काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु) ले एमबिबिएस पठनपाठन गर्ने दुई मेडिकल कलेजलाई सिट संख्या बढाउन भन्दै फेरि काउन्सिलमा पत्र पठाएको छ। यो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना भइसके पनि केयुले फेरि संख्या तोकेरै सिट थप्ने खेल सुरु गरेको हो।
केयुले विराटनगरमा रहेको नोबल र विराट मेडिकल कलेजमा १०/१० सिट थप्ने खेल अगाडि बढाएको हो। यसका लागि केयुले नेपाल मेडिकल काउन्सिललाई पत्रसमेत पठाएको छ। केयु स्कुल अफ मेडिकल साइन्सेजका डिन डा राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन पत्र पठाएका हुन्।
यो शैक्षिक सत्रका लागि काउन्सिल र केयुका विज्ञहरुको टोलीले नोबललाई ९० र विराटलाई ६५ सिट दिन सिफारिस गरेका थिए। सोही आधारमा उनीहरुले सिट पाएका थिए। तर, चुनावको मौका छोपी केयुले नोबललाई एक सय र विराटलाई ७५ सिट पुर्याउने खेलमा लागेको हो।
सिट बढाउने विषयमा कात्तिक २८ गते केयु प्राज्ञिक परिषद्को बैठक बसेको थियो। सो बैठकले काउन्सिलमा सिट संख्या पुनरावलोकनका लागि पत्र लेखी पठाउने निर्णय गरेको हो।
