मानिस जन्मेदेखि नै कुनै न कुनै रूपमा ध्वनि र लयसँग जोडिएको हुन्छ। आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावनात्मक प्रभाव पार्दै आएको छ। संगीत केवल मनोरञ्जनको साधन मात्र होइन, यसले मानिसको मनोभाव, स्मरणशक्ति, व्यवहार र शारीरिक अवस्थासमेत प्रभावित गर्न सक्छ। यही तथ्यलाई वैज्ञानिक तथा चिकित्सकीय रूपमा प्रयोग गर्ने विधिलाई संगीत चिकित्सा (म्युजिक थेरापी) भनिन्छ।
म्युजिक थेरापी आधुनिक चिकित्सा विज्ञानको नयाँ अवधारणा जस्तो देखिए पनि यसको जरा मानव सभ्यताको धेरै पुरानो इतिहाससँग जोडिएको छ। संगीतको उपचारात्मक प्रयोग हजारौँ वर्ष पुरानो मानिन्छ। प्राचीन ग्रीसमा प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरूले संगीतले मानिसको मन, भावना र व्यवहारमा प्रभाव पार्ने विचार व्यक्त गरेका थिए। तर आधुनिक अर्थमा म्युजिक थेरापी सम्बन्धी सबैभन्दा पुरानो लिखित प्रमाण सन् १७८९ मा भेटिन्छ। अमेरिकाको फिलाडेल्फियाबाट प्रकाशित “कोलम्बियन म्यागेजिन” मा “म्युजिक फिजिकल्ली कन्सिडर्ड” शीर्षकको लेख प्रकाशित भएको थियो। यसलाई अमेरिकन म्युजिक थेरापी एसोसिएसनले म्युजिक थेरापी सम्बन्धी सबैभन्दा पुरानो लिखित सन्दर्भ मानेको छ।
सन् १८०० को सुरुवातमा म्युजिक थेरापीको क्षेत्रमा केही व्यक्तिहरूको महत्त्वपूर्ण योगदान देखिन्छ। एड्विन एट्लीले सन् १८४० मा संगीतको चिकित्सकीय प्रभावबारे मेडिकल डिसर्टेसन (शोधपत्र) प्रस्तुत गरे। समुएल म्याथ्युसले सन् १८०६ मा संगीतको उपचारात्मक प्रभावबारे लेखे। दुवै जना डा. बेन्जामिन रुशका विद्यार्थी थिए। बेन्जामिन रुश चिकित्सक तथा मनोचिकित्सक थिए र रोगको उपचारमा संगीत प्रयोग गर्न सकिने विचारका समर्थक थिए।
व्यवस्थित र व्यावसायिक म्युजिक थेरापी भने मुख्यतः प्रथम र दोस्रो विश्वयुद्धपछि, विशेषगरी अमेरिकामा तीव्र रूपमा विकास भयो। विश्वयुद्धबाट घाइते तथा मानसिक रूपमा प्रभावित सैनिकहरूको उपचार भइरहेका अस्पतालमा संगीतकारहरूले संगीत बजाउन थाले। चिकित्सक र नर्सहरूले सैनिकहरूको शारीरिक तथा भावनात्मक अवस्थामा संगीतले सकारात्मक प्रभाव पारेको देखेपछि अस्पतालमा संगीतकारहरूको प्रयोग बढ्दै गयो। पछि उनीहरूलाई विशेष प्रशिक्षण आवश्यक भएको महसुस भयो र म्युजिक थेरापीको औपचारिक शिक्षा विकास हुन थाल्यो।
सन् १९४४ मा मिचिगन स्टेट युनिभर्सिटीमा विश्वकै पहिलो म्युजिक थेरापी डिग्री प्रोग्राम सुरु भयो। त्यसपछि २ जुन १९५० मा न्यु योर्क सिटीमा नेसनल एसोसिएसन फर म्युजिक थेरापीको स्थापना भयो। रे ग्रीन यसको पहिलो अध्यक्ष निर्वाचित भए। यही घटनाले म्युजिक थेरापीलाई एउटा व्यवस्थित व्यावसायिक क्षेत्रका रूपमा विकास गर्न ठूलो आधार तयार गर्यो।
बेलायतमा पनि युद्धपछि अस्पताल र पुनर्स्थापना सेवामा संगीतको प्रयोग बढ्यो। १९५० को दशकमा म्युजिक थेरापी व्यवस्थित रूपमा विकास हुन थाल्यो। जुलिएट्टे अल्विनले बेलायतमा यसको विकासमा महत्त्वपूर्ण योगदान दिइन्। पछि ब्रिटिस सोसाइटी फर म्युजिक थेरापी लगायतका संस्थाहरूको विकास भयो।
क्यानडामा पनि १९५०–६० को दशकदेखि अस्पताल, विशेष शिक्षा र पुनर्स्थापना क्षेत्रमा म्युजिक थेरापी प्रयोग हुन थाल्यो। पछि विश्वविद्यालयस्तरमा प्रशिक्षण र राष्ट्रिय व्यावसायिक संस्था विकास भए।
अस्ट्रेलियामा १९५०–६० को दशकदेखि विशेष शिक्षा, मानसिक स्वास्थ्य तथा अस्पतालमा संगीतको चिकित्सकीय प्रयोग विस्तार भयो। पछि म्युजिक थेरापीको औपचारिक प्रशिक्षण र व्यावसायिक मान्यता विकास भयो।
नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डमा पनि म्युजिक थेरापीको प्रयोग विस्तार भयो। यहाँ मानसिक स्वास्थ्य, विशेष शिक्षा, बालबालिका र वृद्धवृद्धाको हेरचाहमा यसको प्रयोग उल्लेखनीय रह्यो। जापान, दक्षिण कोरिया र चीनमा विश्वविद्यालय तथा अस्पतालमार्फत म्युजिक थेरापीको अध्ययन र प्रयोग विस्तार हुन थाल्यो।
भारतमा संगीत र स्वास्थ्यबीचको सम्बन्ध धेरै पुरानो भए पनि आधुनिक म्युजिक थेरापीको व्यवस्थित विकास पछिल्लो समयमा भएको हो। भारतीय शास्त्रीय संगीत, योग, ध्यान र आधुनिक मनोवैज्ञानिक अभ्याससँग जोडेर संगीतको चिकित्सकीय प्रयोगबारे अध्ययनहरू बढिरहेका छन्।
नेपालमा म्युजिक थेरापी अझै विकासशील अवस्थामा छ। तर अस्पताल, पुनर्स्थापना केन्द्र, वृद्धाश्रम, विशेष शिक्षा तथा मानसिक स्वास्थ्य क्षेत्रमा यसको सम्भावना निकै ठूलो छ। नेपालको लोकगीत, भजन, शास्त्रीय संगीत तथा परम्परागत बाजागाजालाई पनि चिकित्सकीय तथा मनो–सामाजिक कार्यक्रमसँग जोड्न सकिने सम्भावना छ।
यद्यपि धेरै मानिसहरू जम्मा हुने ठाउँहरू, जस्तै सपिङ मल, अस्पताल, विमानस्थल, होटल, रेस्टुरेन्ट तथा सार्वजनिक प्रतीक्षालयहरूमा, मानिसहरूको मन बहलाउने, तनाव कम गर्ने र वातावरणलाई रमाइलो तथा सहज बनाउने उद्देश्यले संगीत बजाउने चलन बढ्दो रहेको छ। यस्ता स्थानमा उपयुक्त किसिमको मधुर संगीतले मानिसलाई केही समयका लागि मानसिक तनावबाट मुक्त गराउनुका साथै प्रतीक्षाको समयलाई सहज र सुखद बनाउन सहयोग पुर्याउन सक्छ। त्यसैले संगीत आज मनोरञ्जनको साधन मात्र नभई मानिसको मनोभाव र वातावरणलाई सकारात्मक बनाउन प्रयोग गरिने प्रभावकारी माध्यमका रूपमा पनि स्थापित हुँदै गएको छ।
आज थुप्रै देशहरूमा म्युजिक थेरापी मानसिक स्वास्थ्य, न्यूरोलोजिकल पुनर्स्थापना, बाल विकास, विशेष शिक्षा, वृद्धवृद्धाको हेरचाह, पेन म्यानेजमेन्ट, पेलिएटिभ केयर र अस्पताल सेवाहरू लगायतका क्षेत्रमा प्रयोग भइरहेको छ।
म्युजिक थेरापीमा संगीत वा संगीतसम्बन्धी गतिविधिलाई व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा संज्ञानात्मक आवश्यकताअनुसार प्रयोग गरिन्छ। प्रशिक्षित संगीत चिकित्सकले व्यक्तिको अवस्था र आवश्यकताअनुसार गीत सुन्ने, गाउने, वाद्ययन्त्र बजाउने, तालमा गतिविधि गर्ने, गीत सिर्जना गर्ने वा संगीतबारे कुराकानी गर्ने जस्ता विधि प्रयोग गर्न सक्छन्। यसको मुख्य उद्देश्य मनोरञ्जन गराउनु मात्र नभई व्यक्तिको स्वास्थ्य र जीवनको गुणस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो। गीत–संगीतलाई मानव जीवनको अभिन्न अङ्गका रूपमा पनि लिन सकिन्छ।
संगीत र मानव मस्तिष्क
संगीत सुन्दा हाम्रो मस्तिष्कका विभिन्न भाग सक्रिय हुन्छन्। संगीतमा रहेका लय, स्वर, ताल र शब्दले स्मरण, भावना, ध्यान तथा शारीरिक गतिविधिसँग सम्बन्धित मस्तिष्कीय प्रक्रियालाई प्रभावित गर्न सक्छन्। मनपर्ने संगीत सुन्दा मानिसमा खुसी, शान्ति वा उत्साहको अनुभूति हुन सक्छ भने दुःखद संगीतले पुराना सम्झना र भावनाहरूलाई जागृत गर्न सक्छ। यसैले संगीतले मानिसको मनसँग गहिरो सम्बन्ध राख्छ। कहिलेकाहीँ शब्दले व्यक्त गर्न नसकेको भावना पनि एउटा गीत वा धुनले व्यक्त गरिदिन्छ। यही भावनात्मक शक्तिलाई चिकित्सकीय उद्देश्यका लागि व्यवस्थित रूपमा प्रयोग गरिन्छ।
म्युजिक थेरापीको उद्देश्य
संगीत चिकित्साको मुख्य उद्देश्य व्यक्तिको समग्र स्वास्थ्य र हितमा सहयोग गर्नु हो। यसको प्रयोगबाट तनाव र चिन्ता कम गर्न, भावनात्मक अभिव्यक्तिमा सहयोग गर्न, सामाजिक सम्बन्ध सुधार गर्न, ध्यान केन्द्रित गर्न तथा केही अवस्थामा स्मरणशक्ति र सञ्चार क्षमतामा सहयोग पुर्याउन सकिन्छ। त्यसैगरी, शारीरिक पुनर्स्थापनाका क्रममा पनि ताल र लयको प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, कुनै व्यक्तिलाई नियमित रूपमा हातखुट्टा चलाउन कठिन भइरहेको अवस्थामा तालबद्ध संगीतसँग मिलाएर गतिविधि गराउँदा पुनर्स्थापना अभ्यासलाई थप सहज र रुचिकर बनाउन सकिन्छ।
मानसिक स्वास्थ्यमा म्युजिक थेरापीको भूमिका
आजको व्यस्त जीवनशैलीमा तनाव, चिन्ता, एक्लोपन र भावनात्मक दबाब सामान्य समस्या बन्दै गएका छन्। यस्तो अवस्थामा संगीतले मनलाई शान्त पार्न सहयोग गर्न सक्छ। मधुर संगीत सुन्दा मनमा शान्तिको अनुभूति हुन सक्छ, तनावपूर्ण अवस्थाबाट ध्यान केही समयका लागि हट्न सक्छ र सकारात्मक भावनाको विकास हुन सक्छ। संगीत चिकित्सालाई मानसिक स्वास्थ्य सेवामा पनि सहायक विधिका रूपमा प्रयोग गर्न सकिन्छ। व्यक्तिलाई आफ्नो भावना व्यक्त गर्न कठिन भइरहेको अवस्थामा गीत लेख्ने, गाउने वा संगीतसँग सम्बन्धित गतिविधि गर्ने माध्यमबाट भावना व्यक्त गर्न सहज हुन सक्छ। यसले व्यक्तिलाई आफ्ना अनुभव र भावनाबारे कुरा गर्न प्रेरित गर्न सक्छ। तर संगीत चिकित्सा मानसिक स्वास्थ्य समस्याको एक्लो उपचार भने होइन। आवश्यक अवस्थामा चिकित्सकीय उपचार, मनोपरामर्श तथा अन्य प्रमाणमा आधारित उपचारसँगै यसलाई सहायक विधिका रूपमा प्रयोग गर्नुपर्छ।
शारीरिक स्वास्थ्यमा म्युजिक थेरापी
संगीतको प्रभाव मानसिक पक्षमा मात्र सीमित छैन। अस्पताल तथा पुनर्स्थापना सेवामा पनि संगीतलाई सहायक रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। शल्यक्रिया वा उपचारसँग सम्बन्धित तनाव कम गर्न, आरामदायी वातावरण बनाउन तथा केही अवस्थामा दुखाइको व्यवस्थापन गर्न समेत संगीत उपयोगी हुन सक्छ। संगीतको तालले शारीरिक गतिविधिलाई पनि व्यवस्थित गर्न सहयोग गर्न सक्छ। हिँड्ने, हातखुट्टा चलाउने वा अन्य पुनर्स्थापना अभ्यासमा तालबद्ध संगीत प्रयोग गर्दा गतिविधिलाई निरन्तरता दिन सहज हुन सक्छ। यस कारण फिजियोथेरापी तथा पुनर्स्थापना कार्यक्रमसँग संगीतसम्बन्धी गतिविधि जोड्न सकिन्छ।
बालबालिका र विशेष आवश्यकताका व्यक्तिमा म्युजिक थेरापी
बालबालिकाको विकासमा पनि संगीतको महत्त्वपूर्ण भूमिका हुन्छ। गीत, ताल र वाद्ययन्त्रसँग सम्बन्धित गतिविधिले उनीहरूलाई सिकाइमा रुचि जगाउन तथा सामाजिक अन्तरक्रियामा सहभागी हुन प्रोत्साहित गर्न सक्छ। विशेष आवश्यकता भएका बालबालिकाका लागि पनि प्रशिक्षित चिकित्सकको निर्देशनमा संगीतसम्बन्धी गतिविधि प्रयोग गर्न सकिन्छ। संगीतले बोल्न कठिन हुने व्यक्तिलाई भावनात्मक अभिव्यक्तिको वैकल्पिक माध्यम दिन सक्छ। समूहमा गीत गाउने वा तालमा गतिविधि गर्ने क्रममा उनीहरूले अरूसँग अन्तरक्रिया गर्ने अवसर पाउँछन्। यसले आत्मविश्वास र सामाजिक सहभागितामा सकारात्मक प्रभाव पार्न सक्छ।
म्युजिक थेरापी बालबालिकामा विशेषगरी शारीरिक, मानसिक, भावनात्मक, विकासात्मक तथा न्यूरोलोजिकल समस्याहरूमा सहयोगी रूपमा प्रयोग गरेको पाइन्छ। जस्तै: अटिज्मका बिरामीहरूको लागि बोलचाल तथा सञ्चार क्षमता सुधार गर्न, सामाजिक सम्बन्ध र समूहमा सहभागिता बढाउन, ध्यान केन्द्रित गर्न तथा व्यवहार व्यवस्थापनमा सहयोग गर्न, बच्चालाई गीत गाउन, ताल पछ्याउन वा बाजा बजाउन लगाएर अरूसँग अन्तरक्रिया गराउन मद्दत गर्दछ।
त्यसैगरी एडीएचडी (ADHD - Attention Deficit Hyperactivity Disorder/ध्यानअभाव तथा अतिसक्रियता विकार) का बिरामीहरूको लागि ध्यान केन्द्रित गर्ने क्षमता बढाउन, अत्यधिक चञ्चलता तथा आवेगात्मक व्यवहारलाई व्यवस्थापन गर्न सहयोग गर्न, ताल र लयको प्रयोग गरी संरचित गतिविधिहरू सञ्चालन गर्न मद्दत गर्दछ। मस्तिष्क पक्षाघातका बिरामीहरूको लागि शारीरिक चालचलन तथा समन्वयमा सहयोग गर्न, मांसपेशीको चालचलनलाई ताल र लयसँग जोडेर व्यायाम गराउन मद्दत गर्दछ।
डाउन सिन्ड्रोमका बिरामीहरूको लागि भाषा तथा बोलीको विकासमा सहयोग गर्न, स्मरणशक्ति तथा संज्ञानात्मक सीपको विकास गर्न, सामाजिक अन्तरक्रिया तथा सहभागिता बढाउन म्युजिक थेरापीले सहयोग गर्दछ। उमेरअनुसार विकास हुन ढिला भएका बालबालिकामा पढाइमा ध्यान केन्द्रित गर्न, बोल्ने अभ्यासमा सहयोग गर्न, डर, तनाव, चिन्ता र भावनात्मक असहजता कम गर्न सहयोग गर्दछ।
क्यान्सर तथा दीर्घकालीन रोग लागेर अस्पतालमा उपचार गराइरहेका बिरामीहरूमा चिन्ता तथा पीडाको अनुभूति कम गर्न सहयोग गर्दछ। त्यसैगरी स्नायु प्रणालीसम्बन्धी समस्या भएकाहरूको उपचारमा पनि म्युजिक थेरापीलाई प्रयोग गर्ने गरेको पाइन्छ।
वृद्धवृद्धा र स्मरणशक्तिमा यसको उपयोग
वृद्धावस्थामा स्मरणशक्ति कमजोर हुने तथा सामाजिक एक्लोपन बढ्ने समस्या देखिन सक्छ। यस्तो अवस्थामा पुराना परिचित गीत र धुनले व्यक्तिका पुराना सम्झना जागृत गराउन सक्छन्। बाल्यकाल, परिवार वा युवावस्थासँग सम्बन्धित गीत सुन्दा व्यक्तिले विगतका अनुभव सम्झेर कुराकानी गर्न सक्छ। त्यसैले वृद्धवृद्धाको हेरचाहमा संगीतलाई मनोरञ्जनका साथै सामाजिक तथा भावनात्मक गतिविधिका रूपमा प्रयोग गर्न सकिन्छ। विशेषगरी स्मरणशक्ति कमजोर भएका व्यक्तिमा परिचित संगीतले भावनात्मक सम्बन्ध कायम राख्न सहयोग गर्न सक्ने सम्भावना हुन्छ।
विशेषगरी डिमेन्सिया वा अल्जाइमर्स भएका व्यक्तिहरूमा उनीहरूको स्मरणशक्ति र मानसिक सक्रियता बढाउनका लागि म्युजिक थेरापीको प्रयोग गर्ने गरिएको छ।
म्युजिक थेरापीको विधि
म्युजिक थेरापीमा विभिन्न विधि प्रयोग गरिन्छ। तीमध्ये संगीत सुन्ने, गीत गाउने, वाद्ययन्त्र बजाउने, गीत लेख्ने तथा सिर्जना गर्ने, तालमा शारीरिक गतिविधि गर्ने र संगीतसँग सम्बन्धित भावनाबारे छलफल गर्ने विधि प्रमुख छन्। कुनै व्यक्तिका लागि केवल संगीत सुन्नु उपयोगी हुन सक्छ भने अर्को व्यक्तिका लागि गीत गाउनु वा वाद्ययन्त्र बजाउनु बढी प्रभावकारी हुन सक्छ। त्यसैले संगीत चिकित्सामा सबै व्यक्तिका लागि एउटै विधि प्रयोग गरिँदैन। व्यक्तिको उमेर, रुचि, स्वास्थ्य अवस्था, क्षमता र चिकित्सकीय लक्ष्यअनुसार कार्यक्रम तयार गरिन्छ।
नेपालमा म्युजिक थेरापीको सम्भावना
नेपाल संगीत र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध देश हो। यहाँ लोकगीत, भजन, दोहोरी, शास्त्रीय संगीत तथा विभिन्न जातजातिका मौलिक संगीत परम्परा छन्। यी सांस्कृतिक सम्पदालाई स्वास्थ्य तथा पुनर्स्थापनाका क्षेत्रमा सिर्जनात्मक रूपमा प्रयोग गर्ने ठूलो सम्भावना छ।
अस्पताल, वृद्धाश्रम, पुनर्स्थापना केन्द्र, विद्यालय तथा मानसिक स्वास्थ्य सेवामा संगीतसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिन्छ। नेपाली लोकगीत र परिचित धुनको प्रयोगले विशेषगरी वृद्धवृद्धा तथा समुदायमा आधारित कार्यक्रममा भावनात्मक सम्बन्ध अझ बलियो बनाउन सक्छ। देशका केही अस्पताल, वृद्धाश्रम, पुनर्स्थापना केन्द्र लगायतका ठाउँहरूमा मन बहलाउन, मनोरञ्जन गर्न, तनाव कम गराउन र समय कटाउन सजिलो होस् भन्ने उद्देश्यले मधुर संगीत बजाइरहेको पनि पाइन्छ। यो पनि एक प्रकारको म्युजिक थेरापी नै हो, तर त्यसलाई मात्र म्युजिक थेरापी नै भनेर भन्न चाहिँ मिल्दैन। म्युजिक थेरापी हुनका लागि कुनै विशेष रोग वा समस्याको उपचार तथा व्यवस्थापनका उद्देश्यले गीत, संगीत वा कुनै वाद्ययन्त्रको योजनाबद्ध र नियमित रूपमा प्रयोग गरिएको हुनुपर्दछ।
नेपालमा औपचारिक रूपमा म्युजिक थेरापी सेवा उपलब्ध भएको पुष्टि हुने केही ठाउँहरूमा अटिज्म केयर सोसाइटी काठमाडौँ र पोखरामा व्यक्तिगत र समूहगत दुवै प्रकारका म्युजिक थेरापी सेसनहरू सञ्चालनमा रहेको कुरा वेबसाइटमा उल्लेख गरिएको छ।
त्यसैगरी अवानी फाउन्डेसन काठमाडौँले पनि आफ्नो सेवाअन्तर्गत म्युजिक थेरापी उल्लेख गरेको छ। संस्थाले यसलाई बिहेभिएरल कग्निटिभ इन्टरभेन्सनमा म्युजिकको क्लिनिकल प्रयोग गरिने कुरा उल्लेख गरेको छ।
नेपालमा म्युजिक थेरापीको अभ्यास भइरहेको छ, तर यो अझै पनि पूर्ण रूपमा विकसित र व्यापक रूपमा भएको भने छैन। नेपालमा म्युजिक थेरापीलाई व्यवस्थित रूपमा विकास गर्न प्रशिक्षित जनशक्ति, अनुसन्धान, पाठ्यक्रम, स्वास्थ्य संस्थासँगको सहकार्य तथा प्रमाणमा आधारित अभ्यास आवश्यक छ।
संगीत मानव जीवनको भावनात्मक साथी मात्र होइन, स्वास्थ्य र कल्याणका क्षेत्रमा उपयोग गर्न सकिने सम्भावनायुक्त माध्यम पनि हो। यसले मनलाई शान्त बनाउन, भावना व्यक्त गर्न, सामाजिक सम्बन्ध बढाउन, पुनर्स्थापना गतिविधिमा सहयोग गर्न तथा जीवनको गुणस्तर सुधार गर्न योगदान पुर्याउन सक्छ।
यद्यपि संगीत चिकित्सालाई सबै रोगको उपचार वा औषधिको विकल्पका रूपमा बुझ्नु हुँदैन। यसको प्रभाव व्यक्ति, परिस्थिति र प्रयोग गरिएको विधिअनुसार फरक हुन सक्छ। त्यसैले आवश्यक अवस्थामा चिकित्सक वा प्रशिक्षित संगीत चिकित्सकको सल्लाहअनुसार यसको प्रयोग गर्नु उपयुक्त हुन्छ।
अन्ततः संगीतको शक्ति यसको धुनमा मात्र होइन, त्यसले मानिसको मनमा पैदा गर्ने अनुभूतिमा हुन्छ। कहिलेकाहीँ एउटा मधुर धुनले औषधिले नसक्ने गरी मनलाई छुइदिन सक्छ, एउटा गीतले दबिएको भावना बाहिर ल्याउन सक्छ र एउटा परिचित आवाजले एक्लो मानिसलाई आफ्नोपनको अनुभूति दिलाउन सक्छ। त्यसैले संगीत चिकित्सा आधुनिक स्वास्थ्य सेवामा मानव मन, शरीर र भावनाबीचको सम्बन्धलाई जोड्ने एउटा संवेदनशील र सम्भावनायुक्त माध्यम बन्न सक्छ।