रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका काम भइरहेका छन्। बाढीका कारण धेरैले आफ्नो परिवार र आफन्त गुमाएका छन् भने सयौँ नागरिक घरबारविहीन बनेका छन्। यतिबेला विपद् प्रभावितहरुकहाँ राहत र सहयोगहरु पुग्न थालेको छ। अधिकांश प्रभावित ठाउँहरुमा सामूहिक भोजन र सामूहिक बसोबास गरिएको अवस्था छ। कतिपय नागरिकहरु अझै खुला क्षेत्रमै बसोबास गरिरहेका छन्।
यस्तो अवस्थामा बाढी प्रभावित क्षेत्रमा अर्को रोग तथा महामारीको जोखिम हुनसक्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्।
नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर कन्सल्टेन्ट फिजिसियन डाक्टर आलोक ढुङ्गेल बाढीका कारण विस्थापित भएका प्रभावित क्षेत्रका मानिसहरुले खानपान र बसोबासका क्रममा विशेष सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ।
बाढी प्रभावित क्षेत्रमा रोग तथा महामारी फैलन नदिन डाक्टर ढुङ्गेलको सुझाव यस्तो छ:
बाढीका कारण विस्थापित भएकाहरुमा खानपान, बसोबास, सरसफाइ तथा स्वच्छ खानेपानी तथा उचित शौचालयको व्यवस्थापन नभएमा अहिलेको अवस्थामा विभिन्न किसिमका रोग तथा महामारीको अर्को जोखिम छ। त्यसका लागि प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक छ।
बाढीका कारण मानिसहरुको घर नै बगाएको छ। उनीहरुले सञ्चय गरेर राखेको खाद्यान्न, पैसा सबैकुरा बाढीले बगाएको अवस्थामा प्रभावितहरुलाई सबैभन्दा पहिला त खानाको आवश्यकता हुन्छ।
बाढीबाट प्रभावित भएको क्षेत्रमा खाद्यान्नहरुको अभाव हुन सक्छ। जसले गर्दा भोलिका दिनमा कुपोषणको सिकार हुने जोखिम रहन्छ।
अर्को महत्वपूर्ण कुरा बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगहरुको जोखिम उच्च रहन्छ। अहिले वर्षायामको समय टरिसकेको छैन। अब मौसम परिवर्तनको समय पनि हुँदैछ। त्यसैले अहिलेको समय रुघाखोकी लगायत भाइरस संक्रमण, डेंगीको संक्रमण देखिने सिजन हो। यस्तै अहिले सर्पदंशको समस्या पनि यो समयमा उच्च रहन्छ। बाढी प्रभावित क्षेत्रमा यस्ता रोगहरुको संक्रमण झनै बढ्ने र महामारीको रुप लिने जोखिम उच्च रहन्छ।
अबका दिनमा उक्त क्षेत्रमा विशेषगरी झाडापखाला, बान्ता हुने, भाइरल ज्वरो, डेंगी लगायत संक्रामक वा संक्रामक नभएका दुवै प्रकारका रोगको जोखिम उच्च रहन्छ।
कतिपय बाढी प्रभावितहरु नदीको तटीय क्षेत्रबाट टाढा बस्न जंगल नजिक पुगेका हुनसक्छन्। यस्तो अवस्थामा जंगली जनावरहरुबाट पनि जोगिनुपर्ने हुन्छ।
अर्को महत्वपूर्ण कुरा बाढीबाट प्रभावित भएकाहरुका लागि स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन पनि प्राथमिकताको विषय हो। अहिले सरोकारवालाहरुले बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी र अस्थायी शौचालयको व्यवस्था गर्नुपर्छ।
यदि शौचालयको व्यवस्थापन भएन र जथाभावी शौच गर्दा दिसापिसाब खानेपानीमा मिसिएर अर्को महामारी फैलिन सक्छ।
प्रभावित क्षेत्रमा खाद्यान्न वितरणका लागि पुगेकाहरुले पनि जंकफुडको सट्टामा पोसिलो खानेकुरा दाल, चामल, चिउरा, गेडागुडी जस्ता अति आवश्यक र पोषणयुक्त खानेकुरा वितरण गर्नु उपयुक्त हुन्छ। बाढी प्रभावित बसोबास गरिरहेका मास सेल्टरहरुमा सरसफाइ, स्वच्छ खानेपानी, शौचालयको व्यवस्थापन अहिलेको आवश्यकता हो।
प्रभावित क्षेत्रमा जुनसुकै समय रोग तथा महामारीको जोखिम हुने भएकाले प्राथमिक उपचारका लागि आवश्यक मेडिकल बक्स पनि प्रभावित क्षेत्रमा आवश्यक हुन्छ।
विशेषगरी बालबालिका, गर्भवती, दीर्घरोगका बिरामी, वृद्धवृद्धा तथा महिलालाई प्राथमिकतामा राखेर स्वास्थ्य सावधानी अपनाउनुपर्छ। बाढी प्रभावित क्षेत्रमा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या लगायत दीर्घरोगका बिरामीहरु छन् भने उनीहरुको अत्यावश्यक औषधि बाढीले पुरिएको हुनसक्छ। उनीहरुका लागि दैनिक सेवन गर्ने अत्यावश्यक औषधिहरु पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ।
अर्को महत्वपूर्ण कुरा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरु यतिबेला ठूलो विपत्तिमा छन्। यसमा हामी सारा नेपाली पनि दुःखी छौँ। प्रभावित क्षेत्रका मानिसहरुले घर मात्र गुमाएका छैनन्, कतिपयले आफ्नै आँखाअगाडि परिवार सबै गुमाएका छन्। कतिपय बाढीमा परेर बाँच्न सफल भएकाहरु घाइते अवस्थामा छन्। उनीहरु मानसिक रुपमा पनि विचलित भएको अवस्था छ। यस्तो समयमा उनीहरुको मानसिक स्वास्थ्यलाई पनि विचार गर्नुपर्ने हुन्छ। आएको विपत्ति अब टर्दैन तर बाँचेका मानिसहरुको जीवन अगाडि बढाउनुपर्ने नै हुन्छ। त्यसैले यो विपत्तिको डर, त्रासबाट अब मानिसहरु बाहिर निस्किन जरुरी छ। भोलिका दिनमा उहाँहरुमा डिप्रेसन, एन्जाइटी लगायतका समस्या हुनसक्ने भएकाले सरोकारवालाहरुले मनोपरामर्शका कार्यक्रम पनि प्रभावित क्षेत्रमा गर्न आवश्यक छ।