काठमाडौं- बाढी-पहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेस्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान गरेको छ।
विपत्तिको कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालले अर्थ सचिव डा. घनश्याम उपाध्याय मार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। बाढी पहिरोबाट विस्थापित परिवारका लागि खाद्य सामग्री, सुरक्षित बासस्थान र खानेपानी व्यवस्थापनमा मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ।
विपत्तिको यस घडीमा नागरिकको ज्यान जोगाउनु र प्रभावित परिवारलाई मद्दत गर्नु पहिलो कर्तव्य भएको बताउँदै अस्पतालका कार्यकारी निर्देशक दीपक चन्द्र बरालले बाढी प्रभावित जिल्लाका नागरिकलाई दुई महिनासम्म निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेका छन्। आर्थिक अभावका कारण कोही पनि घाइते उपचारबाट वञ्चित हुन नपरोस् भनेर अस्पतालमा उपलब्ध सेवाहरूमा दुई महिनाका लागि निःशुल्क स्वास्थ्य सेवा सहयोगको निर्णय गरिएको बरालले जानकारी दिए।
वित्तीय सहयोगका अतिरिक्त अस्पतालले बाढीपहिरोबाट घाइते तथा प्रभावित बिरामीहरूका लागि २४ सै घण्टा आकस्मिक सेवाहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ। सरकारसँगको समन्वयमा अति प्रभावित र दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टर र औषधिसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने विपत्तिबाट परेको मानसिक आघात कम गर्न निःशुल्क मनोसामाजिक परामर्श सेवासमेत प्रदान गरिनेछ। स्थानीय निकायसँगको समन्वयमा खाद्यान्न, पिउने पानी र त्रिपाल जस्ता प्राथमिक राहत सामग्री वितरण गर्ने तयारी गरेको अस्पतालले जनशक्ति, एम्बुलेन्स सेवा र औषधीजन्य सहयोगका लागि २४ सै घण्टा तत्पर रहेको जनाएको छ।
यसका साथै अस्पतालले तीनकुने प्रहरी वृत्तलाई पिपिसेट, ग्लब्स र अन्य स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ।