काठमाडौं– डा गोविन्द केसीले कोसी अञ्चल अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालय (पियू)को शिक्षण अस्पताल बनाउने निर्णयको विरोध गरेका छन्।
डा केसीले एक प्रेस विज्ञप्ति निकाल्दै यसअघि नै दुई वटा मेडिकल कलेज रहेको विराटनगरमा अर्को मेडिकल कलेजको अस्पताल थपिनु उपयुक्त नरहेको उल्लेख गरेका छन्। चिकित्सा शिक्षा अध्यादेश जारी भए पनि चिकित्सा शिक्षा आयोग गठन भइनसकेको अवस्थामा गरिएको सो निर्णयप्रति उनले आपत्ति जनाएका छन्।
'आयोग नबनिसकेको अवस्थामा कुनै पनि नयाँ शिक्षण खोल्न उचित हुँदैन', डा केसीले भनेका छन्, 'दुइटा मेडिकल कलेज रहेको विराटनगरमा भन्दा जनसंख्याको चाप भएका अन्य ठाउँमा सरकारी मेडिकल कलेज खोल्न प्राथमिकतामा राख्नुपर्ने हुन्छ।’
गत कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयले कोसी अञ्चल अस्पताललाई पियूका लागि शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न अनुमति दिएको थियो।
डा केसीले चिकित्सा शिक्षा आयोग नबनुन्जेल कुनै पनि रुपमा नयाँ शिक्षण संस्थाका लागि प्रक्रिया अघि नबढाउन आफूहरुले मन्त्रालयलाई आग्रह गरिसकेको समेत उल्लेख गरेका छन्।
यसैगरी उनले काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले पहिले गरेको सिट निर्धारणको निर्णय उल्ट्याउँदै केही मेडिकल कलेजमा सिट थप्नका लागि गरेको पहललाई ‘निर्लज्ज र अवैध प्रयास’ को संज्ञा दिएका छन्।
डा केसीले भनेका छन्, ‘हाललाई नेपाल मेडिकल काउन्सिलको सजगता र उचित निर्णयका कारण त्यस्तो बदमासी रोकिए पनि त्यसले मेडिकल माफियाहरुले काठमाडौं विश्वविद्यालयलाई कसरी निर्देशित गरिरहेका छन् भन्ने प्रस्ट पार्छ।’