प्युठान- स्वर्गद्वारी नगरपालिका-४ की निर्मला शाही स्कुलमा काम गरिरहेकी थिइन्। त्यही बेला छोराको हात पोल्यो। हत्तपत्त भिगृ बजारमा रहेको मेडिकलमा लगेर सामान्य उपचार त गराइन् तर साता दिन बितिसक्दा पनि छोरो जाती हुन सकेका छैनन्।
निर्मला घर नजिकैको चन्द्रेश्वरी प्राविमा ६ महिनायता कार्यालय सहयोगीको रुपमा काम गर्छिन्। अढाइ वर्षका छोरा इन्द्रमले बाख्रालाई दाना पकाएर राखेको तातो भाडामा हात हाल्दा यो अवस्था आइलागेको उनी बताउँछिन्। उनको हातको नाडीदेखि तल औँलासम्म पूरै जलेको छ।
'म स्कुलमा काम गरिरहेको थिएँ। त्यही बेला छोराले हात पोलेछ,' उनले भनिन्, 'उपचार गराउन आर्थिक अभाव मलाई निकै पीडा भइरहेको छ।'
छोराको उपचार गराउन आर्थिक अभाव हुँदा निकै तनावमा छिन्। छिमेकीसँग ऋण खोजेर सुरुमा छोरालाई उपचार गराए पनि अहिलेसम्म ठिक नभएको उनले बताइन्।
'मेडिकलवालाले राम्रो उपचारको लागि राम्रो अस्पतालमा लैजानुपर्छ भनेका छन्,' उनले समस्या दर्शाइन्, 'पैसा कति लाग्ने हो थाहा छैन। पैसा पनि छैन। मल्हम त लगाइदिँदैछु तर अझै निको भएन।'
घरमा रहेका वृद्ध सासू-ससुराको रेखदेख गर्ने जिम्मा पनि उनकै काँधमा छ। तीन छोरामध्ये इन्द्रम कान्छा छोरा हुन्। जेठा इमेज ५ र माइलो इशासन ३ कक्षामा पढ्छन्।
घरखर्च आफैंले चलाउनुपर्दा निकै गाह्रो भएको उनले सुनाइन्। कसैले छोराको उपचारमा सहयोग गरे छोरा छिट्टै ठिक हुने उनको आशा छ।