बच्चालाई आमाको दूध खुवाउने प्रक्रिया मानव सृष्टिसँगै सुरु भएको मानिन्छ। आमाको दूध सानो बच्चाका लागि अमृतसरह हुन्छ, जुन बच्चाको शारीरिक तथा मानसिक विकासका लागि अपरिहार्य छ। यसको विकल्प कुनै अन्य खाद्य पदार्थले पूरा गर्न सक्दैन। आमाको दूधबाट बच्चाले आवश्यक सबै प्रकारका पोषक तत्त्व प्राप्त गर्छ। यसमा पोषणका साथै रोगसँग लड्ने प्रतिरक्षा शक्ति पनि हुन्छ, जसले बच्चालाई जन्मपछिको पहिलो ६ महिनासम्म विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ। स्तनपानले आमा र बच्चाबीचको आत्मीय सम्बन्धलाई पनि अझ मजबुत बनाउँछ।
आमाले बच्चालाई दूध खुवाउँदा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ। बच्चा जन्मिएको लगत्तै स्तनपान गराउँदा पाठेघर चाँडै खुम्चिन मद्दत पुग्छ र अत्यधिक रक्तस्राव हुने सम्भावना कम हुन्छ। साथै, स्तनपानले महिलामा भविष्यमा हुन सक्ने स्तन तथा अण्डाशयको क्यान्सरको जोखिम पनि घटाउन मद्दत गर्छ।
नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाइसक्नुपर्छ। यस समयमा शिशु बढी सक्रिय हुने भएकाले दूध चुसाउन सजिलो हुन्छ। स्तनपानलाई निरन्तरता दिन महिलाका श्रीमान्, परिवारका सदस्य तथा स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ। विशेषगरी पहिलो पटक आमा बनेका महिलालाई परिवार र स्वास्थ्यकर्मीको साथ र सहयोग आवश्यक पर्छ।
बच्चालाई जन्मेदेखिका पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ, जसलाई एकमात्र स्तनपान (Exclusive Breastfeeding) भनिन्छ। यस अवधिमा बच्चालाई आवश्यक पोषण र पानी दुवै आमाको दूधबाट नै प्राप्त हुने भएकाले अन्य खानेकुरा वा पानी दिन आवश्यक पर्दैन। बच्चा बिरामी भएमा चिकित्सकको सल्लाहअनुसार औषधि दिनुपर्छ। यदि आमाको दूध पर्याप्त नभएमा चिकित्सकको सल्लाहमा फार्मुला दूध पनि दिनुपर्ने हुन सक्छ।
बच्चा ६ महिना पुगेपछि आमाको दूधसँगै थप पौष्टिक आहार सुरु गर्नुपर्छ र कम्तीमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ।
हालको समयमा आर्थिक उपार्जनका लागि धेरै महिलाले घरबाहिर लामो समय काम गर्नुपर्ने अवस्था छ। कार्यस्थलबाट प्राप्त प्रसूति बिदा सकिएपछि उनीहरू पुनः काममा फर्कनुपर्ने हुन्छ। यसले बच्चाको पहिलो ६ महिनासम्म एकमात्र स्तनपानलाई निरन्तरता दिन चुनौती सिर्जना गर्छ। यसले आमा मात्र होइन, परिवारका अन्य सदस्यमा पनि तनाव बढाउन सक्छ। यस समस्याको समाधानका रूपमा स्तनबाट दूध निचोरेर सुरक्षित रूपमा भण्डारण गरी बच्चालाई खुवाउने विधि अपनाउन सकिन्छ।
आमाले काममा जानुअघि बच्चाका लागि दूध निचोरेर सुरक्षित रूपमा राख्न सक्छिन्। त्यसपछि बच्चाको हेरचाह गर्ने परिवारका सदस्यले आवश्यक समयमा त्यो दूध खुवाउन सक्छन्।
स्तनबाट दूध निकाल्ने दुई विधि छन्—हातले निचोरेर निकाल्ने तथा ब्रेस्ट पम्प (म्यानुअल वा इलेक्ट्रिक) प्रयोग गर्ने। दुवै विधि प्रभावकारी भए पनि ब्रेस्ट पम्प प्रयोग गर्न अपेक्षाकृत सहज हुन्छ। आजकल बजारमा विभिन्न प्रकारका ब्रेस्ट पम्प उपलब्ध छन्। आफ्नो आवश्यकता र सहजताअनुसार छनोट गर्न सकिन्छ।
जुनसुकै विधि अपनाए पनि दूध निकाल्नुअघि साबुनपानीले हात राम्ररी धुनुपर्छ। दूध राख्ने भाँडा पनि सफा हुनुपर्छ। दूध भण्डारणका लागि काँच वा प्लास्टिकका कन्टेनर तथा विशेष मिल्क स्टोरेज ब्याग प्रयोग गर्न सकिन्छ। जुनसुकै भाँडा प्रयोग गरे पनि त्यसको ढकनी राम्रोसँग बन्द हुने हुनुपर्छ। प्लास्टिकका भाँडा प्रयोग गर्दा BPA-free (Bisphenol A-free) भएको सुनिश्चित गर्नुपर्छ।
त्यसैगरी ब्रेस्ट पम्प र त्यसका सबै भाग सफा हुनुपर्छ। प्रत्येक पटक प्रयोग गरेपछि कम्पनीको निर्देशनअनुसार राम्ररी सफा गरी सुरक्षित रूपमा राख्नुपर्छ।
Centers for Disease Control and Prevention (CDC, 2024) को निर्देशिकाअनुसार आमाबाट निकालिएको दूध कोठाको तापक्रम वा रेफ्रिजरेटरमा सुरक्षित रूपमा भण्डारण गरेर आमा घरबाहिर रहेका बेला बच्चालाई खुवाउन सकिन्छ। यसरी सुरक्षित रूपमा भण्डारण गरिएको दूध प्रयोग गरेर पहिलो ६ महिनासम्म एकमात्र स्तनपानलाई निरन्तरता दिन सकिन्छ। यदि आमाको दूध पर्याप्त मात्रामा आइरहेको छ भने ६ महिनापछि पनि स्तनपानलाई निरन्तरता दिन सकिन्छ।
ताजा निकालिएको आमाको दूध २५° सेल्सियस (७७°F) वा सोभन्दा कम तापक्रममा कोठाको तापक्रममा अधिकतम ४ घण्टासम्म सुरक्षित रहन्छ। रेफ्रिजरेटर (४° सेल्सियस) मा ४ दिनसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ। डीप फ्रीजर (-१८° सेल्सियस वा ०°F) मा ६ महिनासम्म सुरक्षित रूपमा राख्न सकिन्छ। यदि रेफ्रिजरेटरको ढोका एउटै भएको फ्रिजको फ्रीजर प्रयोग गरिएको छ भने १५ दिनसम्म मात्र भण्डारण गर्न सिफारिस गरिएको छ।
भण्डारण गरिएको दूध प्रयोग गर्नुअघि त्यसमा मिति र समय उल्लेख गरी लेबल लगाउनुपर्छ। सधैं पहिले भण्डारण गरिएको दूध पहिले प्रयोग गर्ने (First In, First Out) विधि अपनाउनुपर्छ।
फ्रिज वा फ्रीजरमा राखिएको दूध प्रयोग गर्नुअघि आवश्यक मात्राको दूधलाई एक दिनअघि रेफ्रिजरेटरमा सारेर बिस्तारै पगाल्नुपर्छ। त्यसपछि बच्चालाई खुवाउनुअघि दूध राखिएको भाँडा वा बोतललाई मनतातो पानी भएको अर्को भाँडामा केही समय राखेर दूधलाई हल्का मनतातो बनाउन सकिन्छ।
दूध तताउँदा माइक्रोवेभ, हिटर वा प्रत्यक्ष आगोमा तताउनु हुँदैन, किनकि यसले दूधमा भएका महत्त्वपूर्ण पोषक तत्त्व नष्ट गर्न सक्छ र असमान रूपमा तातेर बच्चाको मुख पोलिने जोखिम पनि हुन सक्छ।
बच्चाको हेरचाह गर्ने व्यक्तिले पनि दूध खुवाउनुअघि हातको सरसफाइ र प्रयोग हुने सबै सामग्रीको सफाइमा विशेष ध्यान दिनुपर्छ।
आमाको दूध बच्चाको स्वस्थ वृद्धि र विकासको मुख्य आधार हो। यसको विकल्प कुनै पनि अन्य खाद्य पदार्थले पूरा गर्न सक्दैन। स्तनपानलाई निरन्तरता दिन सकिएमा यसले परिवार, समाज र समग्र देशको स्वास्थ्य खर्चसमेत कम गर्न योगदान पुर्याउँछ।
आमाको दूध निरन्तर खुवाउन परिवारका सदस्य, स्वास्थ्यकर्मी तथा कार्यस्थल सबैको सहयोग आवश्यक हुन्छ। विशेषगरी कामकाजी महिलालाई स्तनपानलाई निरन्तरता दिन परिवार, रोजगारदाता र राज्यबाट थप साथ, सहयोग तथा अनुकूल वातावरण उपलब्ध गराइनु आवश्यक छ।