काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर डा तरुण पौडेलले २५ वर्ष ९ महिना ६ दिन सेवा गरे। सेवाकालका २४ वर्ष उपत्यका बाहिरै रहेर सेवा दिए।
पछिल्लो एक वर्ष ९ महिना एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रमा रहेर काम गरेका डा पौडेल मंसिर ११ मा उमेर हदका कारण सेवा निवृत्त भएका छन्।
सेवाअवधिको उत्तरार्धमा डा पौडेल स्वास्थ्य मन्त्रालय अन्तर्गत सबैभन्दा माथिल्लो १२औं तहमा अर्थात् प्रमुख विशेषज्ञ पनि भए। तर, अवकाशको समयका कारण मन्त्रालयमा जम्मा चार दिन मात्र बस्न पाए। सरकारले मंसिर ८ मा बढुवा गरेपछि उनी यौन रोग नियन्त्रण केन्द्रबाट मन्त्रालय पुगेका थिए।
सेवाअवधिका धेरै वर्ष उपत्यका बाहिर रहँदा डा पौडेलले राजधानी वा मन्त्रालय आउने कोसिस गरेनन्। बिहीबार स्वास्थ्य मन्त्रालयमा भेटिएका उनले भने, ‘मेरो आवश्यकता उपत्यका बाहिर नै छ भन्ने महसुस गरेँ। त्यसैले बाहिरै काम गरेर रमाएँ।’
कानुनी रुपमा सेवा निवृत्त भए पनि उनले औपचारिक रुपमा बिदा लिइसकेका भने छैनन्। उनले केही दिनपछि मात्रै अवकाशपत्र प्राप्त गर्नेछन्।
लोकसेवाबाट मेडिकल अधिकृतमा नाम निकालेपछि पहिलोपल्ट पौडेललाई पर्वत जिल्ला अस्पताल पठाइएको थियो। त्यहाँ केही महिना सेवा गरेपछि उनलाई लमजुङ जिल्ला अस्पताल सरुवा गरियो। तीन वर्ष लमजुङ र केही महिना पोखरा बसे। बाग्लुङ जिल्ला अस्पताल भने लामो समय बसे। जहाँ उनले १५ वर्ष ६ महिना सेवा दिए।
बाग्लुङमा उनले गरेको सेवालाई सम्मान गर्दै उनको नाममा ट्रष्ट नै निर्माण गरिएको छ। तरुण पौडेल ट्रष्टबाट त्यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्ने गरिएको छ। उनको जन्म पनि बागलुङको दुर्गम गाउँ छिस्तीमा भएको हो। पछिल्लो समय उनको बसोबास काठमाडौंको महाराजगञ्जमा छ।