काठमाडौं– नेपालमा चिकित्सा विज्ञान तथा प्रयोगशाला सम्बन्धी दोस्रो बृहत् प्रदर्शनी हुँदैछ । सर्जिकल म्यानुफ्याक्चर एन्ड ट्रेडर्स एसोसिएसन र एसडी प्रोमो मिडिया प्रालि भारतले केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालसँगको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनी काठमाडौंस्थित भृकुटीमण्डपमा हुनेछ।
मंसिर २८ देखि पुस १ सम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेडिकल सर्जिकल क्षेत्रका व्यवसायी, स्वास्थ्य पेशाकर्मी र विभिन्न मेडिकल क्षेत्रका विद्यार्थीका लागि यो प्रदर्शनी लाभदायी हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा व्यावसायिक भेटघाट र छलफलका साथै विज्ञहरुले उपकरण सम्बन्धी जानकारीमूलक प्रस्तुति दिनेछन्।
‘चिकित्सा विज्ञान र प्रयोगशालाका विषयमा बृहत् जानकारी दिन प्रदर्शनीको आयोजना गर्न लागिएको हो,’ केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसनका महासचिव सीताराम कार्कीले भने, ‘तीनदिने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ।’
प्रदर्शनीमा सर्जिकल सामग्री, उद्धार र आपतकालीन सामग्री, मेडिकल डिस्पोजेबल, अस्पतालका लागि फर्निचरहरु, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीहरु एकै ठाउँमा भेटिनेछन्।
दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा ५ सयभन्दा बढी ब्रान्ड उपकरण एवं स्वास्थ्य सामग्री राखिनेछ ।