काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान)ले मदिरामा मातिएर डाक्टरमाथि हातपात गर्ने प्रहरीलाई सेवाबाट वर्खास्त गर्न माग गरेको छ।
गोदानले आज विज्ञप्ति जारी गर्दै इनरुवा अस्पतालमा भएको घटनाप्रति भर्तना गर्दै दोषिलाई कडा कारवाहीको माग गरेको हो ।
दुर्घटनामा घाइते भएका आफन्तको मृत्यु भएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। पोखरेलका आफन्त रामचन्द्र भट्टरार्इ सवारी दुर्घटनामा परेका थिए।
दुर्घटना लगत्तै उनलाई उपचारका लागि इनरुवा अस्पताल लगिएको थियो। तर, उनको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको थियो।
गोदानले मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट बनाउँदै गरेका डाक्टरमाथि आक्रमण गर्ने प्रहरी निरिक्षक पोखरेललाई कारवाही गर्दै प्रहरीको साख जोगाउन आग्रह गरेको छ।
गोडानका कार्यबहाक अध्यक्ष डा सुनिल पौड्यालद्वारा जारी विज्ञप्तिमा अस्पताल र डाक्टरमाथि बढ्दै गएको आक्रमण रोक्न जेल विथवाउट बेलको व्यवस्थासहितको कानुन फास्ट ट्रयाकबाट ल्याउन पनि माग गरिएको छ ।