काठमाडौं- चर्चित भारतीय अभिनेता तथा फिल्मकर्मी नाना पाटेकरको ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा गम्भीर हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई बचाउन सकेनन्।
गोवाको डोना पाउलास्थित अपार्टमेन्टमा उनलाई अचेत अवस्थामा भेटिएपछि तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालका वरिष्ठ चिकित्सक डा. शेखर सालकरका अनुसार उनलाई करिब ४५ मिनेटसम्म लगातार मुटु चलाउने प्रयास अर्थात् सीपीआर दिइए पनि सफल हुन सकेन। बिहान करिब ५ः२० बजे उनको निधन पुष्टि भएको थियो।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले पनि उनको निधनको पुष्टि गरेका छन्। उनको निधनको विस्तृत कारण र परिस्थितिबारे थप प्रक्रिया अघि बढिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नाना पाटेकर हिन्दी र मराठी दुवै चलचित्रमा आफ्नो प्रभावशाली अभिनयका लागि चर्चित थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन्। अभिनयसँगै उनले चलचित्र निर्देशनमा समेत काम गरेका थिए।
उनले अभिनयका लागि तीनवटा राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए। सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो।
नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रले बहुआयामिक र प्रभावशाली कलाकार गुमाएको छ।