापदण्ड सबै कानुनी आधारमा सञ्चालन भइरहेका छन्। भारतमा आयुष मन्त्रालयअन्तर्गत होमियोप्याथिक चिकित्सा रहेको छ जहाँ शिक्षा, अनुसन्धान, अस्पताल, औषधि उत्पादन र चिकित्सक दर्ता सबै मन्त्रालयको नीति अनुसार सञ्चालन हुन्छ। भारतमा होमियोप्याथीको नियमन गर्ने सर्वोच्च निकाय नेशनल कमिसन फर होमियोप्याथी हो। यो निकाय नेशनल कमिसन फर होमियोप्याथी ऐन २०२० अन्तर्गत गठन गरिएको हो। सन् २०२४ सम्म भारतमा २७७ वटा होमियोप्याथिक मेडिकल कलेज सञ्चालनमा छन्। हरेक वर्ष २०–२१ हजार BHMS (Bachelor of Homoeopathic Medicine and Surgery) विद्यार्थी अध्ययनमा प्रवेश गर्छन्। भारतमा हाल ३.४५ लाखभन्दा बढी दर्तावाला होमियोप्याथिक चिकित्सक कार्यरत छन्।
कानुनी व्यवस्था:
नेपालमा पनि होमियोप्याथिक चिकित्सा वि.सं. २०१० सालदेखि अभ्यासमा रहेको छ र सरकारी तहबाट समेत यसको व्यवस्थापन तथा नियमन प्रयास हुँदै आएको छ।
नेपालको संविधान २०७२:
नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको छ। साथै राज्यले "परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्द्धन गर्ने" नीति लिएको छ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३:
यस ऐनले नेपालमा विभिन्न चिकित्सा पद्धतिहरूलाई स्वास्थ्य सेवाको संरचनाभित्र समेटेको छ। होमियोप्याथीलाई पनि एक स्वतन्त्र चिकित्सा प्रणालीका रूपमा स्वीकार गरिएको उल्लेख पाइन्छ।
राष्ट्रिय स्वास्थ्य नीति, २०७६:
यस नीतिले होमियोप्याथिक, आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास तथा विस्तार गरिनेछ भन्ने कुरा उल्लेख गरेको छ। साथै सङ्घीय संरचनाअनुरूप स्थानीय तहसम्म विकास तथा विस्तार गरिने नीति लिएको छ।
औषधि ऐन, २०३५:
होमियोप्याथिक औषधिको आयात, भण्डारण, वितरण तथा बिक्रीमा औषधि ऐन र सम्बन्धित नियमहरू लागू हुन्छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग:
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा होमियोप्याथिक शाखा रहेको छ, जसले अस्पताल सेवा, फार्मेसी सञ्चालन तथा सेवा गुणस्तर सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन, नीति निर्माण, गुणस्तर निर्धारण तथा अनुगमनको कार्य गर्दै आएको छ। साथै होमियोप्याथिक चिकित्सा सेवाको विस्तार र गुणस्तर सुधारका लागि कार्ययोजना तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३:
यो होमियोप्याथिक चिकित्सकका लागि सबैभन्दा महत्त्वपूर्ण कानुनी आधार हो। हाल नेपालमा होमियोप्याथिक चिकित्सक र होमियोप्याथिक सहायक नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भई परिषद्ले निर्माण गरेको Code of Ethics मा रहेर काम गरिरहेका छन्। यस ऐन अनुसार स्थापित परिषद्ले होमियोप्याथिक जनशक्तिको दर्ता, नियमन तथा व्यावसायिक मापदण्ड निर्धारण गर्छ।
के नेपालमा होमियोप्याथिक चिकित्सक सरकारी सेवामा कार्यरत छन्?
२०४२ सालदेखि सरकारी स्तरमा सेवा प्रदान गर्ने सङ्घीय स्तरको अस्पताल पशुपति होमियोप्याथिक चिकित्सालय रहेको छ, जहाँ लोकसेवाले विज्ञापन माग गरेर होमियोप्याथिक चिकित्सकको नियुक्ति गरेको छ। साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पनि होमियोप्याथिक चिकित्सकको दरबन्दी रहेको छ। नेपालका सातै प्रदेशका विभिन्न स्थानमा होमियोप्याथिक चिकित्सक र होमियोप्याथिक सहायकको पदपूर्ति रहेको छ।
होमियोप्याथिक चिकित्साको अध्ययन:
होमियोप्याथिक चिकित्साको अध्ययनका लागि प्रचलित डिग्री Bachelor of Homeopathic Medicine and Surgery (BHMS) हो, जुन +2 विज्ञानपछि ५.५ वर्ष अवधिको हुन्छ। र स्नातकोत्तर MD Course ३ वर्षको हुन्छ। केही देशहरूमा होमियोप्याथीसम्बन्धी अनुसन्धान तथा विद्यावारिधि (PhD) कार्यक्रमहरू पनि उपलब्ध छन्। पाठ्यक्रममा Anatomy, Physiology, Practice of Medicine, Surgery, Gynaecology and Obstetrics, Biochemistry, Pathology, Preventive and Social Medicine, Yoga का साथै होमियोप्याथिक विषयहरूमा Materia Medica, Repertory, Organon of Medicine, Homeopathic Pharmacy रहेका छन्।
के होमियोप्याथिक औषधि मात्र 'Placebo' हो?
सर्वसाधारणमा भ्रम छ कि होमियोप्याथिक औषधिले मात्र Placebo अर्थात् प्रभावहीन औषधिको काम गर्दछ। तर यथार्थ त्यस्तो होइन। बिरामीको व्यक्तिगत लक्षणका आधारमा औषधि छनोट गर्दा यसले लाभ पुर्याउने गर्दछ। पुराना, जटिल साथै तीव्र रोगहरूमा पनि होमियोप्याथिक औषधिहरू अत्यन्तै प्रभावकारी छन्। होमियोप्याथिक औषधिहरूको आधिकारिक मापदण्ड (Official Standards) समेटिएको पुस्तक Homeopathic Pharmacopoeia हरू प्रकाशनमा छन्, जसले होमियोप्याथिक औषधिको स्रोत, पहिचान, गुणस्तर, शुद्धता, सुरक्षा, निर्माण विधि, परीक्षण विधि, भण्डारण तथा गुणस्तर नियन्त्रणसम्बन्धी विवरणहरू प्रस्तुत गरी चिकित्सक, फर्मासिस्ट र उत्पादकलाई मार्गदर्शन गर्ने गर्दछ। संसारका विभिन्न देशहरूले आ-आफ्ना Pharmacopoeia हरू प्रकाशनमा ल्याएका छन्; जस्तै:
Homeopathic Pharmacopoeia of India (HPI)
Homeopathic Pharmacopoeia of the United States (HPUS)
German Homeopathic Pharmacopoeia (GHP)
British Homeopathic Pharmacopoeia (BHP)
होमियोप्याथिक औषधि कसरी बनाइन्छ?
होमियोप्याथिक औषधि स्वस्थ मानिसमा प्रमाणित गरिएको हुन्छ। यसको निर्माण प्रक्रिया सम्बन्धित Homeopathic Pharmacopoeia मा तोकिएका मापदण्ड अनुसार गरिन्छ। होमियोप्याथिक औषधि विशेष विधिबाट तयार गरिन्छ र यसमा औषधिलाई क्रमिक रूपमा Dilution गरिन्छ (पातलो बनाउने) र प्रत्येक चरणपछि निश्चित विधिबाट Succussion (विशेष तरिकाले हल्लाउने वा झड्का दिने) प्रक्रिया गरी तयार पारिन्छ।
औषधिका स्रोतहरू:
होमियोप्याथिक औषधिहरूका स्रोतहरू:
वनस्पतिजन्य (Plant)
जनावरजन्य (Animal)
खनिजजन्य (Mineral)
जैविक/रोगसम्बन्धी (Nosode)
स्वस्थ स्रावबाट बनेका स्रोत (Sarcode)
ऊर्जा वा विकिरणसम्बन्धी (Imponderabilia) हुन्।
नेपालमा उपलब्ध औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता भई सर्वसाधारणले उपयोग गरिरहेका छन्। र धेरैजसो होमियोप्याथिक औषधिहरू मित्र राष्ट्र भारतबाट आउने गर्दछन्।
तसर्थ, होमियोप्याथिक चिकित्सा पद्धति विश्वका धेरै देशहरूमा अभ्यास, शिक्षा, अनुसन्धान तथा कानुनी व्यवस्थासहित विकसित हुँदै आएको एक चिकित्सा प्रणाली हो। नेपालमा यस पद्धतिलाई कानुनी मान्यता प्रदान गरिएको छ र यसको अध्ययन, अभ्यास तथा नियमनका लागि आवश्यक संवैधानिक तथा कानुनी आधारहरू विद्यमान छन्। यद्यपि जनशक्ति विकास, शैक्षिक विस्तार, अनुसन्धान, औषधि गुणस्तर नियन्त्रण, संस्थागत सुदृढीकरण तथा जनचेतनाको क्षेत्रमा अझै पर्याप्त सुधार आवश्यक देखिन्छ। प्रमाणमा आधारित अभ्यास र प्रभावकारी कानुनी कार्यान्वयनलाई प्राथमिकता दिँदै अगाडि बढ्न सके होमियोप्याथिक चिकित्सा पद्धतिले नेपालको समग्र स्वास्थ्य सेवामा अझ सकारात्मक योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ।