सामान्यतया जाडोयाममा हामी थोरै पानी खान्छौं । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं। तर शरीरमा पानीको कमी भएको महसुस गर्दैनौं।
अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ ।
शरीरमा पर्याप्त मात्रामा पानीको मात्रा हुँदा हाम्रो शरीरमा पर्ने सकारात्मक र नहुँदाको नकारात्मक प्रभाव यस्ता छन्।
शरीरमा पानीको मात्रा पर्याप्त भए जोर्नी सुख्खा हुन पाउँदैनन् र जोगिन्छन् । पर्याप्त पानीको मात्रा भए हामीले व्यायाम गर्दा कुसन (गद्दा)को काम गर्ने भएकाले जोर्नीमा धक्का पर्न पाउँदैन।
शरीरमा पर्याप्त पानीको मात्रा नभए व्यायाम गर्दा चाँडै थाकिन्छ । कुनै पनि काम गर्न जाँगर हुँदैन र ध्यानपूर्वक काम गर्न सकिँदैन ।
यसैगरी पानीको मात्रा पर्याप्त भए छोटो समयका लागि स्मरण शक्ति तिखो र मुड पनि ताजा रहन्छ । साथै एकाग्रता पनि हुन्छ।
शरीरमा पानीको कमी भए एकाग्र हुन नसक्नुका साथै किनभने छोटो समयका लागि सम्झनामा ह्रास हुने भएकाले झर्को लाग्ने र उद्धिग्न बनाउँछ।
शरीरमा पानीको आवश्यक मात्रा रहे नरहेको हामीलाई कति तिर्खा लाग्छ र मूत्रको रंगबाट थाहा पाउन सकिन्छ । हामीलाई तिर्खा लागेन र मूत्रको रंग हलुका पहेंलो तथा सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ।
पानीको पर्याप्त मात्रा हुँदा हाम्रो मुटुले पूरै शरीरभरीका रक्त नलीबाट सजिलै रक्त सञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्त प्रवाह हुन्छ।
पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ।
शरीरमा पर्याप्त तरल पदार्थ भए हाम्रो मूत्र नली (शरीरबाट पिसाब बाहिर निस्कने बाटो) स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ।
तर तरल पदार्थको मात्रा न्यून भए पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा नै जम्छन् पत्थरीका रुपमा हामीलाई दुःख दिन्छ।
पानी पिउनु बाहेक पनि पानीयुक्त खानेकुरा र फलफूल जस्तै कांक्रो, सागपात, सेलरी, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे शरीरमा पानी वा तरलताको कमी हुन पाउँदैन।
पर्याप्त तरलता भए हाम्रो पाचन प्रणालीले पनि सहजतापूर्वक खानेकुरा पचाउँछ । तर पर्याप्त तरलता नभए हाम्रो शरीरले पचेर बाहिरिने मल÷दिसाबाट तरल पदार्थ लिन्छ, फलस्वरुप पेट सफा नहुने र कब्जियतको समस्याले सताउँछ।
तर पसिना वा पिसाबबाट निस्कन नसक्ने गरी अत्यधिक पानी पिए वा शरीरमा चाहिनेभन्दा बढी तरलता भए हाम्रो शरीरमा नुन (सोडियम) को स्तर अत्यन्त न्यून हुन्छ र स्वास्थ्यमा जोखिम उत्पन्न हुन्छ । यस्तो स्थितिलाई हाइपोन्याट्रिमिया भनिन्छ।
शरीमा पानीको मात्रा न्यून भए माइग्रेनको दुखाइ फेरि सुरु हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय लम्बिन सक्छ।
पानीको मात्रा पर्याप्त राख्ने उपायहरू
– पानीको बोतल सधैं बोक्ने
– घरबाहिर खानु परे पानी र तरल पदार्थलाई प्राथमिकता दिने
– हरेक पल्ट स्न्याक्स वा खाजा वा खानेकुरा खाँदा पानी पनि पिउने
– सकेसम्म धेरै फलफूल र सागसब्जी खाने