काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्ययनको बाटो खुलेको छ। कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययन गर्न ५० सिट पाएको छ।
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ९ हजार ६९१ सिट निर्धारण गर्दा गेटा विश्वविद्यालयलाई एमबीबीएसतर्फ ५० सिट दिएको हो। यससँगै सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीको लामो समयदेखिको प्रतीक्षा पूरा हुने भएको छ।
आयोगको सिट निर्धारणअघि विश्वविद्यालयले एमबीबीएससहित विभिन्न चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवेदन दिएको थियो। विश्वविद्यालयले एमबीबीएसमा ५०, बीएससी नर्सिङमा ३०, मेडिकल ल्याब टेक्नोलोजीमा २० र बीएससी अप्टोमेट्रीमा २० सिट माग गरेको थियो।
विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक शैक्षिक जनशक्ति व्यवस्थापन र अस्पतालको क्षमता विस्तारको तयारीसमेत अघि बढाएको थियो। गेटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पतालका रूपमा विकास गरिरहेको छ।
गेटामा एमबीबीएस पढाइ सुरु हुने विषय सुदूरपश्चिमका विद्यार्थीका लागि महत्त्वपूर्ण मानिएको छ। यसअघि चिकित्सा शिक्षा अध्ययन गर्न धेरै विद्यार्थीले प्रदेशबाहिरका शिक्षण संस्थामा जानुपर्ने अवस्था थियो।