काठमाडौं- पूर्वस्वास्थ्य मन्त्री गगन थापा सभापति र प्रदीप पौडेल महामन्त्रीमा निर्वाचित भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नौ जना चिकित्सक र एक मेडिकल व्यवसायी केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्।
महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा भएको निर्वाचनमा चिकित्सकहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित भएका हुन्। निर्वाचित हुनेमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरू छन्।
डा. फिरदोस आलम मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी र कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र पेशागतबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
नेपाल चिकित्सक संघका अर्का पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा मधेश भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन्।
त्यस्तै, स्वास्थ्य मन्त्रालयको प्रशासकबाट सेवानिवृत्त डा. गरिव दास ठाकुर मधेशी खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा सक्रिय प्रा. डा. अमिता प्रधान शाक्य केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। उनी पीपुल्स डेन्टल कलेज एन्ड हस्पिटलमा प्राध्यापकका रूपमा कार्यरत छिन्।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. सीता पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। स्तन क्यान्सर शल्यचिकित्सक डा. यशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचित हुने मेडिकल व्यवसायी खुमा प्रसाद अर्याल पनि हुन्। उनी गण्डकी प्रदेशको खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।