काठमाडौं – परिवारका सदस्यलाई आधारभूत स्वास्थ्य ज्ञान र सीपसम्बन्धी तालिम दिँदा आमा तथा नवजात शिशुको अत्यावश्यक हेरचाहमा झन्डै तीन गुणासम्म सुधार आउने एक अध्ययनले देखाएको छ।
नेपालमा गरिएको उक्त अध्ययनअनुसार परिवारका सदस्यलाई स्वास्थ्य हेरचाहसम्बन्धी ज्ञान र व्यावहारिक सीप प्रदान गर्दा नवजात शिशुको नाभीलाई सही तरिकाले स्याहार गर्ने, स्वास्थ्य संस्थाबाट घर फर्किएपछि शिशुलाई आमाको छातीमा राखेर न्यानो बनाउनेलगायतका महत्त्वपूर्ण अभ्यासमा उल्लेख्य सुधार देखिएको हो।
अध्ययनका अनुसार परिवारको सहभागितामा सञ्चालन गरिएको स्वास्थ्य हेरचाह कार्यक्रममा सहभागी महिलामा सुत्केरीपछिको परामर्श पाउने सम्भावना १ दशमलव ७३ गुणा, नवजात शिशुको नाभीलाई सुक्खा र सफा राख्ने सही तरिका थाहा हुने सम्भावना २ दशमलव ७५ गुणा र स्वास्थ्य संस्थाबाट घर फर्किएपछि शिशुलाई आमाको छातीमा राखेर न्यानो राख्ने अभ्यास गर्ने सम्भावना २ दशमलव ४३ गुणा बढी देखिएको छ।
त्यस्तै, नवजात शिशुले आमाको बिगौती दूध पाउने सम्भावना १ दशमलव २७ गुणा बढी रहेको अध्ययनले देखाएको छ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय र वान हार्ट वर्ल्डवाइडले नुरा हेल्थसँगको साझेदारीमा नेपालमा सञ्चालन गरेको स्वास्थ्य हेरचाह कार्यक्रमसम्बन्धी अध्ययनका निष्कर्ष काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो।
कार्यक्रममा सरकारी अधिकारी, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, विकास साझेदार तथा कार्यक्रम कार्यान्वयनमा संलग्न प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा परिवारका सदस्यलाई स्वास्थ्य हेरचाहसम्बन्धी ज्ञान र सीप प्रदान गर्दा स्वास्थ्य प्रणालीलाई थप बलियो बनाउन तथा आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन सकिने विषयमा छलफल गरिएको थियो।
अध्ययनले बिरामी कुरुवालाई व्यवस्थित रूपमा स्वास्थ्यसम्बन्धी ज्ञान र सीप प्रदान गर्दा स्वास्थ्यकर्मी र परिवार दुवैलाई फाइदा पुग्ने देखाएको छ।
स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य हेरचाह कार्यक्रमअन्तर्गत पोषणसम्बन्धी जानकारी दिन चित्रसहितको खानाको थाली देखाउने अन्तरक्रियात्मक मोडल प्रभावकारी माध्यम बनेको छ। नर्सहरूले उक्त विधिबाट आमाहरूलाई पोषणसम्बन्धी जानकारी दिन सहज भएको बताएका छन्। आमाहरूले पनि अस्पतालबाट घर फर्किएको लामो समयपछि समेत तालिमका क्रममा सिकेका कुरा सम्झन सहयोग पुगेको बताएका छन्।
त्यस्तै, घर लैजान मिल्ने शैक्षिक सामग्रीले परिवारलाई घरमै स्वस्थ अभ्यास निरन्तरता दिन सहयोग गरेको अध्ययनमा सहभागीहरूले बताएका छन्। आमाहरूले स्वास्थ्य लाभका क्रममा राम्रो पोषण र पर्याप्त आरामको आवश्यकता परिवारका सदस्यलाई बुझाउनसमेत ती सामग्री प्रयोग गर्ने गरेको बताएका छन्।
स्वास्थ्यकर्मीहरूले व्यवस्थित तालिमले आफ्नो आत्मविश्वास र सञ्चार सीप बढाउनुका साथै बिरामी तथा परिवारसँग गरिने परामर्शलाई सामान्य कुराकानीबाट सहभागितामूलक र उद्देश्यपूर्ण सिकाइ अनुभवमा रूपान्तरण गर्न सहयोग पुगेको बताएका छन्।
परिवारका सदस्यले प्रश्न सोध्ने र स्वास्थ्यसम्बन्धी छलफलमा सक्रिय रूपमा सहभागी हुने अभ्यासका साथै कार्यक्रमअन्तर्गत ह्वाट्सएपमा आधारित मोबाइल हेरचाह सहयोग सेवामार्फत घरमै निरन्तर तालिम तथा सहयोग पाउने अवसरलाई समेत महत्त्वपूर्ण मानेका छन्।
नुरा हेल्थका नेपाल प्रतिनिधि डा. सुशील कोइरालाले नेपालमा बिरामीको हेरचाहमा परिवारका सदस्यको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए।
‘परिवारको सहभागितामा स्वास्थ्य हेरचाह कार्यक्रमले यही भूमिकालाई मान्यता दिँदै उनीहरूलाई आवश्यक जानकारी, तालिम र टाढाबाट उपलब्ध हुने स्वास्थ्य सहयोगसँग जोड्छ,’ उनले भने, ‘यसले स्वास्थ्य प्रणालीमाथिको भार कम गर्नुका साथै स्वास्थ्यकर्मीलाई आफ्नो काम अझ प्रभावकारी रूपमा गर्न नयाँ साधन उपलब्ध गराउँछ, यसबाट सबैलाई फाइदा हुन्छ।’
वान हार्ट वर्ल्डवाइडका स्वास्थ्य हेरचाह कार्यक्रम परियोजना प्रबन्धक सञ्जय श्रेष्ठले मातृ तथा बाल स्वास्थ्यमा नेपालले हासिल गरेको प्रगति महत्त्वपूर्ण भए पनि त्यसको लाभ अझै सबै समुदायसम्म पुग्न नसकेको बताए।
उनले भने, ‘मातृ तथा बाल स्वास्थ्यमा नेपालले हासिल गरेको प्रगति वास्तविक सफलता हो। तर यसको लाभ अझै सबैसम्म पुगेको छैन। दुर्गम र पर्याप्त सेवा नपुगेका समुदायका महिला तथा नवजात शिशुले अझै गम्भीर स्वास्थ्य जोखिम सामना गरिरहेका छन्।’
भारतमा परिवारको सहभागितामा सञ्चालन गरिएको स्वास्थ्य हेरचाह कार्यक्रमले ल्याएको परिवर्तनलाई आधार बनाएर नेपालमा पनि यस्तो कार्यक्रम प्रभावकारी हुन सक्ने विश्वास गरिएको उनले बताए।
‘समान चुनौती र स्वास्थ्य सेवाको अवस्था रहेको नेपालमा पनि यो प्रभावकारी हुन सक्छ भन्ने हामीलाई विश्वास थियो। यस अध्ययनले त्यो विश्वास सही भएको पुष्टि गरेको छ। बिरामीका कुरुवालाई हेरचाहका लागि आवश्यक ज्ञान र आत्मविश्वास दिँदा शिशुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ,’ श्रेष्ठले भने।
अध्ययनका निष्कर्षले मातृ तथा नवजात शिशुको नियमित हेरचाहमा बिरामीका कुरुवालाई स्वास्थ्यसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने अभ्यासलाई स्वास्थ्य सेवाको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकतालाई थप बलियो बनाएको छ।
विशेषगरी सुत्केरीपछिको समय र नवजात शिशुको प्रारम्भिक जीवनमा परिवारका सदस्यले खेल्ने भूमिकालाई व्यवस्थित रूपमा उपयोग गर्न सके स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका परिवारसम्म पनि महत्त्वपूर्ण स्वास्थ्य सन्देश र व्यवहार पुर्याउन सकिने अध्ययनको निष्कर्ष छ।
परिवारका सदस्यलाई आवश्यक ज्ञान, सीप र निरन्तर सहयोग उपलब्ध गराउँदा स्वास्थ्यकर्मीमाथिको अतिरिक्त भार कम हुनुका साथै आमा र नवजात शिशुको स्वास्थ्य नतिजामा समेत उल्लेख्य सुधार ल्याउन सकिने देखिएको छ।