काठमाडौं– सरकारले नियुक्ति बदर गरे पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार कृष्णबहादुर भण्डारी गैरकानुनी रुपमा काम गर्दै आइरहेको पाइएको छ।
निर्वाचन आयोगको निर्वाचन आचारसंहिता अनुगमन तथा कार्यान्वयन समितिको कात्तिक ३ को बैठकले नै भण्डारी नियुक्तिको निर्णय बदर गरिसकेको छ। आयोगको उक्त निर्णयका आधारमा स्वास्थ्य मन्त्रालयले पनि प्रतिष्ठानमा भण्डारीको नियुक्ति बदरको पत्र पठाइसकेको छ।
तर, प्रतिष्ठानले आयोग र मन्त्रालयको पत्र बेवास्ता गर्दै गैरकानुनी रुपमा रजिस्ट्रारलाई नियमित काममा खटाइरहेको छ। नियुक्ति बदर भइसक्दा पनि रजिस्ट्रार भण्डारी नियमित रुपमा प्रतिष्ठानमा गई हाजिर गरिरहेका छन् भने गाडी लगायतका सेवा–सुविधा लिइरहेका छन्।
मन्त्रालयले आयोगको पत्रपछि कात्तिक २१ मा प्रतिष्ठानका उपकुलपतिलाई भण्डारीको नियुक्ति बदर भएकाले रजिस्ट्रार पदमा नयाँ नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्न पत्राचार गरेको थियो।
भण्डारी यसअघि प्रतिष्ठानमै रजिस्ट्रारका रुपमा कार्यरत थिए। उनले गत कात्तिक ३ गते अवकास पाएका हुन्। रजिस्ट्रारबाट भण्डारीले अवकाश पाउने भएपछि तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले उनलाई नै निरन्तरता दिने निर्णय गरिएको भन्दै आयोगमा समर्थनका लागि असोज ३१ मा पत्र पठाएका थिए।
उक्त पत्रपछि आयोगले भण्डारीलाई निरन्तरता दिने निर्णयमा समर्थन दिन नसकिने भन्दै उनको नियुक्ति बदर गर्ने निर्णय गरेको थियो।
‘कृष्णबहादुर भण्डारीलाई निरन्तरताको पत्र दिनका लागि आयोगको समर्थन माग भई आएकोमा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता अनुगमन तथा कार्यान्वयन समितिको कात्तिक ३ को बैठकबाट निर्वाचन आयोग ऐन बमोजिम रजिस्ट्रार नियुक्तिको उक्त निर्णय बदर गर्न आदेश दिने निर्णय भएको हुँदा सोही बमोजिम गर्नु÷गराउनु हुन निर्णयानुसार अनुरोध छ,’ आयोगले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ।
आयोगको उक्त पत्र लगत्तै स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई भण्डारीको नियुक्ति बदर भएको भन्दै पत्र पठायो। पत्रमा भनिएको छ, ‘रजिस्ट्रारमा भण्डारीलाई निरन्तरता दिनेसम्बन्धी भएको निर्णय बदर गर्ने ब्यहोराको निर्वाचन आयोगको पत्र यसैसाथ संलग्न छ। सोही बमोजिम उक्त निर्णय बदर भएकाले प्रतिष्ठानका काममाजलाई सूचारु रुपमा अघि बढाउन तत्काल रजिस्ट्रार पदमा नियुक्ति गर्न आवश्यक देखिएको हुँदा प्रतिष्ठान ऐन बमोजिम रिक्त पदका लागि योग्य ३ जनाको नाम सिफारिस गरी ३ दिनभित्र पठाउनु हुन अनुरोध छ।’
तर, प्रतिष्ठानले मन्त्रालयको उक्त पत्रलाई बेवास्ता गर्दै भण्डारीलाई नै काममा खटाइरहेको छ। प्रतिष्ठानले रजिस्ट्रारका लागि नाम समेत सिफारिस गरेको छैन।
प्रतिष्ठानका उपकुलपति डा भरत यादवले निर्वाचन आयोगको पत्रका विषयमा आफूलाई जानकारी नभएको बताए।
‘अघिल्लो मन्त्रीको निर्देशन अनुसार नै भण्डारीलाई नियमित काममा खटाइएको हो,’ उनले भने, ‘मन्त्रालयले पत्र पठाएपछि निर्वाचनको समयमा नयाँ नियुक्ति गर्न समस्या हुने भएकाले नाम सिफारिस गर्न नमिल्ने भन्दै जबाफ पनि दिएका छौं।’ उनले प्रतिष्ठानको काम प्रभावित हुने भएकाले मात्र भण्डारीलाई काममा निरन्तरता दिइएको बताए।
प्रतिष्ठानका कर्मचारीले भने नियुक्ति बदर भएका व्यक्तिले टेन्डर लगायत ठूला निर्णय गरिरहेको भन्दै विरोध जनाएका छन्।