काठमाडौँ– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि ३०–३० सिट थप गरेको छ। दुवै संस्थामा यसअघि १००–१०० सिट कायम रहेकामा अब १३०–१३० सिट पुगेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले दुवै सरकारी शिक्षण संस्थाको सिट वृद्धि गर्ने निर्णय गरेको हो। आयोगले यस वर्ष एमबीबीएसतर्फ कुल ११० सिट थप गरेको छ। त्यसमा गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक ५० सिट दिइएको छ भने बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट वृद्धि भएसँगै दुवै संस्थामा एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना क्षमता बढेको छ। गत वर्ष सरकारी शिक्षण संस्थामा सिट वृद्धि नभएको अवस्थामा यस वर्ष भने सरकारी संस्थामा मात्रै सिट थप गरिएको छ।
चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएससहित विभिन्न चिकित्सा शिक्षा कार्यक्रममा कुल ४१८ सिट थप गरेको छ। कुल ९० शिक्षण संस्थाले सिट माग गरेकामा अनुगमन प्रतिवेदनका आधारमा ८४ संस्थाको सिट निर्धारण गरिएको हो। निजी मेडिकल कलेजको सिट सङ्ख्या भने यथावत् राखिएको आयोगले जनाएको छ।