भद्रपुर– मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र अस्पतालमा दिइने समय र सेवाभन्दा बढी निजी क्लिनिकमा दिने गरेको कारण अस्पतालको सेवामा गुणस्तर बढ्न नसकेको, राज्यबाट लिइने सुविधा चिकित्सकले दुरुपयोग गर्ने कारणले अस्पतालको विश्वासनीयता र मर्यादा बढ्न नसकेको आरोप स्थानीय सुदीप अधिकारीले लगाए।
भद्रपुर जेसीजको संयोजनमा मंगलबार भद्रपुरमा अञ्चल अस्पताल प्रशासनसँग गरिएको नागरिक अन्तरक्रिया कार्यक्रममा सहभागीले सुधारको चरणमा अस्पताल आइपुगे पनि नागरिक सेवामा सरकारी लगानीअनुरुप काम हुन नसकेको गुनासो गरेका थिए ।
सहभागीले विपन्न वर्गको पहुँचमा अस्पतालको सेवा आउन नसकेको, डाक्टर निजी अस्पतालमुखी भएको, प्रशासनमा जनमैत्री सेवा अभाव भएको, राजनीतिक पहुँच र जातीय, क्षेत्रीय संकुचमा अस्पताल प्रशासन अल्मलिएको स्थानीयवासीको आरोप थियो ।
कार्यक्रममा अस्पतालको विगत र वर्तमान अवस्थाबारे मेडिकल सुपरिटेण्डन डा पीताम्बर ठाकुरले कार्यपत्र पेश गर्दै २२ जना विशेषज्ञसहितको दरबन्दी रहेको अस्पतालमा १२ वटा पद खाली रहेकाले सेवा दिन समस्या परेको प्रष्ट पारे ।
अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले अस्पताल जनताको सेवामा समर्पित रहेको बताए। रासस