काठमाडौं– जनरल प्य्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । मंसिर ९ र १० गते काठमाडौंमा हुने सम्मेलन जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल (जिपान)ले आयोजना गरेको हो । नेपालमा सात वर्षपछि हुन लागेको सम्मेलनमा विभिन्न देशका चिकित्सकहरुको सहभागिता रहनेछ।
यस सम्मेलनबाट चिकित्सकहरुले विभिन्न देशको स्वास्थ्य अवस्था, उपचार विधि र नयाँ उपचार प्रणाली बारे ज्ञानसीप आदानप्रदान गर्ने जिपानका अध्यक्ष प्राडा भरत यादवले बताए । सम्मेलनमा उनीहरुको अन्तराष्ट्रिय संस्था वल्र्ड अर्गनाइजेसन अफ नेशनल कलेज एकेडेमिक एन्ड एकेडेमिक एशोसियसन अफ जनरल प्य्राक्टिसनर÷फ्यामिली फिजिसियनका अध्यक्ष प्रा.डा. अमन्दा होवको पनि सहभागिता रहनेछन्। सम्मेलन आयोजक समिति अध्यक्ष प्राडा प्रताप नारायण प्रसाद जनरल प्य्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञहरुको भूमिका विश्वव्यापी रुपमा समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि रहेका बताउँछन् । जिपानले स्वास्थ्य सम्बन्धि बिभिन्न संघसंस्थाहरुबीच पुलको काम गरेको भन्दै उनले युनिभर्सल हेल्थ कभरेज मुल नारा भएको बताए।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । दुई दिनसम्म हुने सम्मेलनमा नेपालबाट ४ सय र अन्य देशबाट १ सय ५० जना चिकित्सकको सहभागिता रहने अनुमान आयोजकको छ । जिपानका महासचिव तथा यस सम्मेलनका संयोजक डा सन्जिव तिवारी सम्मेलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनरल प्य्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञहरुको ज्ञान बाँड्ने मञ्च भएको बताउँछन्।