बाजुरा– बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहुँदा बिरामीको उपचारमा समस्या भएको छ ।
समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष लागिसक्दा पनि सम्पन्न नभएको उक्त स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले बताएका छन् ।
दीपायलस्थित भवन तथा सहकारी डिभिजिन कार्यालयको आर्थिक सहयोगमा रू एक करोडभन्दा बढी लगानीमा स्वास्थ्य चौकी निर्माणका लागि सम्झौता गरिएको थियो । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका प्रमुखमा निर्वाचित भीमबहादुर साउँदको नाममा रहेको राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको तर समयमै भवन निर्माण नगर्दा बिरामीको उपचार सेवा र सुत्केरीलाई खुला चौरमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको अहेव यादवले बताए।
‘भवन निर्माण गर्ने मजदुरले ज्याला पनि पाएका छैनन्, ठेकेदार पनि सम्पर्कमा नआएपछि स्वास्थ्य व्यवस्थापन समितिले यसबारे पटक पटक सम्बन्धित निकायमा खबर गर्दा पनि कसैले वास्ता गरेनन्,’ छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले भने।
यस्तै सोही गाउँपालिकाको डोगडी स्वास्थ्य चौकी भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले एक करोड १५ लाखको लागतमा १५ महिनासम्म भवन निर्माण गरिसक्ने सम्झौता गरेकामा चासो नदेखाएपछि पत्रपत्रिकामार्फत ठेकेदारका नाममा सूचनासमेत निकालेको दिपायल क्षेत्रीय स्वास्थय निर्देशनालयले जनाएको छ । रासस