काठमाडौं– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गत असोज २८ गते लिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गरेको छ।
आइओएमको प्रवेश परीक्षा सञ्चालन समितिले त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार परीक्षा रद्द गरेको हो। त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा आवश्यक निर्णय गर्न आइओएमलाई गत बिहीबार निर्देशन दिएको थियो।
आइतबार बसेको प्रवेश परीक्षा सञ्चालन समितिको बैठकले पुरानो परीक्षा रद्द गर्दै नयाँ परीक्षा लिने निर्णय गरेको हो। आइओएमले परीक्षाको नयाँ मिति एक-दुई दिनमै सार्वजनिक गर्ने जनाएको छ।
गत असोज २८ गते भएको परीक्षामा डिभाइसको प्रयोग गरी प्रश्नपत्र बाहिरिएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले चिट चोरी गर्ने ५ जना विद्यार्थीलाई तत्कालै पक्राउ गरेको थियो। त्यसपछि त्रिविले चिन्तामणि पोखरेलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।
छानबिन समितिले परीक्षामा चिट चोरी भएको र प्रश्नपत्र डिभाइसका माध्यमबाट बाहिरिएको प्रतिवेदन त्रिविलाई बुझाएको थियो।