काठमाडौं– सरकारले तीन वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ दलका केही नेतालाई चुनाव जिताउन हतारमा यस्तो निर्णय भएको बुझिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडा अस्पताल मकवानपुर, सेती अञ्चल अस्पताल धनगढी र भीम अस्पताल भैरहवाको स्तरोन्नति गर्ने निर्णय गरेको हो।
स्तरोन्नतिमा परेका अस्पतालहरुमा हालकै बेड क्षमता अनुसारका जनशक्ति र भौतिक पूर्वाधार समेत सरकारले पुर्याहउन सकेको छैन। यो स्थितिमा चुनावको पूर्वसन्ध्यामा चर्चा कमाउन र प्रभाव जमाउन थप बेड क्षमता विस्तार गरेको बुझिएको छ।
स्तरोन्नति गर्ने निर्णय गरिएको हेटौंडा अस्पताल राप्रपाका अध्यक्ष तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले चुनाव लडिरहेको क्षेत्रमा पर्छ। यसैगरी स्तरोन्नतिको फाइल मन्त्रिपरिषदमा लैजाने स्वास्थ्य मन्त्री दीपक बोहराले आफू चुनाव लडिरहेको रुपन्देहीको भीम अस्पताललाई पनि स्तरोन्नतिको सूचीमा पारेका छन्। यस्तै, सेती अञ्चल अस्पताल प्रधानमन्त्री पत्नी आरजु राणा देउवा चुनाव लडिरहेको क्षेत्रमा पर्छ।
मन्त्रिपरिषदले एक सय बेडको हेटौंडा अस्पताल र ५० बेडको सेती अञ्चल अस्पताललाई ३/३ सय बेडमा र २५ बेडको भीम अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको हो।