काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रमा भएको एक सर्भेक्षणले २३ दशलव ४ प्रतिशत पुरुष र १६ दशमलव ८ प्रतिशत महिलामा उच्चरक्तचापको समस्या रहेको देखाएको छ।
स्वास्थ्य क्षेत्रमा हरेक पाँच वर्षको अन्तरालमा हुँदै आएको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण’ले १५ वर्षभन्दा माथिका महिला र पुरुषको उच्च रक्तचापको समस्यालाई छुट्टाछुट्टै तथ्यांकमा देखाएको हो।
तथ्यांक अनुसार २५ वर्षभन्दा कमका ६ दशमलव १ प्रतिशत महिला र १० दशमलव ९ प्रतिशत पुरुषमा रक्तचापको समस्या छ । यो नेपालमा युवास्थमा रक्तचापको समस्या बढ्दै गएको पुष्टि गर्ने एउटा महत्वपूर्ण तथ्यांक हो । युवावस्थामा बढेको उच्चरक्तचापले छिट्टै हृदयाघात, मस्तिष्कघात लगायतका गम्भिर समस्या बढ्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।
नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ अनुसार उच्च रक्तचापको समस्या भएका २ प्रतिशतले मात्र औषधि सेवन गरेर रक्तचापलाई सामान्य अवस्थामा राखेका छन्।
उच्च रक्तचापको समस्या ६५ वर्षभन्दा माथिका महिला र पुरुषमा सबैभन्दा बढी छ। तिमध्येमा पनि महिलामा धेरै समस्या रहेको सर्भेक्षणले देखाएको छ। सर्भेक्षण अनुसार ६५ वर्ष माथिका ४४ दमलव ४ प्रतिशत महिला र ४१ दशमलव ८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।