पोखरा- कास्की प्रहरीले पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित एक फार्मेसी सञ्चालिकालाई लागूऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले जलधारे फार्मेसीमा जाँच गरेको थियो।
जाँचका क्रममा फार्मेसी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानाको साथबाट कोडिन कोडिप–पी ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विवरण उल्लेख छ।