चितवन– भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भारतको बिहारदेखि मुटु रोगको उपचार गराउन बिरामी आउन थालेका छन्। अस्पतालमा दैनिक ७० जनाको हाराहारीमा बिरामी ओपिडीमा आउने गरेकोमा २-३ जना भारत बिहारका हुने गरेको अस्पतालले जनाएको छ।
अस्पतालको कार्डियोलोजी विभागका प्रमुख डा श्यामराज रेग्मीका अनुसार विशेषज्ञ डाक्टरले २४सै घन्टा मुटु रोगको उपचार सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै गएको हो।
‘सुरुमा चितवन र नवलपरासीका बिरामी मात्र मुटुको उपचारका लागि आउने गर्थे,’ उनले भने, ‘तर, अहिले नेपालको पूर्वदेखि पश्चिमसम्मका मात्र नभई भारतको बिहारदेखि बिरामी आउने गरेका छन्।’
उनले गुणस्तरीय उपचार प्रदान हुन्छ भन्ने सन्देश बिहारसम्म पुग्नु अस्पतालका लागि मात्र नभई नेपालकै लागि खुसीको कुरा भएको बताए।
अस्पतालले २०७० सालदेखि क्याथल्याब सेवा सुरु गरेको हो। क्याथल्याब सेवा सुरु भएयता हालसम्म अस्पतालबाट १५ सय भन्दा बढीले नयाँ जीवन पाइसकेका छन्। अस्पतालमा हाल तीन जना पूर्णकालीन मुटु रोग विशेषज्ञ डाक्टर कार्यरत छन्।
अस्पतालले गंगालाल हृदय केन्द्रकै शुल्कमा बिरामीलाई उपचार सेवा दिने गरेको डा रेग्मीले जानकारी दिए।