काठमाडौं — नेपाली सामाजिक वैज्ञानिक मन्दिरा लामिछाने अन्तर्राष्ट्रिय विज्ञान परिषद् (आईएससी)को फेलो निर्वाचित भएकी छन्। उनी यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिला वैज्ञानिक हुन् भने सम्मान पाउने दोस्रो नेपाली नागरिक बनेकी छन्।
लामिछानेले स्वास्थ्य, जलवायु परिवर्तन, लैङ्गिक समानता र जनस्वास्थ्यका क्षेत्रमा वैज्ञानिक अनुसन्धान, नीतिगत सहभागिता तथा नेतृत्वमार्फत पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान पाएकी हुन्।
हाल काठमाडौंस्थित प्लानेटरी हेल्थ रिसर्च सेन्टर (पीएचआरसी)मा अनुसन्धान निर्देशक तथा फेलोका रूपमा कार्यरत लामिछाने ग्लोबल योङ एकेडेमीकी सदस्यसमेत हुन्। उनले प्रमाणमा आधारित नीति निर्माण, जलवायु तथा वातावरणीय स्वास्थ्य अनुसन्धान र दिगो विकासमा लैङ्गिक संवेदनशील दृष्टिकोणको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी छन्।
सन् २०१८ मा स्थापना भएको अन्तर्राष्ट्रिय विज्ञान परिषद्ले विश्वभरका वैज्ञानिक संस्थाबीच सहकार्य प्रवर्द्धन गर्दै आएको छ। परिषद्को फेलोशिप विज्ञानलाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अघि बढाउन उल्लेखनीय योगदान पुर्याउने वैज्ञानिकलाई प्रदान गरिने सर्वोच्च सम्मान हो।
लामिछानेको यो उपलब्धिलाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा नेपालको पहिचान सुदृढ गर्ने र महिला तथा युवा अनुसन्धानकर्तालाई प्रेरित गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।