काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस प्रवेश परीक्षा रद्द गरेकै दिन गोप्य डिभाइसमार्फत चिट चोराउने गिरोहका नाइकेहरु सामान्य धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार २ जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ भने अन्य १२ जनालाई सामान्य धरौटी मागेको छ।
पक्राउ परेका भारतीय नागरिकद्वय बिशवदेव र सौभरकुमार जेल चलान भएको र अरु धरौटीमा छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । जिल्ला अदालतले गिरोहका नाइके समिर झालाई ५० हजार तथा अन्य ११ जनालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले धरौटी मागेको छ । सबैजना धरौटी तिरेर छुटेका छन्।
प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध, ठगी र साइबर क्राइम मुद्दा चलाएको थियो । पक्राउ परेकाहरु डा.सुशील मण्डल, अभय मिश्र, शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश रायविरुद्ध मुद्दा दायर गरेको थियो।
त्यस्तै चिट चोर्ने क्रममा रंगेहात पक्राउ परेका बिद्यार्थीहरु राहुल झा, शिखा झा, महेन्द्र ठाकुरलाई पनि मुद्दा चलाइएकोमा उनीहरु पनि २५ हजार धरौटीमा छुटेका छन् । प्रहरीले २८ असोजमा चिट चोर्ने विद्यार्थी तथा चोराउने गिरोहलाई पक्राउ गरेको थियो । ‘हाम्रो मेहनत खेर ग¥यो,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्,‘देशको मेडिकल शिक्षालाई नै ध्वस्त बनाउने गिरोहहरु सामान्य धरौटीमै छुट्दा अपराधीहरु प्रोत्साहित भएका छन् ।’