काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को प्रवेश परीक्षामा कडाइ गरिएपछि परीक्षार्थी घटेको बुझिएको छ । आइओएमका सहायक डिन डा राजेन्द्र गुरागाइँका अनुसार अन्तिम तथ्यांक आउन बाँकी रहेपनि अघिल्लोपल्टको प्रवेश परीक्षामा भन्दा कम विद्यार्थीले परीक्षा दिएका छन्।
प्रवेश परीक्षा भने यसपल्ट निकै मर्यादित रहेको आइओएमका डिन डा जगदीश अग्रवालले बताए । उनले भने, ‘प्रवेश परीक्षा हालसम्मकै शान्त र मर्यादित भएको छ । कहीँ कुनै गडबड भएको खबर आएको छैन ।’
यसअघि लिइएको प्रवेश परीक्षामा चिटिङ भएको र प्रश्नपत्र बाहिरिएको भेटिएपछि पुनः प्रवेश परीक्षा लिइएको हो । यसपल्ट परीक्षालाई मर्यादित बनाउन नेपाल प्रहरीको सहयोगमा सुरक्षा जाँच कडा पारिएको थियो । महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार विद्यार्थी परीक्षा हलमा छिर्नुअघि प्रहरीले कडा चेकजाँच गर्नुका साथै परीक्षा केन्द्रहरुमा फोन नलाग्ने जामर मेसिनदेखि शरीरमा रहेका सबै मेटलहरु पत्ता लगाउने ‘मेटल डिटेक्टर’सम्म प्रयोग गरिएको थियो। उनले प्रहरीलार्इ सादा पोसाकमा पनि खटाइएकाे बताए ।
यसपल्ट प्रवेश परीक्षालाई अमर्यादित हुन नदिन आइओएमले केही नयाँ नियम समेत लागू गरेको थियो। बिहान १० देखि १२ बजेसम्म हुने परीक्षाका लागि विद्यार्थीलाई ७ बजे नै परीक्षा केन्द्रमा बोलाइएको थियो। परीक्षा हलभित्र प्रवेश गर्नुअघि विद्यार्थीले वाक थ्रु गेट पास गर्ने नियम थियो।
अरुको नाममा परीक्षा दिन आउनेलाई रोक्न अनलाइन प्रिन्ट गरेर ल्याइको प्रवेश पत्र र आइओएमसँग रहेको सक्कली प्रवेश पत्र भिडाएर हेरिएको थियो । पावरवाला बाहेक अन्य कुनै प्रकारको चश्मा लगाउन नपाउनुका साथै मोबाइल, पर्स, घडी परीक्षा हलमा प्रतिबन्धित गरिएको थियो । सामान्यतया एक घन्टा बितेपछि परीक्षार्थी बाहिर निस्किन र शौचालय जान पाउने नियम हुन्छ। तर, यसपल्ट परीक्षार्थीले अनिवार्य रुपमा दुई घन्टा परीक्षा हलभित्रै बिताए ।
गत असोज २८ मा भएको आइओएमको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिने, चिट चोरिने लगायतका घटना भएका थिए। जसका कारण आइओएम पुनः परीक्षा गराउन वाध्य भएको हो। उक्त परीक्षामा ९ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए।