काठमाडौं– स्टार अस्पताल, ललितपुर र काठमाडौं क्यान्सर सेन्टर, भक्तपुरबीच क्यान्सरको उपचार मिलेर गर्ने सहमति भएको छ।
आइतबार एक कार्यक्रममा स्टार अस्पतालका कार्यकारी निर्देशक डा शैल रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरका निर्देशक डा सिमित सापकोटाले सम्झौतामा हस्ताक्षर गरे।
दुवै अस्पतालको सहकार्यमा स्टार अस्पताल ललितपुरमा स्टार काठमाडौं क्यान्सर सेन्टर सञ्चालनमा ल्याइएको छ।
सम्झौता अनुसार सो सेन्टरमा क्यान्सरका बिरामीको ओपिडी, भर्ना, शल्यक्रिया र अन्य उपचार सेवा स्टारले दिनेछ। उपचारमा आवश्यक केमोथेरापी, रेडियसन लगायत सेवा काठमाडौं क्यान्सर सेन्टरले उपलब्ध गराउनेछ।
कार्यक्रममा स्टारका कार्यकारी निर्देशक डा रुपाखेतीले नेपाली अस्पतालहरुबीच पहिलोपल्ट यस्तो सहकार्य भएको बताए।
‘नेपाली अस्पतालहरुले विदेशी अस्पतालसँग सहकार्य गरिरहेको सबैलाई थाहै छ’, उनले भने, ‘सम्भवतः पहिलोपल्ट हामी दुई नेपाली अस्पतालले सहकार्य गरिरहेका छौं।’
कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा अञ्जनी कुमार झाले आफूहरुसँग रेडियोथेरापीका अत्याधुनिक उपकरणका साथै आवश्यक जनशक्ति रहेको र स्टारसँग यसबाहेकका सेवा रहेकाले सहकार्य सम्भव भएको बताए।
उनले भने, ‘बिरामीलाई सबै सेवा एकीकृत रुपमा दिनुपर्ने भएकाले हामीले सहकार्य गरेका हौं।’
कार्यक्रममा प्रमुख अतिथि रहेका महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रम थापाले अस्पताल सेवा क्षेत्र भएकाले अत्यधिक नाफा नलिन सुझाए।
उनले भने, ‘धन र धर्म दुवैलाई ध्यान दिँदै काम गर्नुहुनेछ भन्ने अपेक्षा छ। उपचार सेवा धर्म भएकाले डाक्टर सा’बहरुले धनका लागि मात्रै काम नगरिदिनुहोला।’
स्टार अस्पतालका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले आफूहरुले सेवाका लागि अस्पतालमा लगानी गरेको भन्दै अस्पतालले निरन्तर सेवा थप्दै लैजाने बताए।
‘अस्पतालका लगानीकर्ताहरुका छुट्टै अरु संस्था भएकाले यसबाट कमाएर धनी हुने वा गुजारा गर्ने अवस्था छैन’, उनले भने, ‘सेवाग्राहीको चित्त बुझाएर मात्रै लगानीको प्रतिफल आशा गर्नेछौं।’
कार्यक्रममा वरिष्ठ सर्जन तथा सोसाइटी अफ सर्जन नेपालका अध्यक्ष डा सिएल भट्टचनले क्यान्सर रोगबारे जानकारी गराएका थिए। उनले क्यान्सर फैलिसकेपछि मात्रै बिरामी अस्पताल पुग्ने भएकाले जोगाउन मुश्किल भइरहेको बताए।

