काठमाडौं– सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रुपमा एड्सका कारणले मृत्यु हुने संख्यामा ४८ प्रतिशतले कमी आएको छ। यस्तै, नयाँ संक्रमण पनि ११ प्रतिशतले घटेको पाइएको छ।
विश्वव्यापी तथ्यांक यस्तो रहँदा नेपालमा भने एड्सका कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको देखिएको छ। यस्तै, सन् २०१० को तुलनामा २०१६ मा एचआइभीको नयाँ संक्रमण ५७ प्रतिशतले घटेको छ।
३०औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राजधानीमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्य जानकारी गराइएको हो।
कार्यक्रममा नेपालमा एचआइभी संक्रमणको जोखिममा रहेका समूहमध्ये सुईबाट लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणको दर उच्च रहेको पनि जानकारी दिइयो।
प्रत्येक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसको यो वर्षको नारा ‘मेरो स्वास्थ्य मेरो अधिकार’ रहेको छ।
नेपालमा करिब ७० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ। केन्द्रका अनुसार, सन् २०१६ सम्म नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ। तीमध्ये १४ हजार ५ सय ४४ (४० प्रतिशत) मात्र एआरभी उपचारमा छन्।
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रका निर्देशक डा. विकास लामिछानेले बताए। यस्तै, केन्द्रका पूर्व निर्देशक तरुन पौडेलले नेपाल सरकारले ७७ वटै जिल्लामा निःशुल्क एचआइभी परीक्षणको सेवा दिएको र एचआइभी संक्रमितहरुलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको जानकारी दिए।
विश्व एड्स दिवस सन् १९८८ देखि मनाउन थालिएको हो।