किशोरकिशोरीहरूमा बढ्दो इन्टरनेट निर्भरता अब केवल प्रविधिको विषय होइन, सार्वजनिक स्वास्थ्यको चुनौती पनि हो। यसको असर निद्रा, सिकाइ, मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धसम्म पुगिसकेको छ। त्यसैले स्वस्थ डिजिटल बानी, गुणस्तरीय निद्रा, समयमै सचेतना र परिवार, विद्यालय र समुदायको साझा सहकार्य नै डिजिटल युगमा स्वस्थ, सक्षम र जिम्मेवार पुस्ता निर्माण गर्ने सबैभन्दा प्रभावकारी आधार हो।
१. पृष्ठभूमि
अहिले रातको ११ बजिसकेको छ। भोलि कक्षा १० को वार्षिक परीक्षा छ। आमाले पटक-पटक मोबाइल बन्द गरेर सुत्न आग्रह गरिरहेकी छन्। तर १५ वर्षीय आयन बराल (नाम परिवर्तन) को एउटै उत्तर हुन्छ, 'अहिले पाँच मिनेट मात्रै।' तर त्यो 'पाँच मिनेट' भिडियो गेम, टिकटक र युट्युबको स्क्रोलिङ गर्दै रातको १ बजेसम्म लम्बिन्छ।
बिहान उठ्न गाह्रो हुन्छ। पर्याप्त तयारी नगरी विद्यालय पुग्छ। रातभरको अपुग निद्राका कारण कक्षामै झप्की लाग्छ र परीक्षामा पनि अपेक्षित नतिजा हासिल गर्न सक्दैन। बिस्तारै उसको व्यवहार पनि बदलिन थाल्छ। मोबाइल वा इन्टरनेटबिना केही मिनेट पनि बस्न नसक्ने, साथीहरूसँग कम बोल्ने, सानो-सानो कुरामा रिसाउने र झर्किने बानी बढ्छ। समयसँगै साथीहरू टाढिन थाल्छन् र ऊ झन् एक्लिँदै जान्छ।
व्यवहार, पढाइ र स्वास्थ्यमा निरन्तर गिरावट आएपछि विद्यालय र स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा उसलाई मानसिक स्वास्थ्य विशेषज्ञकहाँ लगिन्छ। मूल्याङ्कनपछि विशेषज्ञले आयनमा गम्भीर स्तरको इन्टरनेट निर्भरता (Severe Internet Addiction) रहेको बताउँछन्।
यो कथा आयनको मात्र होइन; नेपालका धेरै घरपरिवारमा फरक-फरक रूपको यथार्थ हो। बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने, खाना खाँदा भिडियो चलाउने, पढाइको बीचमै पटक-पटक सामाजिक सञ्जाल जाँच्ने र राति अबेरसम्म अनलाइन बस्ने बानी धेरै किशोरकिशोरीमा सामान्यजस्तै देखिन थालेको छ। प्रविधिले जीवनलाई सहज बनाएको छ, तर यसको असन्तुलित प्रयोगसँगै किशोरहरूको निद्रा, सिकाइ र मानसिक स्वास्थ्यमा देखिएको असर अहिले एउटा उदीयमान जनस्वास्थ्य चुनौती बन्दै गएको छ।
२. किन यो विषय महत्त्वपूर्ण छ
इन्टरनेट आजको जीवनको अभिन्न अंग बनिसकेको छ। शिक्षादेखि स्वास्थ्य, बैंकिङदेखि सञ्चार, व्यापार, सरकारी सेवा र मनोरञ्जनसम्म, सबै क्षेत्रमा यसको उपयोग बढिरहेको छ। केही दशकअघि सूचना प्राप्त गर्न पुस्तकालय पुग्नुपर्ने अवस्थालाई एउटै मोबाइलबाट संसारभरको जानकारी केही सेकेन्डमै प्राप्त गर्न सकिने अवस्थामा पुगिएको छ। कोभिड–१९ महामारीले त झन् अनलाइन शिक्षा, भर्चुअल बैठक, टेलिमेडिसिन र डिजिटल कारोबारलाई इन्टरनेटको प्रयोग झनै अपरिहार्य बनायो।
यसरी द्रुत गतिमा विकसित इन्टरनेटको सहज पहुँचले अर्को थप चुनौती पनि सिर्जना गरेको छ। इन्टरनेट अब केवल काम वा अध्ययनको माध्यममा सीमित नभई धेरैका लागि मनोरञ्जन, सामाजिक सम्बन्ध, पहिचान र भावनात्मक सहाराको माध्यमसमेत बनेको छ।
३. इन्टरनेटको लत वा निर्भरता के हो?
जब इन्टरनेटको अत्यधिक, अनियन्त्रित र बाध्यकारी प्रयोगले व्यक्तिको दैनिकी, सम्बन्ध, पढाइ, काम, व्यवहार र समस्त मानसिक स्वास्थ्यमा असर पार्छ, त्यसलाई समस्याग्रस्त इन्टरनेट प्रयोग (Problematic Internet Use) वा इन्टरनेट लत (Internet Addiction) भनिन्छ।
धेरै मोबाइल चलाउने हरेक व्यक्तिलाई इन्टरनेटको लत लागेको हुन्छ भन्ने होइन। आजको डिजिटल समाजमा धेरैजसो काम इन्टरनेटमार्फत हुने भएकाले प्रयोगको समय मात्र हेरेर निष्कर्ष निकाल्न मिल्दैन।
मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार समस्या तब सुरु हुन्छ, जब व्यक्तिले आफ्नो इन्टरनेट प्रयोग नियन्त्रण गर्न सक्दैन। बारम्बार मोबाइल हेर्न मन लाग्ने, सामाजिक सञ्जाल नहेर्दा बेचैनी हुने, गेम खेल्न वा मोबाइल प्रयोग गर्न समय लुकाउने, सुत्ने समय घटाउने, पढाइ वा काम प्रभावित भए पनि प्रयोग रोक्न नसक्ने तथा परिवार र साथीभाइसँगको सम्बन्ध कमजोर हुँदै जाँदा पनि डिजिटल संसारमै रमाइरहने अवस्था इन्टरनेट निर्भरता वा लतका प्रमुख संकेत हुन्।
४. किन बढ्दै छ समस्या?
नेपालमा केही वर्षअघिसम्म इन्टरनेट मुख्यतया कम्प्युटरमा सीमित थियो। अहिले भने स्मार्टफोन, सस्तो डेटा प्याकेज र उच्च गतिको मोबाइल इन्टरनेटले ग्रामीण क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरिसकेको छ।
कोभिड–१९ महामारीपछि अनलाइन शिक्षाको प्रयोग बढेपछि धेरै बालबालिका र किशोरकिशोरी पहिलो पटक लामो समय मोबाइल वा ल्यापटपमा बस्न थाले। पढाइका लागि सुरु भएको स्क्रिन समय विस्तारै मनोरञ्जन, गेमिङ, सामाजिक सञ्जाल र भिडियो प्लेटफर्मतर्फ सरेको धेरै अभिभावकको अनुभव छ।
सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोग गर्ने एल्गोरिदमले पनि प्रयोगकर्तालाई लामो समयसम्म अनलाइन राख्न भूमिका खेल्छ। एउटा भिडियो सकिएपछि अर्को भिडियो स्वतः सुरु हुनु, लगातार आउने सूचना (Notifications), लाइक, सेयर, कमेन्ट, र छोटा भिडियो (Short-form Video) ले प्रयोगकर्ताको ध्यान बारम्बार तानिरहन्छ। विशेषगरी किशोर मस्तिष्कमा यस्तो प्रणालीको प्रभाव बढी देखिन्छ।
५. नेपालमा पनि बढ्दो चुनौती
नेपालमा डिजिटल स्वास्थ्यसम्बन्धी अनुसन्धान विस्तारै बढ्दै गएको छ। हालै प्रकाशित विभिन्न अध्ययनहरूले शहरी क्षेत्रमा अध्ययनरत किशोरकिशोरीहरूमा इन्टरनेट निर्भरता चिन्ताजनक स्तरमा रहेको देखाएका छन्।
काठमाण्डौ उपत्यकामा गरिएको एक अध्ययनअनुसार विद्यालय जाने किशोरकिशोरीमध्ये करिब ५१ प्रतिशतमा कुनै न कुनै स्तरको इन्टरनेट निर्भरता तथा लत देखिएको छ। अधिकांश किशोरकिशोरीहरूसँग आफ्नै स्मार्टफोन रहेको तथा धेरैले दैनिक दुई घण्टाभन्दा बढी समय मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको थियो। सामाजिक सञ्जाल, युट्युब र अनलाइन गेम उनीहरूको प्रमुख रोजाइ भएको पाइएको थियो।
यस्तै, इन्टरनेटको अत्यधिक प्रयोग गर्ने किशोरहरूमा अनिद्रा, चिन्ता, डिप्रेसन तथा शैक्षिक प्रदर्शनमा गिरावट बढी देखिएको अनुसन्धानहरूले औँल्याएका छन्। मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा अभिभावकहरूले "मोबाइलको लत लागेको छ" भन्दै अस्पताल तथा परामर्श केन्द्रमा ल्याउने बालबालिकाको संख्या पनि बढिरहेको छ।
६. विश्वको चित्र पनि उस्तै
यो समस्या नेपालमा मात्र सीमित छैन। विश्व स्वास्थ्य समुदायले पनि डिजिटल निर्भरतालाई बढ्दो सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिन थालेको छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २०१९ मै 'गेमिङ डिसअर्डर' (Gaming Disorder) लाई रोगको अन्तर्राष्ट्रिय वर्गीकरण (ICD-11) मा समावेश गरिसकेको छ। यसको अर्थ, अत्यधिक गेम खेल्ने व्यवहारले व्यक्तिको स्वास्थ्य, शिक्षा, सम्बन्ध र सामाजिक जीवनमा गम्भीर असर पार्न सक्छ भन्ने विश्वव्यापी स्वीकारोक्ति हो।
७. किशोरावस्था सबैभन्दा संवेदनशील
किशोरावस्था (१०–१९ वर्ष) शारीरिक मात्र होइन, मानसिक र भावनात्मक विकासको पनि महत्त्वपूर्ण चरण हो। यही समयमा व्यक्तित्व निर्माण, निर्णय क्षमता, आत्मपहिचान र सामाजिक सम्बन्ध विकसित हुँदै जान्छ।
वैज्ञानिकहरूका अनुसार किशोर मस्तिष्कको निर्णय तथा आत्मनियन्त्रण गर्ने भाग (Prefrontal Cortex) पूर्ण रूपमा विकसित भइसकेको हुँदैन। तर, आनन्द र पुरस्कारको अनुभूति गराउने प्रणाली (Reward System) भने अत्यधिक सक्रिय हुन्छ। त्यसैले तत्काल रमाइलो वा सन्तुष्टि दिने गतिविधितर्फ किशोरहरू स्वाभाविक रूपमा बढी आकर्षित हुन्छन्।
सामाजिक सञ्जालका लाइक, सन्देश, नयाँ भिडियो वा गेममा सफलता प्राप्त हुँदा मस्तिष्कमा डोपामिन (Dopamine) नामक न्यूरो रसायन सक्रिय हुन्छ, जसले क्षणिक आनन्दको अनुभूति गराउँछ। यही अनुभव दोहोर्याउने चाहनाले मोबाइल पटक-पटक हेर्ने बानी बस्न सक्छ।
यसलाई परिवर्तनशील पुरस्कार प्रणाली (Variable Reward System) भनिन्छ। हरेक पटक मोबाइल खोल्दा फरक-फरक सूचना वा नयाँ सामग्री भेटिन सक्ने भएकाले मस्तिष्क फेरि पनि मोबाइल प्रयोग गर्न प्रेरित हुन्छ। समयसँगै यही चक्र दोहोरिँदा सामान्य प्रयोग बिस्तारै निर्भरता वा लतमा रूपान्तरण हुन सक्छ।
८. अत्यधिक डिजिटल स्क्रिन र अनिद्राबाट सुरु हुन्छ अधिकांश समस्या
पर्याप्त निद्रा स्वस्थ शरीर र मस्तिष्कको आधार हो। निद्राकै समयमा मस्तिष्कले दिनभर सिकेका कुरा व्यवस्थित गर्ने, स्मरणशक्ति बलियो बनाउने र शरीरको पुनःनिर्माण गर्ने काम गर्छ। तर रातिसम्म मोबाइल, सामाजिक सञ्जाल र अनलाइन गेममा व्यस्त रहने बानीले किशोरहरूको निद्रा बिगार्न थालेको छ, जसको असर पढाइ, एकाग्रता, भावनात्मक सन्तुलन र मानसिक स्वास्थ्यसम्म पुग्न सक्छ।
'Fear of Missing Out' (FOMO) अर्थात् 'केही छुटिहाल्छ कि' भन्ने डरका कारण धेरै किशोर मोबाइलबाट टाढा रहन सक्दैनन्। यसले निद्रा बिगार्नुका साथै परिवारसँगको संवाद र सामाजिक सम्बन्ध पनि कमजोर बनाउन सक्छ।
मोबाइल, ट्याबलेट र ल्यापटपबाट निस्कने ब्लु लाइट (Blue Light) ले निद्रा ल्याउने मेलाटोनिन (Melatonin) हर्मोनको उत्पादन घटाउन सक्छ। यसले शरीरको जैविक घडी (Biological Clock) मा असर पार्दै राति ढिलोसम्म स्क्रिन प्रयोग गर्दा निद्रा ढिलो लाग्ने, पटक-पटक ब्युँझिने र बिहान उठ्दा पनि पर्याप्त आराम भएको महसुस नहुने समस्या देखिन सक्छ।
साथै, रातभर आउने सूचना (Notifications), सामाजिक सञ्जाल र अनलाइन गेमले मस्तिष्कलाई निरन्तर सक्रिय राख्ने भएकाले सुत्ने समय अझै पछाडि धकेलिने तथा गहिरो र गुणस्तरीय निद्रा पनि प्रभावित हुन सक्छ। यसका कारण धेरै किशोर बिहान उठ्न कठिन हुने, दिनभर थकान महसुस गर्ने, कक्षामा झप्की लाग्ने तथा पढाइमा एकाग्रता र स्मरणशक्ति कमजोर हुने समस्या अनुभव गर्छन्।
९. ध्यान, स्मरणशक्ति र सिकाइमा असर
डिजिटल प्रविधिले सिकाइलाई सहज बनाएको भए पनि यसको अत्यधिक प्रयोगले किशोरहरूको ध्यान, स्मरणशक्ति र अध्ययन क्षमतामा नकारात्मक असर पार्न सक्छ। शिक्षकहरूका अनुसार अहिले धेरै विद्यार्थी लामो समय एउटै विषयमा ध्यान केन्द्रित गर्न कठिनाइ अनुभव गरिरहेका छन्।
विशेषगरी छोटा भिडियो (Short-form Videos) र निरन्तर आउने डिजिटल सामग्रीले मस्तिष्कलाई छिटो-छिटो नयाँ उत्तेजनामा अभ्यस्त बनाउँछ। परिणामस्वरूप पुस्तक पढ्ने, लामो व्याख्यान सुन्ने वा गहिरो अध्ययन गर्ने क्षमता कमजोर हुन सक्छ।
अनुसन्धानहरूले अत्यधिक डिजिटल विचलन (Digital Distraction) ले कार्य स्मरण (Working Memory), एकाग्रता र समस्या समाधान गर्ने क्षमतामा असर पार्न सक्ने देखाएका छन्। त्यसैले पढाइ कमजोर हुनुको कारण केवल अध्ययनमा कमी मात्र होइन, निरन्तर डिजिटल विचलन पनि हुन सक्छ।
१०. अब के गर्ने?
इन्टरनेटलाई पूर्ण रूपमा निषेध गर्नु समाधान होइन। आवश्यक कुरा यसको सन्तुलित, सुरक्षित र जिम्मेवार प्रयोग हो। साना-साना व्यवहार परिवर्तनले पनि इन्टरनेट निर्भरता घटाउन, मानसिक स्वास्थ्य सुधार गर्न र गुणस्तरीय निद्रामा सहयोग पुर्याउन सक्छ।
किशोरकिशोरीका लागि
- दैनिक स्क्रिन समयको सीमा निर्धारण गर्ने (जस्तै: मोबाइलको 'डिजिटल वेलबिइङ' वा 'स्क्रिन टाइम' सेटिङ प्रयोग गर्ने)।
- अध्ययन र मनोरञ्जनका लागि छुट्टाछुट्टै समय छुट्याउने।
- खाना खाने बेला र परिवारसँग समय बिताउँदा मोबाइल प्रयोग नगर्ने।
- हरेक दिन सकेसम्म एउटै समयमा सुत्ने र उठ्ने।
- सुत्नुभन्दा कम्तीमा एक घण्टा अघि मोबाइल, ट्याबलेट वा ल्यापटप प्रयोग बन्द गर्ने।
- राति 'Do Not Disturb' मोड प्रयोग गर्ने वा अनावश्यक सूचना (Notifications) बन्द गर्ने।
- मोबाइल सिरानीमुनि वा ओछ्यानमा नराखी शयनकक्षबाहिर वा टाढा राख्ने।
- सामाजिक सञ्जालको प्रयोग बारम्बार होइन, निश्चित समयमा मात्र गर्ने।
- खेलकुद, व्यायाम, पुस्तक पढ्ने, संगीत, कला वा अन्य सिर्जनात्मक गतिविधिमा सहभागी हुने।
- साथीभाइ र परिवारसँग प्रत्यक्ष भेटघाट तथा संवादलाई प्राथमिकता दिने।
- हप्तामा एक दिन वा केही घण्टा 'स्क्रिन फ्री' समय अभ्यास गर्ने (डिजिटल उपवास)।
अभिभावकका लागि
- परिवारभित्र मोबाइल प्रयोगसम्बन्धी स्पष्ट नियम बनाउने।
- खाना खाने बेला र सुत्नुअघि 'स्क्रिन फ्री' समय लागू गर्ने।
- बालबालिकासँग इन्टरनेट प्रयोगबारे खुला संवाद गर्ने।
- बालबालिकालाई दोष दिनुभन्दा उनीहरूको डिजिटल बानी बुझेर समाधानको प्रयास गर्ने।
- आफैं पनि जिम्मेवार डिजिटल व्यवहार अपनाई उदाहरण प्रस्तुत गर्ने।
- समस्या देखिए समयमै मानसिक स्वास्थ्य विशेषज्ञ वा परामर्शदातासँग सम्पर्क गर्ने।
- विद्यालयका लागि
- जिम्मेवार डिजिटल प्रयोग र डिजिटल साक्षरताबारे नियमित शिक्षा दिने।
- मानसिक स्वास्थ्य, स्लीप हाइजिन र इन्टरनेट निर्भरताबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
- खेलकुद, कला, संगीत तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने।
- आवश्यक परे विद्यालयमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने।
स्वास्थ्य प्रणाली र नीति निर्माताका लागि
- इन्टरनेट निर्भरता तथा मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान र परामर्श सेवा विस्तार गर्ने।
- अभिभावक, शिक्षक र किशोरकिशोरीलक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
- विद्यालय स्वास्थ्य कार्यक्रममा डिजिटल स्वास्थ्य (Digital Well-being) र स्लीप हाइजिन समावेश गर्ने।
- बालमैत्री डिजिटल वातावरण तथा सुरक्षित अनलाइन नीतिको प्रभावकारी कार्यान्वयन गर्ने।
निष्कर्ष
डिजिटल प्रविधि आजको आवश्यकता हो, तर यसको सन्तुलित र जिम्मेवार प्रयोग अझ ठूलो आवश्यकता हो। स्वस्थ डिजिटल बानी, पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि, पारिवारिक संवाद र समयमै सहयोग खोज्ने संस्कारले इन्टरनेट निर्भरताको जोखिम घटाउन र किशोरहरूको मानसिक स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।