काठमाडौं- एमबिबिएस प्रवेश परीक्षामा भएको चिट चोरी प्रकरणबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनका विषयमा त्रिवि कार्यकारी परिषद्ले कुनै निर्णय लिन सकेन।
कार्यकारी परिषद्को बुधबार राति साढे ८ बजेसम्म चलेको बैठकमा सदस्यहरुबीच नै मत बाझिएपछि निर्णय हुन नसकेको हो। एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने वा नगर्ने विषयमा सदस्यहरुबीचमै मतभेद भएपछि बिहीबार पुन छलफल हुने भएको छ।
त्रिविका उपकुलपति तीर्थ खनियाँले प्रतिवेदनबारे बृहत् छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको बताए।
‘छलफलका क्रममा सदस्यहरुबीचमै मत बाझियो’, खनियाँले भने, ‘बिहीबार फेरि यसबारे छलफल गर्ने भएका छौं।’
त्रिवि कार्यकारी परिषदमा उपकुलपतिका साथै शिक्षाध्यक्ष, रजिस्ट्रार, कानुनका डीन र एक जना शिक्षक सदस्य रहन्छन्।
गत असोज २८ गते भएको एमबिबिएस प्रवेश परीक्षामा विद्यार्थीले डिभाइस मार्फत चिट चोरेको फेला परेपछि त्रिविले डा चिन्तामणि पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार त्रिविलाई पतिवेदन बुझाएको थियो।
समितिको प्रतिवेदन अनुसार, परीक्षा हलमा वितरण गरिएको सक्कल प्रश्नपत्र र विद्यार्थीले डिभाइसमार्फत दिएका उत्तरहरुलाई भिडाएर हेर्दा सेट दुईका १४ प्रश्नको उत्तर मात्र मिलेको थियो।
सेट दुईका कुल ६० प्रश्नमध्ये दुई वटा शाब्दिक र १२ वटा अन्य प्रश्न मात्र मिलेको प्रतिवेदनमा उल्लेख छ।
यो पनि पढौं: