बिबिसी – हामीले कतिपय व्यक्तिलाई कैयौंपल्ट एक्लै आफैंसँग बोलिरहेको देखे÷सुनेका छौं । सामान्यतया कोही यसरी एक्लै बोलेको सुन्दा हामी छक्क पर्छौं र कस्तो सन्काहा मान्छे होला भनेर सोच्छौं पनि । हामीलाई लाग्छ, मानसिक असन्तुलनले उनीहरू आफैंसँग बोल्छन् ।
हामीले मानसिक असन्तुलन भएको भनेर वास्ता गर्दैनौं तर खासमा यसरी आफैंसँग कुरा गर्ने वा बोल्ने बानी हाम्रा लागि निकै फाइदाजनक छ ।
अहिले अधिकांश विशेषज्ञहरू आफैंसँग बोल्न वा कुरा गर्न सुझाव दिन्छन् । उनीहरूका अनुसार आफैंसँग कुरा गर्दा स्मरण शक्ति तीव्र हुन्छ वा बढ्छ । आत्मविश्वास बढ्छ र एकाग्रता पनि बढ्छ।
अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयका प्रोफेसर ग्यारी लुपयन ठूलो स्वरमा आफैंसँग कुरा गर्नु हामीलाई अनौठो लागे पनि सफल हुने उपाय हो भन्छन् ।
आफूले गरेको अध्ययनका आधारमा उनी यसो गर्दा हामीलाई धेरै फाइदा हुनसक्ने बताउँछन् ।
प्रोफेसर ग्यारीले एउटा अध्ययन गरेका थिए, जसमा केही व्यक्तिलाई कम्प्युटरको स्क्रिनमा केही वस्तु हेर्न मात्र भनियो र केहीलाई भने ठूलो स्वरमा ती वस्तुको नाम भन्न लगाइयो ।
परीक्षणमा ठूलो स्वरमा वस्तुको नाम भनेका व्यक्तिले फेरि स्क्रिनमा ती वस्तु छिटो चिन्न सके भने जसले हेरेका मात्र थिए उनीहरूलाई भने ती वस्तु चिन्न केही समय लाग्यो ।
यस्तै अर्को अध्ययन उनले खुद्रा पसलमा पनि गरे । अध्ययनमा जसले सब्जीको तस्बिर हेरेर ठूलो स्वरमा नाम उच्चारण गरे उनीहरूले पसलमा त्यो सब्जी खोज्न सजिलो भयो ।
प्रोफेसर ग्यारीका अनुसार जब हामी कुनै वस्तुको नाम ठूलो स्वरमा उच्चारण गर्दा त्यो वस्तुको तस्बिर हाम्रो मस्तिष्कमा बन्छ । हाम्रो मस्तिष्कले आवश्यक हुनासाथ सम्झनामा त्यो वस्तुको तस्बिर ल्याइदिन्छ ।
बेलायती मनोवैज्ञानिक र लेखिका एनी विल्सन आफ्ना सबै ग्राहकलाई आफूसँग कुरा गर्न÷बोल्न सल्लाह दिने गरेको बताउँछिन्।
आफ्ना कुनै बिरामीलाई धेरै रिस उठ्दा पनि उनी आफैंसँग कुरा गर्न सल्लाह दिन्छिन् । उनको भनाइमा यसो गर्दा समस्याको समाधान निस्कन्छ र रिस मत्थर हुन्छ ।
‘हामी सधैं आफ्नो वरिपरि आफूभन्दा धेरै जान्ने/बुद्धिमान व्यक्तिहरू होऊन् भन्ने चाहन्छौं,’ विल्सन भन्छिन्, ‘जोसँग केही सिक्न सकियोस्।’
हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने जस्ता विशेषता हामी अरुमा खोज्छौं, ती सबै आफैंमा विकास गर्न सक्छौं ।
किनभने मानिसले आफैंले सबैभन्दा बढी आफूलाई चिनेको÷बुझेको छ । आफूसँग कुरा गर्न÷बोल्न थालेपछि धेरै हदसम्म अरुका त्यस्ता विशेषता हामी आफैंभित्र पाउन सफल हुन्छौं ।
यसो गर्दा हामी आफैंलाई सबैभन्दा चाखलाग्दो व्यक्तिका रुपमा पाउँछौं र आफैंसँग हाम्रो मित्रता हुन्छ ।
सन् २०१४ मा प्रकाशित एउटा अध्ययनअनुसार कसैलाई तँ, तिमी वा तपाईं भनेर सम्बोधन गर्दा आफ्ना भावना तत्काल नियन्त्रणमा राखेर कुरा गर्छौं । र, आफूसँग यसरी कुरा गर्दा पनि हामी आफैंलाई अर्को व्यक्ति जसरी सम्बोधन गर्छौं र आफूलाई सम्झाउँछौं।
बेलायती युजिन ग्याम्बल यसको प्रत्यक्ष उदाहरण हुन् । वर्षौंसम्म डेन्टिस्टका रुपमा काम गरेका उनले एक दिन डेन्टिस्ट्री चटक्क छाडेर व्यापार गर्ने निधो गरे । व्यापारको कुनै अनुभव नभएकाले उनी कैयौंपल्ट असफल भए ।
त्यसपछि उनले व्यापारिक प्रशिक्षकसँग तालिम लिए, जसले उनलाई आफैंसँग कुरा गर्ने पहिलो सुझाव दिए । नभन्दै यसबाट उनलाई फाइदा भयो ।
अहिले उनले कुनै पनि व्यापारिक प्रजेन्टेसन दिनु परे सबैभन्दा पहिले आफैंसँग कुरा गर्छन् र ठूलो स्वरमा प्रजेन्टेसन गर्नुपर्ने विवरण पढ्छन् ।
यसो गर्दा आफ्नो अवधारणामा एकाग्र हुन सक्छन् र उनी प्रजेन्टेसन सजिलै सम्झन्छन् ।
तर हामी सबैले जति बेला पनि आफूसँग बोलिरहन वा कुरा गरिरहन सम्भव छैन र हामी यसो गरिरहन सक्दैनौं पनि ।
यसो गर्न नसक्ने सबैभन्दा ठूलो कारण यसरी आफैंसँग कुरा गर्ने व्यक्तिलाई समाजले बौलाहा भनेर दुत्कार्न थाल्छ । यसैले पनि कैयौं व्यक्ति चाहेर पनि आफूसँग कुरा गर्न सक्दैनौं ।
उनीहरू आफूलाई समाजले सन्काहा वा बौलाहा भन्छ भनेर डराउँछन् ।
अध्ययन भन्छ– बालबालिकाको विकासमा यो निकै प्रभावकारी हुन्छ । सन् २००८ मा प्रकाशित एउटा अध्ययन प्रतिवेदनअनुसार पाँच वर्षको उमेर समूहका जति बालबालिकाले आफूसँग धेरै बोले÷कुरा गरे उनीहरू चुप लागेर बस्ने बालबालिकाभन्दा निकै बुद्धिमान थिए ।
तपाईं पनि आफ्नो स्मरण शक्ति तीव्र पार्न चाहनु हुन्छ, काममा एकाग्र हुन चाहनु हुन्छ भने आफ्नो साथी आफैं बन्नुहोस् र आफैंसँग कुरा गर्नुहोस् ।
यसो गर्दा सुरु सुरुमा अनौठो लाग्छ, तर यसबाट हुने फाइदा अनुभव गरेपछि भने तपाईं आफैं छक्क पर्नु हुनेछ ।