बागलुङ – बागलुङमा यस वर्ष पैयुँपाटा र ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल सहित ११ वटा नयाँ स्वास्थ्य चौकीका भवन निर्माण हुने भएका छन्।
शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख प्रकाश अर्यालका अनुसार जिल्लाको भिमगिठे, दगातुन्डाँडा, मालिका, पैयुँथन्थाप, भिमपोखरा, अर्गल, अमुभुमी, दर्लिङ र नारायणस्थानमा स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण भएको छ । त्यसैगरी पैयुँपाटा र ग्वालीचौरमा न्युनतम १५ शैयाको प्राथमिक अस्पताल निर्माण हुने बताइएको छ।
अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी जिल्लामा ३७ वटा नयाँ स्वास्थ्य संस्थाको भवन निर्माण प्रक्रिया अगाडि बढिरहेका छन्। पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको कार्यकालमा उनका प्रमुख सल्लाहकार प्रताप पौडेललको विशेष पहलमा यस वर्ष बागलुङमा मात्रै ११ वटा नयाँ भवनको निमार्णको कार्यक्रम परेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका संस्थाका भवन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय अन्तर्गत निर्माण हुनेछन् । पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासको निम्ती पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएका थिए । मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न स्थानमा डाक्टर र नर्सको लागि आवास गृह समेत निर्माणको थालनी गरेको छ । नयाँ बन्न लागेका सबै स्वास्थ्य संस्थाका भवन एकिकृत डिजाईनको भवन निर्माण हुने बताइएको छ ।
यस वर्ष टाइप ‘सि’ र टाइप डी अन्र्तगतका स्वास्थ्य संस्था निर्माण हुने भएका छन्। हाल भवन निर्माणका लागि अधिकांस स्वास्थ्य संस्थामा आवश्यक जग्गा व्यवस्थापन भइसकेको र केहीमा व्यवस्थापन हुन बाँकी रहेता पनि त्यसलाई चाँडै व्यस्थापन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।
त्यसैगरी गत वर्ष पनि जिल्लामा २६ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लागि कार्यक्रम परेको डिभिजन प्रमुख प्रकाश अर्यालले बताए । अर्यालका अनुसार हटिया, सिगाना, बोङगादोभान र लेखानी गरी ४ वटा भवन निर्माणको अन्तिम चरणमा रहेका छन । त्यस्तै अर्जेवा, हिल, पाण्डवखानी, बोबाङ, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक गरी ८ वटामा निर्माण कार्य भै रहेको छ । हिलमा भने केही प्राविधिक समस्याका कारण केही समयलाई रोकिएको डिभिजन प्रमुख अर्यालले बताए ।
पश्चिम देवीस्थान र खुङगामा जग्गा व्यवस्थापन हुन नसकेको कारण भने कुनै प्रक्रियामा अगाडि बढ्न सकेको छैन । त्यसैगरी ताराखोला, निसी राजकुट र जलजला गरी ४ वटा स्वास्थ्य संस्थाको भने टेन्डर प्रक्रिया अगाडि बढेको सम्झौता हुन मात्र बाँकी रहेको छ ।
चारवटा स्वास्थ्य संस्थाको टेण्डर प्रक्रियामा रहेको छ । अमरभुमी, सुखौरा तित्याङ छिस्ती र पाला गरी ५ वटामा सबै प्रक्रिया अगाडि बढी काम सुरु गर्ने लागेको कार्यालयले जनाएको छ । त्यसैगरी हुग्दिशिर स्वास्थ्य चौकीको काम सम्पन्न भनी पत्र आई सके पनि हस्तान्तरण भने हुन सकेको छैन ।
बागलुङमा स्वास्थ्य संस्थाका भवन मात्र नभएर स्वास्थ्यकर्मिका लागि आवास गृह पनि निर्माण प्रक्रियामा रहेका छन्। कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारको आवस गृह निर्माण प्रक्रियामा रहेको छ । बुर्तिबाङ अस्पताल बुर्तिबाङमा बी ब्लकको काम पनि तीव्र्र पारिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धौलागिरी अञ्चल अस्पतालको बी र सी ब्लक ठेकेदारले तोकिएको समयमा सम्पन्न गर्न नसकेको कारण कारबाहीको प्रक्रियामा अगाडि बढेको जनाइएको छ ।
स्वास्थ संस्थाको भवन निर्माणका लागि टाइप ए को लागि न्युनतम ४ रोपनी, टाइप बीको लागि दुई रोपनी र टाईप डी र सीको लागि डेढ रोपनी जग्गा आवश्यक पर्ने डिभिजन प्रमुख अर्यालले बताए ।
यसवर्ष आएको नयाँ कार्यक्रमको स्थलगत सर्वेक्षण गरी लागत अनुमान तयार गरी टेन्डर प्रक्रियामा अगाडि बढाइने छ । यस आर्थिक वर्ष भित्रमा टेन्डर प्रक्रियाको काम सकाई सक्ुनपर्ने भन्दै कार्यालयबाट सर्वेक्षण थालिनेछ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका स्वास्थ्य संस्थालाई भवन निर्माण गर्ने स्वीकृती दिएपछी निर्माण हुने लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३ सय ४५ वटा ँ स्वास्थ्य संस्थाका नया भवन निर्माणका लागी छनौट गरेको हो ।