काठमाडौं- चिकित्सा शास्त्रको विशेषज्ञ तह (पोस्ट ग्राजुएट) अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीले अनिवार्य रुपमा प्रवेश परीक्षा दिनुपर्ने भएको छ।
नेपाल मेडिकल काउन्सिलले आगामी जनवरीदेखि विदेशमा एमडी/एमएस अध्ययन गर्न जाने विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरेको हो। काउन्सिलले प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीलाई मात्र अध्ययनका लागि अनुमतिपत्र (इलिजिबिलिटी) दिने व्यवस्था गरेको छ।
यसअघि विद्यार्थीले आवेदन दिएपछि अनुमतिपत्र पाउँथे। यस वर्षदेखि भने कुनै विश्वविद्यालय वा प्रतिष्ठानले लिएको प्रवेश परीक्षा अनिवार्य पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। डा गोविन्द केसी अनसन बस्दा उनले उठाएका मागमध्ये यो पनि एक थियो।
काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाले एमबिबिएसपछि काउन्सिलले पिजीमा पनि परीक्षाको व्यवस्था लागू गर्न लागेको बताए।
‘विशेषज्ञ तहको लाइसेन्सिङ परीक्षाको नतिजा निराशाजनक आउन थालेपछि सुरुमै दक्ष विद्यार्थी मात्र पढ्न जाने व्यवस्था गर्न लागिएको हो’, उनले भने, ‘यो व्यवस्था लागू भएपछि पिजीका क्षेत्रमा देखिएको विकृति पनि धेरै रोकिनेछ।’
गत वर्ष पिजी अध्ययनका लागि नेपालबाट ३ सय ९० विद्यार्थी विदेशिएका थिए। काउन्सिलले गत साउनमा लिएको विशेषज्ञ तहको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका थिए।
काउन्सिलले यसअघि सन् २०१६ फेब्रुअरीदेखि एमबिबिएस अध्ययनका लागि विदेश जानेले प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था लागू गरेको थियो।