नेपालगन्ज – बाँकेको लक्ष्मणपुरस्थित प्राथमिक उपचार केन्द्रको अस्पताल भवन निर्माण सुरु भएको ७ वर्ष भएपनि अझै पूरा हुन सकेको छैन।
सडक यातायातको समेत भरपर्दाे सुविधा नभएको बाँके जिल्लाको दुर्गम क्षेत्रमा पर्ने लक्ष्मणपुरमा अस्पताल भवन नबन्दा त्यस क्षेत्रका ८० हजार जनताले सरकारले उपलब्ध गराएको आधारभूत उपचार सेवा समेत सहज रुपमा पाउन सकेका छैनन्।
१८ महिनामा निर्माण पूरा गर्ने गरी ठेक्का लिएको सुरुची जागृति निर्माण कम्पनीले ७ वर्षमा पनि करिब ६५ प्रतिशत काम मात्रै पूरा गरेको छ । २०७३ चैत देखि निर्माणको काम ठप्प अवस्थामा रहेको प्राथमिक उपचार केन्द्र लक्ष्मणपुरका निमित्त प्रमुख मोहमद कैयब राइनले बताए।
निर्माण व्यवसायीले अनेकौं बाहना बनाउँदै निबेदन दिने र शहरी विकास तथा भवन निर्माण बिभागका कर्मचारीलाई प्रलोभनमा पारेर म्याद थप गर्दै आएका छन्।
समयमा काम नरेको जनाउँदै शहरी बिकास तथा भवन निर्माण विभागले निर्माण कम्पनीलाई कारबाहीका लागि सूचना समेत प्रकाशित गरेको छ । दुर्गम ठाउँ भएकाले त्यस क्षेत्रमा निजी स्वास्थ्य संस्था पनि छैनन्। मेडिकल अधिकृतको दरबन्दी भएको लक्ष्मणपुर प्राथकिम उपचार केन्द्र अहेबको भरमा चल्दै आएको छ । आफ्नो भवन नभएका कारण केन्द्र भाडाका ३ वटा कोठामा सञ्चालन हुँदै आएको छ । प्राथमिक उपचार केन्द्रले भाडा लिएको भवनमा शौचालयको समेत ब्यबस्था छैन।
सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राथमिक उपचार केन्द्र स्थापना गरी केन्द्रमा एमबिबिस डाक्टर सहित एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीहरुको दरबन्दी हुने व्यवस्था गरेपछि २०५० सालमा लक्ष्मणपुर प्राथमिक उपचार केन्द्र स्थापना भएको थियो । केन्द्र स्थापना भएको २४ वर्षको अवधिमा नियमित रुपमा ३ महिना समेत चिकित्सक केन्द्रमा बसेका छैनन्।

हाल केन्द्रमा दरबन्दी भएका डा राजेश कुमार मन्डल एक वर्षदेखि अध्ययन बिदामा छन्। एमबिबिस डाक्टर सहित एक दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरु हुनुपर्ने केन्द्र अहिले अहेब र करार सेवाका अनमी गरी ६ जना स्वास्थ्यकर्मीहरुले चलाइरहेका छन्।
प्राथमिक उपचार केन्द्रको आफ्नै अस्पताल भवन नहुँदा त्यहाँ चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जानै नमान्ने समस्या छ।
१८ महिनामा निर्माण पूरा गर्ने गरी निर्माण व्यवसायी गगन शाक्यले करिब ३ करोड १९ लाख तीन तले भवनको निर्माण गर्ने ठेक्का लिएका थिए।