काठमाडौं- विपद्का समयमा फेला परेका शवको व्यवस्थापन गर्दा तत्काल पोस्टमार्टम वा मृत्युको कारण पत्ता लगाउनुभन्दा मृतकको पहिचानलाई प्राथमिकता दिनुपर्ने फरेन्सिक विज्ञ प्रा. डा. हरिहर वस्तिले बताएका छन्।
भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रा. डा. वस्तिले विपद्पछि विभिन्न अस्पतालमा शव तथा घाइतेहरू ल्याइपुर्याइँदा शव राख्ने स्थानको अभाव र विभिन्न किसिमका भ्रम फैलिन थालेकाले वैज्ञानिक तथा व्यवस्थित ढंगबाट शव व्यवस्थापन गर्नुपर्ने बताए।
उनका अनुसार विपद्का मृतकको पहिचान गर्ने प्रक्रियालाई डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन भनिन्छ। गृह मन्त्रालयले प्रकाशित गरेको सम्बन्धित निर्देशिकामा पनि विपद्पछि मृतकको पहिचानलाई प्रमुख उद्देश्यका रूपमा स्पष्ट गरिएको उनले बताए।
'विपद्का समयमा प्राथमिक उद्देश्य पोस्टमार्टम गर्ने वा मृत्युको कारण पत्ता लगाउनेभन्दा पनि व्यक्तिको पहिचान गर्नु हो,' प्रा. डा. वस्तिले भने।
उनका अनुसार मृतकको पहिचान दुई चरणमा गर्न सकिन्छ। पहिलो चरणमा मृतकको शारीरिक आकृति, लगाएको कपडा, गरगहना, ट्याटु, शरीरमा रहेका खत, विगतमा गरिएका शल्यक्रियाका चिन्ह तथा अन्य विशेष हुलियाका आधारमा प्रारम्भिक पहिचान गरिन्छ।
प्रारम्भिक पहिचानबाट यकिन हुन नसके वैज्ञानिक विधिबाट मृतकको सनाखत गरिन्छ। यसका लागि सबैभन्दा छिटो र सहज वैज्ञानिक विधि फिङ्गरप्रिन्ट अर्थात् औँठाछाप रहेको उनले बताए। त्यसपछि दाँतसम्बन्धी अभिलेख उपलब्ध भए डेन्टल रेकर्डबाट पनि पहिचान गर्न सकिने उनको भनाइ छ।
यी विधिबाट समेत पहिचान सम्भव नभए डीएनए परीक्षण गर्नुपर्ने हुन्छ। त्यसका लागि शवबाट समयमै नमुना संकलन गरी सुरक्षित राख्नुपर्ने र पछि नजिकका आफन्तबाट संकलन गरिने कन्ट्रोल नमुनासँग तुलना गरेर मृतकको पहिचान गर्न सकिने उनले बताए।
शव व्यवस्थापनका क्रममा सबैभन्दा महत्वपूर्ण कुरा उचित दस्तावेजीकरण रहेको प्रा. डा. वस्तिको भनाइ छ। पहिचान हुन नसकेका शवको आवश्यक विवरण र नमुना सुरक्षित राखी निर्देशिकाअनुसार अस्थायी चिहानमा गाड्न सकिने उनले बताए।
'चिकित्सक साथीहरूले सबै ठाउँमा सकेसम्म छिटो डकुमेन्टेसन गरेर अस्थायी चिहानमा गाड्न सल्लाह दिनुपर्छ,' उनले भने।
उनका अनुसार शवलाई एक–अर्कासँग नछुवाइकन र आवश्यक विवरणसहित सुरक्षित रूपमा गाडेमा पछि पहिचान गर्न सकिन्छ। पर्याप्त गहिराइमा गाडिएको शव जनावरले खोतल्ने सम्भावना पनि कम हुने र उचित व्यवस्थापन गरे दुर्गन्ध तथा अन्य समस्या समेत नियन्त्रण गर्न सकिने उनले बताए।
मौसम र स्थानअनुसार जमिनमुनि शवको अवस्था लामो समयसम्म सुरक्षित रहन सक्ने भन्दै उनले केही महिनापछि समेत पहिचानका लागि आवश्यक प्रमाण प्राप्त गर्न सकिने बताए। त्यसैले शवलाई हतारमा नष्ट गर्ने वा पहिचानका सम्भावित प्रमाण गुम्ने गरी व्यवस्थापन नगर्न उनले आग्रह गरे।
निर्देशिकाअनुसार अस्थायी चिहानमा गाडिएको शवलाई लामो समयसम्म सुरक्षित राख्न सकिने र पछि थप सूचना वा आफन्तबाट पहिचानसम्बन्धी दाबी आएमा पुनः शव निकालेर वैज्ञानिक परीक्षण गर्न सकिने उनले बताए।
'हामीलाई आफन्तको सूचना आउन हप्ता वा महिना लाग्न सक्छ। त्यसपछि उपलब्ध दस्तावेज र नमुनाका आधारमा पुनः ट्र्याक गरेर पहिचान गर्न सकिन्छ,' प्रा. डा. वस्तिले बताए।
विपद्का बेला अस्पताल, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय गरी शवको अभिलेखीकरण, नमुना संकलन, सुरक्षित भण्डारण तथा पहिचानको प्रक्रिया अघि बढाउनुपर्ने उनको जोड छ। यसले गलत सनाखत, शव साटिने अवस्था तथा विपद्पछि फैलिने भ्रम नियन्त्रण गर्नसमेत सहयोग गर्ने उनको भनाइ छ।